जुम्लाका दुर्गम भेगमा सार्वजनिक यातायात सेवा

जुम्ला – यहाँका आठ स्थानीय तहका ६० वटा वडा छन् । यहाँको सबै स्थानीय तहका मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।
६० वडामध्ये तिला गाउँपालिका ६, ७, ८ र ९ वडा अर्थात् तत्कालीन घोडेमहादेव र मालिकाठाँटा गाविस हालै सडक सञ्जालमा जोडिएका छन् । तिला गाउँपालिका– १ रारालिहीस्थित तिला नदीमाथि मोटरेबल पक्की पुल निर्माण भएपछि यहाँका दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि सडक सञ्जालमा जोडिएका हुन् ।


यहाँका सवै वडापालिकासम्म कच्च (अफरोड) सडक निर्माण भएपछि सार्वजनिक यातायात सेवा सुचारु हुन थालेका छन् । यसअघि यहाँको सदरमुकाम खलंगा हुदै कर्णाली राजमार्ग जुम्ला नाग्म सडक खण्ड र नाग्म गमगढी मुल सडकमा मात्रै सार्वजनिक सवारी साधन सञ्चालन हुने गरेका थिए ।
अब यहाँका ग्रामीण सडकमा (अफरोड) पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न थालिएको छ । नमस्ते हिमचुतिवा यातायात प्रालि जुम्लाले यहाँका मुकाम खलंगा हुदैँ कुडारी डुग्रीसम्म सार्वजनिक यातायात सेवा सुचारु गर्न थालेको हो । कुडारीदेखि डुग्रीसम्म ११ किलोमिटर कच्च सडक रहेको छ ।
यस्तै सोही यातायात प्रालिले खलंगादेखि रारालिहि, रारालिहिदेखि मानेचौर, राँसा मालापानीसम्म सार्वजनिक यातायात सेवा सुचारु गर्न थालेको हिमचितुवा यातयात प्रालिका राजबहादुर रावलले बताए । उनले भने, रारालिहिदेखि मानेचौरसम्म २० किलोमिटर कच्ची सडक रहेको छ । अहिले रुड प्रमिटको प्रक्रियामा छौँ । रुड प्रमिट प्राप्त भएपछि १÷२ दिनमै यातायात सेवा सुचारु गर्ने छौँ ।
यसअघि कुडारीको त्रिवेणीदेखि ताम्ती टोप्ला र जुम्ला विमानस्थलदेखि पातारासीको तल्फी पेरे गाउँसम्म सार्वजनिक यातायात सेवा सुचारु छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस