आधार परियोजना पालिकालाई हस्तान्तरण,शैक्षिक पूर्वाधार निर्माणमा फड्को

जुम्ला । जुम्लाको सिंजा क्षेत्रका तीन स्थानीयतहमा विगत २२ महिनादेखी संचालित आधार परियोजनाले २ सय २१ वटा शैक्षिक पूर्वाधार निर्माण गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पूर्वाधार निर्माणमा जोड दिदैँ संचालन भएको परियोजनाले हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकामा एक सय २१ वटा विभिन्न पूर्वाधार निर्माण गरेको हो ।

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा पेश नेपाल जुम्लाद्धारा संचालित आधार परियोजनाले भूकम्प प्रतिरोधी विद्यालय भवन,मैत्रीपूर्ण कक्षा कोठा,शौचालय,खानेपानी धारा तथा मर्यादित महिनावारीका लागि पूर्वाधार निर्माण गरेको हो । परियोजनाले निर्माण गरेका संरचना,आएको सुधारका विषय समेटीएको प्रतिवेदन सहित परियोजना तीनै पालिकालाई हस्तान्तरण गरिएको छ ।

आईतबार आयोजित सिकाई आदान प्रदान,सार्वजानिक सुनुवाई तथा परियोजना हस्तान्तरण कार्यक्रममा पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानले परियोजनाको प्रगती प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमा आधार परियोजनाले सिंजा क्षेत्रका तीन स्थानीयतहमा सात करोड ९३ लाख ३७ हजार २३५ रुपैया लगानी गरेर सामुदायिक विद्यालयका दर्जनौ पूर्वाधार निर्माण गरेको उल्लेख छ ।

जसमा तीन पालिकाका ५ वटा विद्यालय भवन तथा २० वटा कक्षा कोठा,६ मैत्रीपूर्ण शौचालय र १८ वटा शौचालय कोठा,४२ वटा खानेपानीका धारा,२० वटा कक्षा कोठामा काठको सिलिङ,द्धाना मर्मत,प्लाष्टर,नाली निर्माण लगायतका काम गरिएको छ ।
त्यस्तै, ६ वटा विद्यालयको ६५ मिटर पक्की घेराबार निर्माण,५ वटा शौचालयमा महिनावारी व्यवस्थापनका लागि उपकरण सहित सुविधा,१० वटा खानेपानी स्टील ट्यांकी सहयोग लगायतका योजना र कार्यकारी गरी झण्ड १२१ वटा पूर्वाधार निर्माण गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कार्यकारी निर्देशक न्यौपानेका अनुसार क्षामता विकास,स्थानीयतहको नीति निर्माण,विद्यालय सुधार योजनामा सहयोग र कर्मचारी जनप्रतिनिधिको क्षामता विकासका क्षेत्रमा पनि लगानी भएको बताए । क्षामता विकास तर्फ परियोजना मार्फत ३ पालिकाका १० वटा विद्यालयका १२८ शिक्षक, ३१ सय ६८ विद्यार्थी, ५४ सय ९७ जना अभिभावक र १८० जना सामुदायिक कार्यकर्ता प्रत्यक्ष लाभान्वित भएका छन् । शैक्षिक पूर्वाधार निर्माणमा परियोजनाको बजेट अलवा तीन वटा स्थानीयतहले करिब १३ लाख रुपैयाँ लगानी गरेका छन् ।

२०६३ सालमा स्थापना भएको पेश नेपालले सामाजिक रुपान्तरण,पूर्वाधार विकास,जलवायू अनुकुलन,समावेशी शिक्षा,जीविकोपार्जन तथा पोषण बृद्धि,विपद व्यवस्थापन लगायतका क्षेत्रमा विभिन्न २५ वटा दातृ संस्थासंग सहकार्य जुम्ला,मुगु,कालिकोट र सुर्खेतमा काम गर्दै आएको छ ।

पेश नेपालका विभिन्न कार्यक्रम मार्फत हाल सम्म जुम्लाका ७५ हजार ९४७ जना प्रत्यक्ष रुपमा लाभान्वीत भएका छन् । विभिन्न २२ वटा साझेदार सस्था मार्फत कर्णाली,सुदुर पश्चिम र मधेशमा ६१ मिलीयन रकम लगानी छ । भने, आ.व २०८०१÷८१ मा पेश नेपालले विभिन्न परियोजना संचालनमा ८ करोड ४४ लाख ६७ हजार ८ सय ३३ रुपैयाँ खर्च गरेको छ । साथै अहिलेको मुख्य चुनौतीको विषय जलवायू परिवतर्नबाट समुदायलाई अनुकुलित हुन सिकाउन पनि उल्लेखीय काम गरिरहेको छ ।

बढ्दो भूकम्पीय जोखिम तथा बालमैत्री कक्षा कोठाको अभावले विद्यार्थीको आकर्षण घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ । जसमा हिमाको वडा नं. ७ स्थित महादेव आधारभूत विद्यालय र वडा नं. ३ जोगीबाडाको भैरव आधारभूत विद्यालय, सिंजाको वडा नं. ६ जोडुस्थित माध्यमिक विद्यालय र कनकासुन्दरीको वडा नं. ४ लेकपोरको भैयलपाटा आधारभूत विद्यालय र वडा नं. ६ को गुरुचौर आधारभूत विद्यालय गरी पाँचवटा विद्यालयमा सुविधायुक्त भवन निर्माण गरिएको हो ।

मैत्रीपूर्ण शौचालय, हात धुने स्टेसन, शुद्ध खानेपानी सुविधा, सुधारिएको बच्चा, मोडेल कक्षाकोठा बालमैत्री, अपांगमैत्री, छात्रछात्रामैत्री, अपांगमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षा कोठा सहितको सुविधा सबै विद्यालयमा छन् ।

परियोजनाको प्रगतीसहित तीन पालिकालाई कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले हस्तान्तरण गरेका छन् । आधार परियोजनाले सिंजा क्षेत्रका तीन पालिका उल्लेखीय रुपमा शैक्षिक पूर्वाधार गरेकामा धन्यबाद दिए । बनेका संरचनाको स्थायीत्व र संरक्षणमा ध्यान समेत अनुरोध गरे ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले पेश नेपालद्धारा संचालित आधार परियोजनाले दुर्गमका विद्यालय पहिचान गरी करोडौको पूर्वाधार बनाइदिएको र अब पालिकाले शैक्षिक क्षेत्रमा काम गर्नुपर्ने बताए । कार्यक्रममा तीनै पालिकाका अभिभावक,शिक्षक तथा विव्यस समितिका पदाधिकारीहरुले आधार परियोजना मार्फत नमुना शैक्षिक पूर्वाधार निर्माण गरेपछि पठनपाठनमा सहजता भएको बताएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस