सिम्खाडा आगलागी: दुई घर पूर्ण रुपमा जल्दा १ कराेड ७७ लाखकाे क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट हुँदा डेढ करोड बढीको क्षति भएको छ । प्रहरीको मुचुल्का अनुसार सरस्वती पुजाँको लागि बालिएको दियोबाट सल्कीएको आगोले दुईघर जलेर खरानी भएपछि एक करोड ७७ लाख ६७ हजार बराबरको क्षति भएको हो ।

चन्दननाथ ३ का स्थानीय तथा घरधनी धर्मलाल उपाध्याय र खीम प्रसाद उपाध्यायको घरमा आगलागी भएपछि घर भित्रको अन्नपात,भाडा वर्तन,लत्ता कपडा लगायतका सबै सामान जलेका छन् ।

प्रहरीले उठाएको मुचुल्छाका अनुसार धर्मलाल उपाध्यायको तीन तले १७ कोठा भएको घर पूर्ण रुपमा क्षति भएको छ । भने खीम प्रसाद उपाध्यायको तीन तले आठ कोठाको घर पूर्ण रुपमा क्षति भएको छ ।

स्थानीय र सुरक्षा निकायको सक्रियतामा आगो नियन्त्रण भएपनि मानवीय क्षति भने हुन पाएन् । तर दुई घर परिवार भने विचल्लीमा परेका छन् । लगाउने,लत्ता,खाने गाँस र बस्ने बाँस सबै आगोमा खरानी भएपछि खीम प्रसाद र धर्मलाल उपाध्यायको परिवार यतिबेला विचल्लीमा परेको छ ।

घरवार विहिन उपाध्याय परिवारको राहत तथा पुर्नस्थापनाका लागि स्थानीय अगुवाहरुले सहयोग संकलनको अभियान समेत संचालन गरिरहेका छन् । ‘हामी सम्पुर्ण हिसाबले घरबार विहिन भयौ । माघको कठ्याग्रिदो चिसोमा ओत लाग्ने ठाउँ छैन् ।’, आगलागी पिडित धर्मलाल उपाध्याय भन्छन,‘सबै सहयोगी निकायले प्रयास गर्दा पनि घर जोगाउन सकिएन् । सबै वस्तु जलेर खरानी भयो । ऋण जोहो गरी बनाएको घर आँखा अगाडीनै खरानी भयो । अब घरमा दियो बाल्दा विद्युतीय सामान प्रयोग गर्दा सजग हुनु पर्ने रहेछ ।’

यता चन्दननाथ नगरपालिकाले पनि तत्तकालका लागि आगलागी पिडितलाई नगद सहयोग गरेको छ । पूर्ण रुपमा क्षति भएको घरधनी धर्मलाल उपाध्याय र खीम प्रसाद उपाध्यायलाई ६० हजारका दरले नगद,कम्बल र त्रिपाल उपलब्ध गराइएको चन्दननाथ नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए ।

उनका अनुसार आशिंक क्षति भएका दुईघर परिवारलाई भने नगद १० हजारका दरले नगद तथा कम्बल र त्रिपाल वितरण गरिएको छ ।
जुम्लामा एक साताको अवधिभित्र तातोपानी ४ को वनमा,चन्दननाथ १० को वनमा र तातोपानी ६ कै वन क्षेत्रमा आगलागी भएको थियो । स्थानीय तथा सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ ।

पूर्वतयारीलाई मजबुद गर्ने निर्णय
जुम्लामा केहिदिन यता आगलागीका घटना बढेपछि विपद पूर्वतयारीलाई मजबुद बनाउन जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर पूर्वतयारी मजबुद बनाउने निर्णय गरिएको छ । बुधबार बसेको बैठकले जिल्लामा सम्भावित विपदलाई मध्यनजर गरी आठै पालिका,सरकारी तथा गैरसरकारी कार्यालयहरु एकजुट भएर विपद पूर्वतयारीमा लाग्ने निर्णय भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला जिल्ला अधिकारी राम बहादुर शाहीको अध्यक्षामतामा बसेको बैठकले विपद पूर्वतयारीलाई मजबुद बनाउन विभिन्न पाँच वटा निर्णय गरेको छ ।

बैठकमा आगालागी नियन्त्रण,बजारमा जथाभावी रुपमा विक्री वितरण भईरहेको पेट्रोल,डिजेललाईको विक्रिलाई व्यवस्थित बनाउने,जनचेतना मुलक कार्यक्रममा जोड दिने,पालिकास्तरको विपद व्यवस्थापन संयन्त्रलाई मजबुद बनाउने लगायतका विषयमा छलफल भएको थियो ।

बजार क्षेत्रमा अव्यवस्थित ईन्धनको विक्रीले जोखिम बढाएको छ । गाउँघरमा बढ्दो ग्याँस र विद्युतको प्रयोगले समेत जोखिम बढेको जोखिम न्युनिकरणका लागि जनचेतना अभिबृद्दिमा जोड दिनु पर्ने प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले बताए ।

चन्दननाथका मेयर राजुसिंह कठायतले नगर क्षेत्रभित्रको विपद व्यवस्थापनलाई मजबुद बनाउन लागि परेको बताए । दमकलको मर्मतका लागि प्रक्रिया अघि बढेको उल्लेख गरे ।

अस्थायी आपतकालीन गोदम घरको लागि आवश्यक संरचना निर्माण तथा मानवीय सहायताका आपतकालीन सामाग्रीहरु थप गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने,जिल्लाका स्थानीय बजारमा खुला रुपमा पेट्रोलियम पदार्थ बेचविखन गर्दा आगलागी लगायतका विपद्का जोखिम बढाएकोले तत्काललाई घनावस्ती भएका क्षेत्रहरुमा विक्री वितरण गर्न नदिने तथा व्यवस्थापन गर्ने,जिल्लामा आगलागी तथा वन डढेलोका घटनाहरु बढेकोले नियन्त्रणमा जोड दिने,आगलागीमा संलग्न व्यक्तिको खोजी गरी कानून बमोजिम कारवाही गर्ने लगायतका निर्णय गरिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस