याेजना अनुगमनपछि सांसदहरुद्वारा ताताेपानीकाे प्रशंसा,अलपत्र लिफ्ट सिँचाई प्रयाेगमा ल्याईदै

लिफ्ट सिँचाईले सात हेक्टर जमिनमा सिँचाई,स्थानीय किसान खुसी

जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ६ स्थित धौलापानीमा निर्माण गरिएको लिफ्ट सिँचाई आयोजनाले सात हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको छ । स्याउ खेती भईरहेको र सिँचाई अभावले बाँझिदै गएको सात हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तार भएको हो ।

जुम्लामै पहिलो बत्तीबाट संचालन हुने लिफ्ट संचालन गरेपछि १६ हजारबढी स्याउका विरुवा रोपिएको धौलापानीको बृहत्त बगैचामा सिँचाई सुविधा पुगेको हो । बत्तीबाट संचालन हुने पहिलो लिफ्ट सिँचाई तथा सेन्सरबाट सिँचाईमलजल पत्ता लगाउने प्रविधिको सोमबार अनुगमन गरिएको छ ।

प्रतिनिधि सभा सदस्य विनिता कठायत,कर्णाली प्रदेश सभा सदस्यदोय टेकराज पछाई र देवेन्द्र बहादुर शाही, जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आर्चाय,तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले योजनाहरुको अनुगमन गरे ।

विगतका वर्षमा सुक्खा रहेको जमिनमा तिला नदीबाट ७६ मिटर उचाईमा २१० मिटर पाईप लाईनबाट पानी ल्याएर सिँचाई विस्तारको याेजना बनाउने,पहल गर्ने गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईको तीनै जना सांसदले प्रसंशा गरे । अन्य पालिकाले पनि तातोपानीबाट कृषि,सिँचाई,पर्यटन प्रर्बद्धन र पूर्वाधार विकासका कुरा सिक्नु पर्नेमा समेत जोड दिए ।

कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाईले विकास निर्माणमा ताताेपानीले लिएकाे गति सबैका लागि प्रेरणादायी रहेकाे बताए । सुक्खा क्षेत्रमा सिँचाई पुराउने,असार विकासलाई निरुत्साहित गर्नेदेखि पालिकाका सबै विद्यालयमा अर्गानिक खाजा खुवाउने लगायतका कामका ताताेपानी जिल्लामा पहिलाे रहेकाे उनकाे भनाई थियाे ।

उनले भने,’ताताेपानीले जनप्रिय अध्यक्ष पाएकै कारणा यति धेरै विकास भयाे । सिमित स्राेतका बीच पनि ईच्छा शक्ति भएमा काम गर्न सकिन्छ भन्ने उदाहरण समेत ताताेपानीका अध्यक्ष बनेका छन् । जेजति काम भएका छन् राम्रै भएका छन् । अझै राम्राे गर्नुहाेला ।’

त्यस्तै प्रतिनिधि सभा सदस्य विनिता कठायत,प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले पनि ताताेपानीकाे विकास निर्माणबारे प्रशंसा गरे । पालिका अध्यक्षकाे समन्वयकारी भूमिकाकाे प्रतिनिधि सभा सदस्य कठायतले प्रसंशा गरिन् । ताताेपानीमा थप बजेट पठाउन तयार रहेकाे समेत उल्लेख गरिन् ।

जुम्लाको समृद्धी र किसानको आयआर्जनको मुख्य स्रोत स्याउ खेतीलाई मध्यनजर गरी करिब १६ हजार विरुवामा सिँचाई पुग्ने लक्ष्यका साथ ४४ लाख खर्चेर विद्युतबाट चल्ने लिफ्ट बनाइएको हो । यूएनडिपिको आर्थिक सहयोगमा संचालित रेरास परियोजना पालिकाको समन्वयमा लिफ्ट सिँचाई बनाएको हो ।

बत्तीको लाईन विस्तार,पम्प जडान,सानो घर निर्माण,९ वटा धारा निर्माण तथा ट्यांकी घेराबार निर्माणमा ४४ लाख खर्च भएको छ । कर्णालीमै पहिलो प्रविधिका रुपमा धौलापानीको बृहत्त बगैचामा माटोमा सिँचाईको मात्रा,मलको मात्र थाहा पाउने सेन्सर जडान गरिएको छ । निकट भविष्यमै सिँचाई पनि सेन्सरबाटै हुने र किसान सिँचाईका लागि बारीमा पुग्नै नपर्ने प्रविधि जडानको तयारी भएको यूएनडिपिका प्रतिनिधि ऋषिराम ओलीले बताए ।

परियोजनाका प्राविधिक लोक बहादुर डाँगीका अनुसार ४४ लाख खर्चेर बनाइएका् लिफ्ट सिँचाईले ७ हेक्टरमा सिँचाई पुगेको छ । भने दुई वटा साना र एक ठुलो टंयाकी बनाइएको छ । लिफ्ट सिँचाई निर्माणपछि सिँचाईका दुःख अन्त्य भएको स्थानीय भक्त बहादुर विष्टले बताए । उनका अनुसार समुह मार्फत पालै पालो बगैचामा सिचाई गर्ने गरिएको छ ।

सांसद विनिता कठायत, प्रदेश सभा सदस्य टेकेराज पछाई,देवेन्द्र बहादुर शाहीले विद्युतलाई उत्पादन र कृषि संग जोडेर किसानलाई राहत हुने काम गरेकोमा तीनै जना सांसदले गाउँपालिकालाई धन्यबाद दिए । तातोपानीले जनताका पक्षमा गरेका काम निकै अनुसरण योग्य रहेको उनिहरुको भनाई छ । जुम्लालाई कृषिको हब बनाउन सिँचाई विस्तार,उत्पादनको बजारीकरण र मुल्यनिर्धारणमा समेत ध्यान दिनु पर्ने उल्लेख गरेका छन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले आफू निर्वाचित भएपछि तातोपानीमा–८–१० लिफ्ट सिँचाई योजना अलपत्र परेको देखेपछि मर्मतमै लगानी जुटाएर सिँचाई विस्तार गरेको बताए । सबैको साथ सहयोगले तातोपानीलाई जिल्लाकै नमुना पालिका बनाउने अटोठ रहेको उनको भनाइ छ ।

कराेडाै लागतमा बनेका लिफ्ट सिँचाई अलपत्र रहेका थिए ।नयाँमा बजेट खर्चिनु भन्दा पालिकाकाे लगानी वा दातृनिकाय जुटाएर पुरानै मर्मत गरि संचालन गर्ने लक्ष्यनुसार डाँगीबाडा,धाैलापानीका लिफ्ट सिँचाई मर्मत गरिएकाे अध्यक्ष चाैलागाँईले जानकारी दिए ।

रेरासले ६० लाख र ४४ लाख लगानीमा धौलापानी क्षेत्रमै २ वटा लिफ्ट सिँचाई बनाएको छ । जसमा १६ वटा धारा निर्माण भएका छन् । भने जसबाट १६ सय विरुवामा नियमित सिँचाई भईरहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस