गिडिदहकाे प्रवेशद्वार फूलचाैल्यामा सुविधायुक्त हाेमस्टे निर्माण

जुम्ला । कर्णाली प्रदेशको नयाँ पर्यटकीय गन्तव्य जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ४ स्थित गिडिदहको पर्यटन प्रर्बद्धनका लागि पूर्वाधार निर्माणमा तिव्रता दिइएको छ ।

समुद्री सतहदेखी ३४ सय ८५ मिटर उपचाईमा अबस्थित गुमनाम गिडिदह चर्चामा आएको दुई वर्षयता त्यस क्षेत्रमा पर्यटक भित्रयाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ । गिडिदहकाे प्रर्वद्वनका लागि वडाध्यक्ष अमर बहादुर राेकायाले निरन्तर खटिरहेका छन् ।

गाउँपालिकाको सक्रियतामा गिडिदह पुग्ने छोटो पदमार्ग,गिडिदहमा धर्मशाला,खानेपानी,शौचालय,ठाउँ ठाउँमा अभिलेख तथा प्रचार प्रशार,सडक लगायतका पूर्वाधार निर्माण भएका छन् ।

पूर्वाधार निर्माण गर्ने क्रममै गिडिदह पुग्ने मुख्य प्रवेशद्धार फूलचौल्या पाटनमा सुविधायुक्त होमस्टे निर्माण गरिएको छ । कर्णाली राजमार्गबाट पैदल यात्रा गरेर पहिलो रातको बास बस्न पुगिने फूलचौल्या पाटनमा प्रदेश सरकारको १५ लाख लगानीमा सुविधायुक्त होमस्टे निर्माण गरिएको हो ।

कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वाताबरण मन्त्रालयको १५ लाख लागतमा फूलचौल्यामा होमस्टे निर्माण गरिएको तातोपानी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष अमर बहादुर रोकायाले बताए ।

उनले भने,‘विगतमा फूलचौल्यामा बस्ने ठाउँ नहुँदा गएका पर्यटकहरु अलपत्र पर्थे । पाटनमा वर्षा भई रहने भएकोले ओत लाग्ने ठाउँ सम्म थिएन् । बाटो नपुगेको पैदल हिडेर जाँदा पहिलो दिनको साँझ फूलचौल्या पुगिने भएकोले पर्यटकको सहजताका लागि व्यवस्थित होमस्टे निर्माण गरेका हौ ।’

भूईमा सिलिङ गरेको,चारैतिर घेराबार भएको,खानेपानी,शौचालय सबैको व्यवस्थापन गरिएको छ । गिडिदह जाने पर्यटकले अब बास बस्नको लागि कुनै चिन्ता लिनु नपर्ने उनको भनाई छ । कोही कसैले होटस्टेको दुरुपयोग गर्ने,संरचनामा क्षति पुराउने गतिविधिमा संलग्नलाई कारबाही समेत गरिने छ ।

डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा पाटनमा अत्यधिक चिसो हुने भएकाले मौसम अनुकूलित होमस्टे निर्माण भएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले पछिल्लो समय गिडिदहमा समुह बनाएर घुम्न जानेहरुको सख्ंया बढ्दै गएको अबस्थामा होमस्टे निर्माण हुनले पर्यटन प्रर्बद्धनमा थप टेवा पुग्ने विश्वास गरिएको बताए ।

उनले भने,‘पालिकाको अगुवाईमा मिडियाकर्मीको सहयोगले गुमनाम गिडिदह विश्वभर चर्चित बन्यो । त्यहाँ सम्म पर्यटक पूराउन हामीलाई पूर्वाधारकै चिन्ता छ । आधारभूत पूर्वाधार बन्दै छ । अब फूलचौल्या सम्म पनि सडक बन्ने क्रममा छ । गिडिदहमा पर्यटकको आगमन बढाउन हामी लागि परेका छौ ।’
निर्माण सम्पन्न भएको होमस्टेको संयुक्त अनुमगन गरिएको डिभिजन वन कार्यालयका प्रमुख भरत बढ्थापाले बताए । उनका अनुसार धर्मशालाले स्थानीय पर्यटनलाई प्रोत्साहन गर्नुका साथै पर्यटकहरूलाई सुविधा सम्पन्न बसाईमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अनुगमनका क्रममा निर्माण कार्य गुणस्तरीय र तोकिएको मापदण्ड अनुसार भएको पाइएको डिभिजन वन अधिकृत बुढथापाले बताए ।

समुद्री सतहदेखी ३४ सय ८५ मिटर उचाइमा अबस्थित तालको लम्बाई १५ सय १० मिटर चाैडाई ३१० मिटर र गहिराई ४२.८ मिटर रहेकाे छ । भने, हाेमस्टे निर्माण भएको स्थान फुलचाैल्या पाटन समुद्री सतहदेखी ३६ सय ९२ मिटर उचाईमा अबस्थित छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस