
जुम्ला – गुठिचौर गाउँपालिका १ र २ का महिला र किशोरी कुप्रथा विरुद्धको अभियान सञ्चालन गरेका छन् । कुप्रथाले शारीरिक र मानसिक अवस्थामा समस्या गर्ने भएकाले अभियान सञ्चालन गरेका हुन् ।
गुठिचौरको माथिल्लो भेगमा महिनावारी बार्ने चलन कम भएपनि बालविवाह हुने गरेको छ । गाउँमा हुने विवाह र महिनावारी न्युनिकरणका लागि किशोरी र महिला तयार भएका छन् । सर्वाेदय नेपाल जुम्लाले इटालियन फाउण्डेशनको सहयोगमा गाउँमा बालविवाह र महिनावारीका विषयमा सचेत गराएपछि महिलाले कुप्रथाका विरुद्धको अभियानमा सहभागी भएका छन् ।
उनीहरुले गाउँमा बालविवाह भएमा प्रहरी चौकी वा जनप्रतिनिधिलाई खबर गर्ने प्रतिवद्धता गरेका छन् । किशोरी र महिलालाई बालविवाह र महिनावारीका विषयमा जानकारी गराएपछि उनीहरुले त्यसका विरुद्धमा उभिने प्रण गरेको सर्वाेदय नेपाल जुम्लाका सामाजिक परिचालक मित्रराज खत्रीले बताए । उनले भने, गुठिचौरको १ र २ वडामा बालविवाह भई रहेको छ । महिलाहरुले बालविवाह भएमा सम्बन्धित निकायमा खबर गर्ने सामुहिक प्रतिवद्धता जाहेर गरेका छन् । बालविवाहकै कारण महिलाको पाठेघरमा समस्या र शैक्षिक हिसाबले क्षति गरेको ठहर महिलाले गरेका छन् । आफुले भोगेको समस्या किशोरीले पनि भोग्नु पर्ने अवस्था आउन नदिनका लागि किशोरीलाई बालविवाह र महिनावारीका बारेमा सचेत भएको गुठिचौर १ की महिला देवकी अधिकारीले बताइन् । उनले भनिन्, बालविवाहले महिला पाठेघरको समस्यासँग जोधी रहेका छन् । बालविवाह र महिनावारी भएको बेला गोठमा बसेकै कारणले अहिले समस्या सृजित भएको उनको भनाइ छ । अधिकारीले भने, पहिले थाहा नपाएर गोठमा बसियो । अब त्यो समस्या किशोरीले भोग्नु पर्ने अवस्था न्युनिकरण गर्न महिला अभियानका रुपमा लागेका छन् । अर्की महिला शान्ति बस्नेतले सर्वाेदय नेपाल जुम्लाले महिलालाई गराएको सचेतनाले गर्दा जागरुक भएको बताइन् ।
संस्थाले महिलालाई बानी बसाल्न सरसफाईका सामान पनि दिने गरेको छ । महिनावारी भएको बेला शारीरिक सरसफाई गर्ने तरिका समेत सिकाएको उनको भनाइ छ । किशोरीलाई महिनावारी भएका बेला सुरक्षित ठाउँमा बस्नका लागि आग्रह समेत गरिएको छ । विद्यालयमा पढ्ने उमेरमा विवाह गरी घरजम गर्ने परिपाटीलाई अन्त्य गर्नका लागि किशोरीकै सहभागितामा छलफल र अन्तरक्रिया हुने गरेको उनको भनाई छ । महिला र किशोरीलाई महिनावारीका सामान उपलब्ध गराएर बानी बसाल्ने काम सर्वाेलय नेपालले गरेको छ ।
धाराखोला समूहका करिब २५ जना महिलालाई महिनाको एक पटक बालविवाह र महिनावारीका विषयमा सचेतना कक्षा संचालन गर्दै आएको सर्वाेदय नेपालका सामाजिक परिचालक भीमवहादुर रावलले बताए । उनका अनुसार किशोरी सचेत भएमा बालविवाह र महिनावारी विभेद कम हुनेमा संस्थाले आशा गरेको छ । समाज परिवर्तन संवाह मानिएका किशोरीलाई बढि फोकस गरिएको रावलले बताए ।