अनुदानको जैविक मल लिन कार्यालय पुगेका किसान । तस्बिरः कर्णाली मिसन
जुम्ला । जुम्लामा पहिलो पटक अनुदानमा वितरण गरिएको प्रांगारिक जैविक मल लिन किसानको घुईचो लागेको छ । सुरुमा मल लिन किसान आउँदैनन् की भन्ने चिन्ता गरिएकोमा चार दिनको अवधिमा अनपेक्षित घुईचो लागेको हो । १८ गतेदेखी वितरण सुरु गरिएकोमा चार दिनको अवधिमा एक सय २६ जना किसानले अनुदानको जैविक प्रांगारिक मल लिएका छन् ।
सात दिने सूचना प्रकाशन गरेको पाँचौ दिन सम्म पनि कोही किसान र कृर्षक समुह प्रक्रियामा आएका थिएन् । तर वितरण सुरु गरेको दोस्रो दिनमा निकै भिड लागेपछि मात्रा घटाएर मल वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।
उनले भने,‘जैविक प्रांगारिक मलमा किसानको आर्कषण देखियो । सुरुमा किसान लिदैनन् की भन्ने चिन्ता पनि थियो । तर अहिले मल अभाव भयो । प्रति किसानलाई ५० किलो मात्रै दिने योजना बनाएका थियौ । तर भिड बढेपछि सबैलाई समानुपातिक रुपमा २५ किलोका दरले मल बाढ्यौ ।’
जिल्लाका आठ पालिका मध्य चन्दननाथ नगरपालिकाका सबैभन्दा बढी किसान र कृर्षक समुहले मल लिएका छन् । भने गुठिचौर,तातोपानी,पातारासीका किसानले आशिंक रुपमा मल लिएका हुन् ।
बजारमा २५ सय रुपैया पर्ने ५० किलो मलको कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । बजारको भन्दा निकै सस्तोमा मल पाईने कुरा थाहा पाएपछि दोस्रो दिनबाट भिड लागेको र मुस्किलले व्यवस्थापन गरिएको कार्यालय प्रमुख अधिकारीले उल्लेख गरे ।
उनका अनुसार चार दिनको अवधिमा १ सय २६ जना किसानलाई १५ हजार ४ सय ५० क्वीईन्टल अर्थात ३ सय ९ बोरा मल वितरण गरिएको छ । जुम्लामा ३ सय ९६ बोरा जैविक मल खरिद गरेर ल्याइएको थियो । हाल ८७ बोरा अर्थात ४ हजार ३ सय ५० क्वीईन्टल मल मौज्दात रहेको छ ।
जैविकको मलको अस्वभाविक माग र खपतले रैथाने खेतीमा किसानको आर्कषण कायमै रहेको देखिएको छ । चन्दननाथका किसानले जैविक मल अत्यधिक रुपमा लिनुले पशुचौपाय पालनमा कमी आएको समेत देखिएको छ ।
सिधै मल कारखानासंग सम्पर्क गरी न्युनतम मुल्यमा खरिद गरेर मल जुम्ला ल्याइएको हुँदा किसानलाई बजारको भन्दा निकै सस्तोमा जैविक मल उपलब्ध गराइएको हो । स्याउ खेती,नर्सरी व्यवसाय,धान,जौ,गुह लगायतका खेतीपाती गर्ने किसानहरु अनुदानमा जैविक प्रांगारिक मल पाउँदा खुसी भएका छन् । रसायनिक मल प्रयोगमा प्रतिबन्ध भएको,पशुचौपाय पालन पनि घट्दै गएको अबस्थामा कार्यालयले प्रांगरिक मल वितरण गरेपछि किसान उत्साहित भएका हुन् ।
२०६४ सालमा १४ औँ जिल्ला परिषदबाट अर्गानिक जिल्ला घोषणा भईसकेको जुम्लाको पहिचान जोगाउन र रैथाने उत्पादनमा किसानलाई प्रेरित गर्न कृषि विकास कार्यालयले जैविक प्रांगारिक मल वितरणको कार्यक्रम ल्याएको हो । यस वर्ष जैविक मल वितरण कार्यक्रम प्रभावकारी र किसानको माग पनि भएकाले आगामी वर्ष समयमै मलको आपुर्ति गरिने सबै किसानलाई वितरण गर्ने कृषि विकास कार्यालयको योजना छ ।
मौज्दात रहेको मल सात दिने सूचना गरेको बेला निवेदन दिएका किसानका लागि राखिएको छ । सस्तोमा मल पाईने थाहा पाएपछि निवेदननै नदिएका किसानको भिड समेत लागेको थियो । कार्यालयले निवेदन नपरेका किसानलाई पनि मल उपलब्ध गराएको छ । भने निवेदन परेका किसानका लागि बोरा मल मौज्दात राखिएको छ ।



