ताताेपानीका स्याउ किसानलाई बगैचामै पुगेर बिरुवा काँटछाँटबारे तालिम

जुम्ला । किसानलाई विरुवा काँटछाँट तथा बगैचा व्यवस्थापनबारे सिकाउन तातोपानी गाउँपालिकाका कृषि प्राविधिक किसानका बगैचामै पुग्न थालेका छन् । उत्पादन वृद्धि,बोट विरुवामा लाग्ने रोग किराको नियन्त्रण,मल जलको व्यवस्थापन लगायतका विषयमा सिकाउन कृषि प्राविधिक बगैचामै पुगेर किसानलाई सिकाउन थालेका हुन् ।

जुम्लामा यतिबेला स्याउ बगैचा व्यवस्थापन तथा विरुवा काँटछाँटको चटारो सुरु भएको छ । अधिकांश किसानले परम्परागत शैलीबाटै विरुवा रोप्ने र रोग किरा नियन्त्रण,मल कति बेला हाल्ने,सिँचाई कति बेला गर्ने,खाडल कति दुरीमा खन्ने जस्ता प्राविधिक कुरा थाहा नपाउँदा मेहनत र लगानीनुसारको आम्दानी लिन सकेका छैनन् ।

जुम्लाको प्रमुख आम्दानीको स्रोतका रुपमा रहेको स्याउ खेतीको विस्तार तथा आबश्यक सिप र प्रविधि हस्तान्तरणमा राज्य चुकिरहेको छ । पटक पटक विरुवामा लाग्ने रोगले किसान हैरानीमा छन् । हचुवामा गरिने स्याउ खेतीले मेहनत मात्रै खेर जान गरेको अबस्थामा बगैचामै पुगेर स्याउ बगैचा व्यवस्थापनबारे सिक्न पाउँदा तातोपानी ८ भेरीखोलाका किसान खुुसी भएका छन् ।

भौगोलिक रुपले विकट भेरीखोलाका किसानलाई बगैचामै पुगेर विरुवा काँटछाँट,रोग किरा नियन्त्रण,सिँचाई लगायतका विषयमा सिकाइएको तातोपानी गाउँपालिकाका कृषि प्राविधिक भैरब चनाराले बताए ।

उनले भने,‘परम्परागत खेतीले जुम्लामा स्याउ मात्र होईन सबै बानीनालीको उत्पादन अपेक्षा गरेअनुसार हुदैन् । पछिल्लो समय जुम्ली स्याउको बढ्दो माग र आम्दानी पनि राम्रो हुदै गएपछि किसान स्याउ खेतीमा बढी आर्कषित छन् । किसानको परिश्रम खेर नजावस भनेर स्याउखेतीको प्राविधिक कुरा सिकाउन बगैचामै पुग्ने गरिएको छ ।’

अधिकांश समय भेरीखोलाका किसानका बगैचा र बारीमै पुगेर खेतीापतीबारे सिकाउने गरीएको कृषि प्राविधिक चनाराले उल्लेख गरे । तातोपानी गाउँपालिका ८ वटै वटामा कृषि प्राविधिक खटाइएको छ । जसले गाउँ गाउँमा पुगेर सिजननुसार स्याउ बगैचा व्यवस्थापनदेखि तरकारी खेती,बालीनाली संरक्षण तथा रोग किरा नियन्त्रणबारे सिकाउने गरेका छन् ।

ताताेपानी गाउँपालिका कृषि शाखा प्रमुख दिपा पाैडेलकाे नेतृत्वमा पालिकाका ८ वटै वडामा पुगेर बगैँचा व्यवस्थापनबारे किसानलाई तालिम दिने गरिएकाे छ । कृषि शाखा प्रमुख पाैडेलका अनुसार आगामी दिनमा पनि किसानकाे राहतका लागि गाउँ गाउँमै पुगेर काम गरिने छ ।

जुम्लामा स्याउ खेतीको क्षेत्र विस्तार भएपनि उत्पादन घटीरहेको अबस्थामा आधुनिक खेती प्रणालीलाइ बढवा दिन जरुरी छ । जुम्लाको ४२ सय ५० हेक्टर क्षेत्रफलमा स्याउ खेती भई रहेको छ । विगतको तुलनामा स्याउ खेतीको क्षेत्र विस्तार भएपनि उत्पादन बढेको छैन् ।

यस जुम्लामा १९ हजार बढी मेट्रिकटन स्याउ उत्पादन हुँदा करिब १५ हजारबढी मेट्रिकटन स्याउ निर्यात भयो । जसबाट जुम्लामा हाल सम्मकै बढी ६१ करोड भित्रियो । तर जुम्लामा स्याउबाट मात्रै वर्षमा एक अर्बबढी आर्थिक भित्रिने सम्भावना छ । तर परम्पराग खेती प्रणालीले रोग किरा लाग्ने,अपेक्षित उत्पादन नहुने,ग्रेडिङ नहुँदा उत्पादित सबै स्याउ बजारमा नजाने जस्ता समस्याले जुम्ली किसान मारमा छन् ।

खेतीको सुरुवातदेखि तालिम मुल्य निर्धारण,ढुवानीमा सहुलियत,कोल्ड स्टोर निर्माण लगायतका कुरामा सरकारले सहयोग गर्नुपर्ने जुम्लाका किसानको माग छ ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस