अर्गानिक दिवा खाजा प्रर्बद्धन गर्न सहकारीलाई प्रशोधन सामाग्री हस्तान्तरण

जुम्ला । जुम्लाका आठ पालिकामध्य तातोपानी गाउँपालिकाले मात्रै पालिकाका सबै सामुदायिक विद्यालयमा अर्गानिक दिवा खाजा खुवाउँदै आएको छ । सामुदायिक विद्यालय प्रति बालबालिकाको आर्कषण बढाउन,पोषण स्थितीमा सुधार ल्याउन,रैथाने कृषि उपजको अधिकृतम प्रयोग र उत्पादन बृद्धि गर्न तातोपानीले अर्गानिक दिवा खाजा खुवाएको हो ।

एक वर्षदेखि पालिकाका २९ वटै सामुदायिक विद्यालयमा अनिवार्य अर्गानिक दिवा खाजा कार्यक्रम संचालित छ । पालिकाभित्र रहेका ६ वटा महिला तथा कृषि सहकारीहरु संग सम्झौता गरी अर्गानिक दिवा खाजा खुवाउन थालिएको छ । पालिकाका २९ वटा विद्यालयका २ हजार ८ सय १३ जना बालबालिका अर्गानिक दिवाखाजा कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

गाउँ गाउँमा उत्पादित मकै,कोदो,फापर,चिनो,कागुनो,भटमास,सिमि लगायतका कृषि वस्तु सहकारीले खरिद गरी प्रशोधन गरेर विद्यालयमा दिने र त्यसको भुक्तानी पालिकाले गर्ने सम्झौता छ । बितेको एक वर्षमा अर्गानिक दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएपनि प्रशोधनको अभावले समस्या निम्तीएपछि सहकारीहरुले पालिकालाई प्रशोधन सामाग्रीको माग गरे ।

सहकारी संचालकहरुको माग र अर्गानिक दिवा खाजा कार्यक्रमलाई प्रर्बद्धन गर्न पालिका,विश्व खाद्य कार्यक्रम,रेरास परियोजना र नविकरणीय उर्जा प्रर्बद्धनको समन्वय सहकार्य र लगानीमा सहकारीलाई आधुनिक प्रशोधन सामाग्री हस्तान्तरण गरिएको छ ।


अर्गानिक दिवा खाजा खुवाउने जिम्मेवारी पाएका ६ वटा सहकारी मध्य धौलिघाड कृषि सहकारी संस्था र उज्यालो महिला सहकारी सस्ंथालाई २ लाख ५० हजार बराबरको कृषि उत्पादन प्रशोधन सामाग्री हस्तान्तरण गरिएको छ ।

जसमा कम्माईन राईस मिल(धान कुट्ने),ग्राईन्डर (दाल पिस्ने),डिजिटल काँटा,दराज,बोरा सिलाउने मेसिन,पिठो पिस्ने मेसिन लगायतका प्रशोधन सामाग्री हस्तान्तरण गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायत बताउँछन् ।

उनका अनुसार राहदेव महिला सहकारी संस्था ताम्ती,ताम्ती बहुउदेश्यीय सहकारी संस्था,पाँचपाल सहकारी संस्था र नदैडाव सहकारी सस्थालाई करिब ३ लाखको प्रशोधन सामाग्री हस्तान्तरण गर्ने तयारी छ ।

हाल प्रशोधन सामाग्रीको अत्याआबश्यक रहेको तर सामाग्रीको दिगो व्यवस्थापन र संरक्षणमा स्थानीय किसानले ख्याल गर्नुपर्नेमा जोड दिए । गुणस्तरीय तथा पोषिलो खाजा उत्पादनमा सहकारी चुक्न नहुने उनको भनाई छ ।

धौलिगाड कृषि सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी डाँगी भन्छन,‘विगतको जस्तो पानी घट्ट छैनन् । अर्गानिक दिवा खाजाको माग बढ्दो छ । प्रशोधन गर्ने सामाग्री नहुँदा सास्ती थियो । अब सहज हुने भयो । साथै कुटानी पिसानीमा महिलाहरु बढी संलग्न हुन्छन् । प्रशोधन सामाग्री पाएपछि महिलाको कार्यबोझ घट्ने र समय बच्ने अपेक्षा गरेका छौ ।’

धौलिगाड कृषि सहकारीलाई बुधबार प्रशोधन सामाग्री हस्तान्तरण गरिएको छ । प्रशोधन सामाग्री पाएपछि किसान उत्साहि छन् । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई तातोपानीको कृषि उपज पालिकामै खपत गर्ने र पोषण अबस्थामा सुधार गर्न अर्गानिक दिवा खाजा कार्यक्रम ल्याइएको बताउँछन् ।

सहकारी र किसानलाई सीप र प्रविधि सबै दिएका छौ । उनी भन्छन,‘दिवा खाजा प्रर्वद्धनसंगै महिलाको कार्यबोझ न्युनिकरण,उत्पादन बृद्दि क्षामता विकास,स्थानीय उत्पादनको बजारीकरणमा जोड दिने लक्ष्य राखेका छौ । स्थानीय दिवा खाजा बाहेक सहकारीको आन्तरिक आय बृद्धि हुने गरी प्रशोधन सामाग्रीको प्रयोग गर्न जरुरी छ ।’

गाउँ गाउँमा विद्युत विस्तार भएपछि बाली भण्डारण तथा प्रशोधन गर्ने परम्परागत विधिलाई त्यागेर नयाँ आधुनिक औजार प्रदान गरिएको तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताईन् । उनले कृषि वस्तुको प्रशोधन संगै महिलाको कार्यबोझ घटाउन प्रशोधन सामाग्रीले टेवा पुराउने उल्लेख गरिन् ।

विश्व खाद्य कार्यक्रमका संयोजक चक्र जीसिले सहजीकरण गर्दै आएको सामाग्री हस्तान्तरणदेखि दिवा खाजा कार्यक्रमको प्रभावकारी बढ्दै गएको छ । शिक्षा क्षेत्रको विकासका लागि उल्लेखीय काम गरिरहेको तातोपानी दिवा खाजाको प्रभावकारिताबारे पनि अनुगमन गर्ने तयारी गरेको छ । विगतमा प्रशोधन अभावले थन्कीएको कृषि उपजले हाल मुल्य र बजार पाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस