तातोपानी–२ मा स्वास्थ्य पूर्वाधार बनाउन ३ सय वर्गमिटर जग्गा दान

तातोपानी गाउँपालिका वडा नंं. २ को कार्यालय । तस्बिरः कर्णाली मिसन

जुम्ला । तातोपानी गाउँपालिका वडा नं.२ मा स्वास्थ्य पूर्वाधार निर्माणका लागि सोही वडाकी मौरी बुढाले जग्गा दान गरेकी छन् । वडामा आधारूभ स्वास्थ्य केन्द्र निमाणार्थ बुढाले तीन सय वर्गमिटर जग्गा दान दिएकी हुन् ।

वडाध्यक्ष चन्द्रमान बुढा लामो समयदेखी जग्गा प्राप्तीका लागि खटिएका थिए । जग्गा नभई बजेट प्राप्त गर्न नसकिने भएकोले स्थानीयतहमा जग्गा पास नभई पूर्वाधार बनाउन बजेट जुट्ने स्थिती छैन् । त्यसैले लामो प्रयास र पहलपछि मोलपोतको दररेटअनुसार प्रति वर्गमिटर ५ हजारका हिसाबले १५ लाख बराबर मुल्य पर्ने ३ सय वर्गमिटर जग्गा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गादाता स्थानीय मौरी बुढाबाट निशुःक प्राप्त भएको तातोपानी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रमान बुढाले बताए ।

आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि लामो प्रयास र पहलबाट निशुल्क जग्गा प्राप्त गर्न सफल भएका छौँ । वडाध्यक्ष बुढाले भने,‘अब संरचना निर्माण गर्न बजेट व्यवस्थापनका लागि पहल गर्छौ । स्वास्थ्य केन्द्र बनाउन बजेट छुटाइएको छैन् । जग्गा पास भईसकेपछि बजेट माग्न पनि सहज हुने छ । १५ लाखको जग्गा निःशुल्क दिने र यस कार्यक्रमा सहयोग गर्ने सबै प्रति वडा सरकार आभारी छ ।’

कारोबार नभएको जग्गा पास गर्दा सम्बिन्धत जग्गा धनीले लाभांस कर सरकारलाई बुझाउनु पर्छ । जग्गा पनि निःशूल्क दिने र लाभांसकर पनि जग्गा धनीलाई तिराउन लगानु उचित नभएकोले ७.५ प्रतिशतका हिसाबले हुन आउने एक लाख १२ हजार पाँच सय लाभांस कर वडालेनै तिरेको वडाध्यक्ष बुढाले उल्लेख गरे ।

आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट विनियोजन नभएपनि २ नम्बर वडा कार्यालय निर्माणका लागि चालु आर्थिक वर्षमा ३६ लाख बजेट विनियोजन भएको छ । वडाध्यक्ष बुढा भन्छन,‘हाल निःशुल्क भएकै जग्गामा एकिकृत भवन निर्माण गर्ने सोच राखेका छौ । ३ तला सम्मको एकिकृत भवन निर्माण गरी त्यसमै वडा कार्यालय,आधारभूत स्वास्थ्य केन्द्र लगायतका सबै सेवा एकै भवनबाट दिने गरी पूर्वाधार बनाउने योजना बनाएका छौ । यसले गर्दा आर्थिक भार पनि कम हुने र एकै भवनबाट छिटो छरितो सेवा प्रवाह हुने अपेक्षा छ ।’

जग्गा नभएकै कारण वडा भवन निर्माणका लागि दुई वर्ष पहिले बजेट विनियोजन भएको पनि कार्यान्वयन नभएर फिर्ता भएको थियो । आधारभूत स्वास्थ्य केन्द्रका नाममा ३ सय वर्गमिटर जग्गा प्राप्त भईसकेकोले पूर्वाधार निर्माणको लागि संघ र प्रदेशमा बजेट माग गर्ने वडाध्यक्ष बुढाको तयारी छ । तातोपानी गाउँपालिकाका ८ वटा वडामध्य ६ वटा वडा आफ्नै भवनमा संचालित छन् । भने वडा नं. २ र ६ को कार्यालय मात्रै भाडाकै घरमा छन् । यदपी ६ नम्बर वडाकार्यालयको निर्माण पनि दुर्त गतिमा भईरहेको छ ।

प्रकाशित मिति : २०८१ माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस