कार्यसम्पादन मूल्याङ्कनमा तातोपानी प्रथम, तिला निकै कमजोर

जुम्ला-कार्यसम्पादन मूल्यांकनमा तातोपानी गाउँपालिका जुम्लाकै प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को अनुसार ६७.५ प्रतिशत अंक प्राप्त गरी कार्यसम्पादन मुल्यांकनमा प्रथम भएको हो । तिला गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सवै भन्दा कमजोर देखिएको छ । तिला गाउँपालिकाले सवै भन्दा कम ३८.२ प्रतिशत अंक प्राप्त गरेको छ ।
यस्तै हिमा ६१.५ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो भएको छ । क्रमशः सिंजा ५८.१ प्रतिशत, कनकासुन्दरीले ५६.९ प्रतिशत, पातारासी ५२.६ प्रतिशत, गुठीचौर गाउँपालिकाले ४९.७ प्रतिशत अङ्क प्राप्त गरेको । यस्तै चन्दननाथ नगरपालिकाले ५६.८ प्रतिशत अंक प्राप्त गरेको छ ।
आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजश्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजश्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्यांकन हुने गर्दछ । सुशासन, समन्वय, पूर्वाधार, न्यायीक कुराहरु पनि हुन्छन् ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई भने, ‘‘शिक्षा, स्वास्थ्य, कर्मचारी जनप्रतिनिधिका तालिमका कुरा पनि हुन्छ । नीति, नियम, कानुन बमोजिम काम भएन–भएको, बेरुजुका कुरा छन् । त्यसलाई न्यूनिकरण गर्नुपर्छ ।’’ गाउँपालिकाले शिक्षामा लगानी गरेको छ । स्वास्थ्यमा त्यही अनुसारकै लगानी गरिरहेका छौं ।
शिक्षा, स्वास्थ्यसंगै भौतिक पूर्वाधारमा समेत पालिकाले नमुना काम गरेको तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईले बताए ।
उनले भने, वित्त आयोगले आर्थिक वर्ष २०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस