
जुम्ला । कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रण बढ्दै गएको छ । सडक डिभिजन जुम्लाको कार्यक्षेत्र भित्र पर्ने दैखोला–कालिकोट–जुम्ला खण्ड १०४ किमी क्षेत्र अन्तरर्गत जुम्ला खण्डमा सडक अतिक्रमण बढ्दै गएको हो ।
स्थानीय सरकार संचालनपछि ग्रामिण सडक निर्माणले गति लिएपछि त्यसको प्रत्यक्ष असर कर्णाली राजमार्गमा समेत परेको देखिन्छ । ग्रामिण सडक निर्माणले गर्दा सामान्य वर्षात हुँदा पनि सडकमा सुक्खा तथा हिलो पहिरो आउने समस्या समेत निम्तीएको छ । जसले गर्दा अधिकांश ठाउँको पिच उप्कीनुका साथै सडक समेत साँघुरो हुदैँ गएको छ ।
त्यसका साथै स्थानीय सरकार र नागरिकले सडक सुरक्षामा ध्यान नदिँदा क्रमिक रुपमा सडक अतिक्रमण बढीरहेको छ । जुम्ला खण्डको ३२ किमी सडक खण्ड अन्तरर्गत पर्ने रारा सेरी बजार,डुण्डेली,त्रिवेणी,कुडारी,राँका,लिताकोट,तातोपानी(जर्मी) बाबिरा, एैरेनी, लाम्रा, श्रीगर, उम्गाड,श्रीढुस्का,मिचा र बसपार्क क्षेत्रमा अत्यधिक रुपमा सडक अतिक्रमण बढेको देखिएको छ ।
यस अघि सडक डिभिजन जुम्लाका तत्कालीन डिभिजन प्रमुख राजिव श्रेष्ठको पालामा बजार क्षेत्र राजमार्गको जिरो प्वाईन्टदेखि ट्राफिक कार्यालय सम्मका सबै अतिक्रमण हटाएर पेटी तथा नाला निर्माण गरिएको थियो । भने अधिकांशले सडककै जग्गाामा सेफ्टी टयांकी,घर,टहरा निर्माण गरेका थिए । उनिहरुलाई तत्काल १५ दिन हटाउन समेत अल्टीमेटम दिइएको थियो । तर अहिले सम्म अतिक्रमणको अबस्था ज्युँका त्युँ छ ।
एक डिभिजन प्रमुख गईसकेपछि अर्को प्रमुख आउँदा पहिला अभ्यास भएको कामलाई प्रथामिकता नदिने परिपाटीले पनि जुम्लामा सडक अतिक्रण हटाउने कार्य सुस्त रुपमा अघि बढीरहेको छ । सडक सुरक्षा र अतिक्रमण हटाउने विषयमा स्थानीय सरकार गैरजिम्मेवार देखिएका छन् । सडक डिभिजनले सूचना गर्ने,अल्टीमेटम दिने बाहेक अतिक्रण हटाउन समेत परिणामुखी काम गर्न सकेको छैन् । जसका कारण क्रमिक रुपमा सडक साँघुरिनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।

दुई सयजनाले अतिक्रमण गरेको भेटियो
सडक अतिक्रमण बढ्दै गएको र सडक साँघुरिएको जनगुनासो बढेपछि सडक डिभिजन जुम्लाले फेरी अतिक्रमण गर्नेहरुको लगत संकलन गर्न थालेको छ । जुम्ला खण्डका विभिन्न ठाउँमा कर्मचारी खटाएर डिभिजनले अतिक्रमण गर्नेहरुको नाम संकलन गरेको हो ।
जसमा सोमबार सम्म संकलन भएको तथ्यांकनुसार तिला गाउँपालिकाको रारा सेरी बजारदेखि चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्र सम्मका विभिन्न गाउँ र बजार क्षेत्रमा गरी करिब २ जनाले सडक अतिक्रमण गरेको भेटिएको छ । सडकमा निर्माण सामाग्री,जग्गा मिचेर घर टहरा,निर्माण देखि घर निर्माण गर्दा निस्कीएको माटो पनि सडकमै अव्यवस्थित रुपमा राख्नेको संख्या उल्लेखीय रुपमा बढेको छ । सडक डिभिजनले संकलन गरेको तथ्यांकनुसार तातोपानी गाउँपालिकाका विभिन्न स्थानमा गरी झण्डै ९८ जनाले विभिन्न हिसाबले सडक अतिक्रमण गरेका छन् ।
त्यस्तै चन्दननाथ नगरपालिका भित्रका विभिन्न स्थानमा ३४ जना बढीले अतिक्रमण गरेका छन् । उता तिला गाउँपालिकाका रारासेरी,त्रिवेणी,कुडारी लगायतका स्थानमा गरी झण्डै ४५ जना बढीले सडक अतिक्रमण गरेका छन् । रारासेरीदेखि जुम्ला बसपार्क सम्मका विभिन्न स्थानमा दुई जना जत्तीले सडक अतिक्रमण गरेको र उनिहरुको नाम र निर्माण गरिएको संरचना सहितको विवरण संकलन गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए । सार्वजानिक सडक व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने प्रबृत्ति बढेको छ । उनले भने,‘अधिकांशले सडककै जग्गामा टहरा निर्माण,सडकको जग्गा घेराबार गरी व्यक्तिगत प्रयोजन गरेको भेटिएको छ । कर्मचारी स्थलगत रुपमै गएर विवरण ल्याएका छन् । हामी पहिलो चरणमा सम्झाई बुझाई गर्छौ । नमानेमा नियमानुसार अतिक्रमण हटाउँछौ ।’
अतिक्रमण हटाउन प्रहरी प्रशासन देखि स्थानीय सरकारको सहकरात्मक सहयोगको आशा गरेका छौ । बढ्दो सवारी चाप संगै बढेको अतिक्रमणले दुर्घटनाको जोखिम बढाएकोले बेलैमा सबै सचेत हुनुपर्ने बेला आएको उनको भनाई छ ।
ग्रामिण सडक निर्माण गर्दा माटो ढुंगा राजमार्ग फाल्ने,स्थानीय घर बनाउँदा बीच बाटोमै ढुंगा,माटो सरिया,बालुवा राख्ने र तर सडक सुरक्षा र अतिक्रमण हटाउने बेलामा स्थानीय सरकारले हाम्रो कार्यक्षेत्रमा पर्दैन भन्दै पन्छीने,नागरिकले अटेरी गर्ने जस्ता समस्याले सडक सुरक्षाको सवाल पेचिलो बन्न नसकेको डिभिजन प्रमुख चौधरीले उल्लेख गरे । उनका अनुसार अब चाडै जुम्ला खण्डमा अतिक्रमण हटाउने काम अघि बढाईने छ ।