
जुम्ला । गाउँमा रोजगारी नपाएर यूवा पलायन बढीरहेको बेला कनकासुन्दरी गाउँपालिकाका यूवालाई स्वरोजगार बनाउन ड्राईभिङ तालिम दिइएको छ । यूवालाई गाउँमै स्वरोजगार बनाउन तथा आम्दानी बृद्धि गरी जीविकोपार्जनमा सुधार ल्याउन विपन्न यूवालाई ड्राईभिङ तालिम दिईएको हो ।
जुम्लाका गाउँ गाउँमा पछिल्लो समय अटो रिक्सा संचालन बढ्दै गएको छ । सिप सिकेर कार्यान्वयन गरेको आम्दानी बृद्धि गर्न सकिने सम्भावना छ । सोही सम्भावनालाई अबसरमा बदल्न तथा यूवालाई गाउँमै स्वरोजगार बनाउनका लागि क्याड नेपाल जुम्लाले कनकासुन्दरीका यूवालाई ड्राईभिङ तालिम दिएको हो ।
तिलाका एक जना यूवतीसंगै आठ जना यूवालाई एक महिने ड्राईभिङ तालिम दिएको छ । तालिम पाएपछि गाउँमै केही गर्ने ईच्छा शक्ति पलाएको वर्षसनराज बुढा बताउँछन् । सबै गाउँ छोडेर पलायन हुँदा आफुलाई पनि जाउँ जाउँ लाग्थ्यो । उनले भने,‘एक महिनाको ड्राईभिङ तालिम पाएपछि अब ऋण जोहो गरे पनि गाउँमा अटो संचालन गर्ने सोचमा छु । धेरै यूवाले अटो चलाएरै घर परिवार चलाएको देखेको छु ।’
कनकासुन्दरी ३ की सरस्वती बुढाले तालिम कार्यान्वयन गरेको खण्डमा कनकासुन्दरीकी पहिलो महिला चालक बन्ने छिन् । गाउँमा महिला चालक भएपछि कुरा काट्ने चलन छ । उनले भने,‘महिलाले गाडी चलाउनु हुदैन् भन्ने गाउँको संकिर्ण सोच तोड्ने प्रयासमा छु । धेरै महिलाले डोजर टिप्पर बस चलाएको पनि देखेको छु । ढिलो चाडो सिपको प्रयोग अघि बढाउने सोचमा छु ।’
तालिम पाएका आठै जना उत्साहित छन् । गाउँ गाउँमा सडक पुगिसकेको र अटो संचालन गर्ने सोचमा रहेका यूवाले ड्राईभिङ तालिम पाएपछि उत्साहित भएका हुन् । क्याड नेपालका अध्यक्ष कृष्ण बहादुर महतले काम विहिन यूवालाई स्वरोजगार बनाउन ड्राईभिङ तालिमको योजना बनाइएको बताए । एक महिने तालिम सिक्न महंगो खर्च लाग्थ्यो । तर क्याड नेपालले निःशुल्क रुपमा तालिम दिएर स्वरोजगार बनाउने उदेश्यले तालिम दिएको उनको भनाई छ ।

आफ्नो सीप क्षामतालाई व्यवहारमा लागू गरेमा आर्थिक आम्दानी र जीविकोपार्जनमा सुधार हुने उल्लेख गरे । यूवाहरु सीप रोजगार नपाएर पलायन भईरहेको अबस्थामा सवारी चलाएर घर परिवार चलाउन सक्ने ईच्छा भएका यूवालाइ तालिम दिईएको महतले बताए ।
ड्राईभिङ तालिम दिनु अघि कनकासुन्दरीका यूवालाइ क्षामता विकास,व्यवसायीक योजना निर्माण सम्बन्धि समेत तालिम दिएको छ । विशेषगरी सिंजा क्षेत्रका पालिकामा यूवाको शसक्तिकरण,क्षामता विकास,उद्यमशीलता र आयआर्जनसंग जोड्ने गरी क्याड नेपाल जुम्लाले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।