
जुम्ला । जुम्लाको तिला गाउँपालिकाका चार वडाका नागरिक लाभान्वित हुने गरी निर्माण हुने ‘रारालिही बृहत्त खानेपानी आयोजना’का लागि स्रोत सुनिश्चित भएको छ । विगत लामो समयदेखी अघि सारिएको र बजेट अभावले रोकिएको बृहत्त रारालिही खानेपानी आयोजनामा स्रोत सुनिश्चितता भएसंगै निर्माणको बाटो खुलेको हो ।
तिला गाउँपालिकाका निवर्तमान अध्यक्ष रतननाथ योगीले २०७६ सालदेखी अघि बढाएको आयोजना बजेट अभावका कारण अघि बढ्न सकेको थिएन् । पाँच वर्षे कार्यकाल सकिएपछि पनि बजेट व्यवस्थापनका लागि निरन्तर जुटिरहेका थिए ।
खानेपानी अभावले काँकाकूल रारा लिहीका बस्तीलाई खानेपानीको पहुँचमा पुराउन लामो समयदेखीको पहलले सार्थकता पाएको तिला गाउँपालिकाका निवर्तमान अध्यक्ष रतननाथ योगीले बताए ।
‘करिब २५ करोड लागत अनुमान गरिएको रारालिहि बृहत्त खानेपानी आयोजनामा पहिलो चरणका लागि १० करोड बजेटको स्रोत सुनिश्चितता भएको छ ।’ उनले भने,‘पहिलो चरणको १० करोड सुनिश्चितता भएसंगै निर्माणको बाटो खुलेको छ । २०७६ सालदेखि प्रक्रिया थालेको आयोजनाले बल्ल बजेट पाएको छ । काँकाकूल राराबासीले घरघरमा खानेपानी पाउने आशा पलाएको छ । अब सबै सरोकारवाला मिलेर आयोजना निर्माणमा ध्यान दिन जरुरी छ ।’
बृहत्त रारालिही खानेपानी आयोजना निर्माणपछि तिला गाउँपालिकाका वडा नं. १,२,३ र ४ का हजारौ नागरिक प्रत्यक्ष लाभान्वित हुने छन् । २५ करोड लागत अनुमान गरिएको आयोजनामा स्रोत नजुट्दा आयोजना निर्माण अघि बढ्न सकेको थिएन् । हाम्रो निरन्तर पहलपछि खानेपानी मन्त्रालय, खानेपानी विभागले प्रथामिकताका साथ फाईल अघि बढाउँदा अर्थ मन्त्रालयले १० करोड स्रोत सुनिश्चितता गरेको योगीले बताए । आयोजनाको प्रारम्भीक चरणदेखि स्रोत सुनिश्चिता हुने अबस्था सम्म सहयोग गर्ने निवर्तमान जनप्रतिनिधिलाई धन्यबाद समेत दिएका छन् ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका योगीले स्रोत सुनिश्चितता भएको बजेट संघिय खानेपानी कार्यालय जुम्लाले कार्यान्वयन गर्ने छ । ठेक्का प्रक्रिया अघि बढाएर निर्माण कार्यलाई अघि बढाउन राराका स्थानीयले आग्रह समेत गरेका छन् ।
गाउँमा खानेपानी नभएपछि पुरानो एक धाराकै भरामा राराबासीले दैनिकी गुजारिरहेका छन् । दैनिक चार घण्टामात्र पानी आउने धाराबाट राराका २६० घरधुरीले पानी खाइरहेका छन् । कहिले काहीं धारामा पानी नआउँदा एक घण्टा टाढा दूरीमा रहेको तिला नदीको दूषित पानी पिउन बाध्य भएको राराका स्थानीय टेक परियाले बताए ।
उनले भने,‘गाउँमा चार करोड लागतमा बन्ने खानेपानी आयोजना निर्माणमा ठेकेदारले पेश्की लिएर काम नगरेपछि ढिलाई भएको छ । अहिले नयाँ आयोजना निर्माणका लागि बजेट सुनिश्चित भएको भन्ने कुरा सुनिएको छ । जुन आयोजना भएपनि चाडो निर्माण भएर हामीले ढुक्क रुपमा पानी पिउन पाउनु पर्यो ।’
रारा गाउँमा दिर्घकालिन आयोजना निर्माण नभएको र पछिल्ला वर्षमा पानकि मूल पनि सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव चुलिदै गएको छ । पुराना धारा जीर्ण हुँदै गएको अबस्थामा गाउँमा नयाँ आयोजना निर्माण हुने कुराले राराबासी उत्साहित भएका छन् ।
काँकाकूल रारा गाउँलाई खानेपानीको पहुँचमा पुराउन लाखौ खर्च गरेर सोलार लिफ्ट आयोजना निर्माण गरिएपनि उक्त आयोजना असफल भएको छ ।