जुम्ला । जुम्लाका किसानलाई अनुदानमा जैविक प्रांगारिक मल वितरण गरिने भएको छ । लुकीछिपी हुने रसायनिक विषादी मलको प्रयोगलाई रोक्न तथा रैथाने उत्पादनलाई जोड दिन कृषि विकास कार्यालय जुम्लाले जैविक प्रांगारिक मल वितरण गर्ने भएको हो । जुम्लालाई २०६४ सालमा १४ औँ जिल्ला परिषदबाट अर्गानिक जिल्ला घोषणा गरिएको छ । त्यसयता जुम्लामा कुनै पनि बाहनामा वा लुकीछिपी रसायनिक विषादी ब्युटाक्लोर प्रयोग गर्न प्रतिवन्ध छ । यदपी लुकिछपी प्रयोग हुने गरेको पाइएको छ ।
अन्नबालीमा हुने विषादीको प्रयोगलाई रोक्न तथा अर्गानिक जिल्लाको पहिचान कायम राख्न किसानलाई अनुदानमा जैविक प्रांगारिक मल वितरण गर्न थालिएको कृषि विकास कार्यालय जूम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।
उनका अनुसार सबै कागजात पुरा गरी प्रक्रियामा आएका किसान,कृषि फर्म,कृर्षक समुह, तथा कृषि सहकारीकालाई ५० प्रतिशत अनुदानमा जैविक मल वितरण गरिने छ । अनुदानमा मल लिनका लागि प्रक्रियामा आउन सात दिने सूचना जारी गरिएको छ । निर्धारित समय भित्र दर्ता हुन आएका किसानलाई मल दिईने छ ।
कृषि विकास कार्यालय जुम्लाको चालु आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई जैविक प्राङ्गारीक मल वितरण गर्न थालिएको प्रमुख अधिकारीले उल्लेख गरे ।
लुकिछिपी विषादी प्रयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रयास गरिरहेका छौ । उनले भने,‘अर्गानिक जिल्ला घोषणा भईसकेको जिल्लामा विषादी प्रयोग हुनु दुखद पक्ष हो । हाम्रो उत्पादनलाई पूर्ण रुपमा अर्गानिक र स्वादिष्ट बनाउन मलजल विउ भिजनदेखिनै ध्यान दिनु जरुरी छ ।’
जुम्लामा ३ रय ९६ बोरा जैविक मल आई पुगेको छ । प्रति किसानलाई ५० किलोदेखी ५ क्वीईन्टल सम्म मल दिने योजना छ । यदपी, किसानको माग र आबश्यकता मध्यनजर गरेर वितरण गरिने छ । भने प्रतिबोरा २५ सय रुपैया मुल्य परेपनि किसानले १२ सय ५० मै पाउने छन् । बाँकी ५० प्रतिशत रकम कार्यालयले व्यवहोरिदिने भएको छ । जैविक प्राङ्गारीक मल वितरण कार्यक्रमका लागि चालु आवमा आर्थिक वर्षमा ६ लाख ८० हजार रुपैयाँ विनियोजन भएको छ ।
धानमा ब्युटाक्लोर प्रयोग रोक्दै तातोपानी
जुम्लाको तातोपानी गाउँपालिकाले अन्नबालीमा रासायनिक विषादी ब्युटाक्लोर प्रयोगलाई रोक्न अभियान थालेको छ । अन्नबाली तथा फलफूलमा लुकिछिपि हुने विषादी प्रयोगलाई रोक्न अभियान थालेको हो । जुम्लामा अन्यबाली भन्दा धानबालीमा (ब्युटाक्लोर विषादी सबैभन्दा बढी प्रयोग गरेको छ । जेठ लागेसंगै जुम्लामा मार्सीधान रोपाई सुरु भएको छ । धान रोपिसकेपछि गोडमेल गर्दा सहज होस्,उत्पादन पनि बढी हुने आशामा किसानले लुकिछिपि विषादी प्रयोग गर्ने गरेका छन् ।
जसका कारण क्षणिक उत्पादन बढि भएपनि माटोको उर्वरा शक्ति घट्नुका साथै महिलाको स्वास्थ्यमा असर परेको देखिएको छ । भने धानको पराल खाँदा पशुचौपाय समेत विरामी परेका छन् । अर्गानिक घोषित जिल्लामा किसानले लुकिछिपी विषादी प्रयोग गरिरहेको र त्यसले माटो,महिला र पशुचौपायको स्वास्थ्यमा पार्ने प्रतिकुल असरलाई ध्यानमा राखेर लुकिछिपि हुने रासायनिक विषादी प्रयोगमा रोक लगाईएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए ।

एक सूचना जारी गर्दै तातोपानीमा आठै वटै वडा भित्र पर्ने लाछु ज्यूलो,लिताकोट,राँका,जर्मी,डागीबाडा,रावतबाडा,गौतमबाडा,गिडिखोला,एैरेनी लाम्रा र श्रीनगर लगायतका स्थानका ज्युलोमा धान खेती भईरहेको छ । यी मार्सी फल्ने ज्यूलोमा पूर्ण रुपमा ब्यूटाक्लोर प्रयोगमा रोक लगाईएको छ । झारनाशक विषादी (व्युटाकुलर)ले जलचरदेखि मानिस र पशुपक्षीलाई समेत असर गर्ने भए पनि किसानले यसको प्रयोगलाई निरुत्साहित गर्न कडाई गरिएको अध्यक्ष चौलागाँईको भनाई छ ।
तातोपानी गाउँपालिकाले धानबालीमा प्रयोग हुने विषादी (व्युटाकुलर) रोकथाम र नियन्त्रण गर्नका लागि कार्यपालिकाबाट निर्णय नै भईसकेको छ । अध्यक्ष चौलागाँईले भने,‘पालिका आठ वटै वडामा विषादी नियन्त्रणका लागि जनशक्ति खटाएका छौ । लुकिछिपी विषादी प्रयो गर्ने किसानलाई कारबाहीको दायरामा ल्याईने छ । भने गोप्य सूचना दिनेलाई पालिकाले पुरस्कारको समेत व्यवस्था गरेको छ ।’
धानमा आउने झार मार्न प्रयोग गरिने व्यु टाक्लोर नामक झारनासक रासायनिक विषादीको प्रयोगले माटोको उर्वरा शक्ति घट्ने र उत्पादकत्वमा गिरावट आउने,मानव स्वास्थ्य र पशुचौपायको स्वास्थ्यमा समेत असर गरेको देखिएको छ ।



