जुम्ला । जुम्ला सहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा नेपाल टेलिकमको फाईबर नेट अबरुद्ध भएपछि नागरिकको दैनिकी कष्टकर बनेको छ । जुम्लामा करिब ३ दिन यता नेपाल टेलिकमको फोन तथा ईन्टरनेटले काम गर्न छोडेपछि दैनिकी कष्टकर बनेको हो ।
जुम्लामा नेपाल टेलिकमको फाईबर नेट प्रयोग कर्ताको संख्या छोटो समयमा ह्वात्तै बढेको छ । सस्तो र गुणस्तरीय भएपछि धमाधम फाईबर नेट प्रयोग गरेका उपभोक्ताहरु ईन्टरनेट अबरुद्ध भएपछि सास्ती पाएका छन् ।
नेपाल टेलिकमको भ्वाईस कल,डाटा तथा वाईफाई सबै सेवा अबरुद्ध हुँदा निकै सास्ती भएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले बताए । सूचना प्रविधि समयमा यसरी ईन्टरनेट अबरुद्ध हुँदा उपभोक्ताले मात्रै सास्ती पाएका छैनन् ।
उनले भने,‘असारको बेला कार्यालयहरुको भुक्तानीमा समेत असर परेको छ । ईन्टरनेट मार्फत हुने कामहरु सबै रोकिएका छन् । भने एक आपसमा कुराकानी गर्न समेत असहज भईरहेको छ ।’
ईन्टरनेट सेवा अबरुद्ध भएपछि विशेषगरी संचारगृह तथा दैनिक समचार सम्प्रेषण गर्ने संचारकर्मीहरु बढी प्रभावित भएका छन् ।
यता नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले एडीएसएस फाईबर नेटकाे केबलमा समस्या भएपछि जुम्ला,कालिकोट,दैलेख र मुगुमा ईन्टरनेट सेवा अबरुद्ध भएको जनाएको छ ।
निर्देशक डाक्टर कमल लामिछानेका अनुसार दैलेखहुदैँ मुगु सम्म ईन्टरनेट सेवा प्रवाह भईरहेको केबलमा क्षति पुगेकोले समस्या उत्पन्न भई ईन्टरनेट तथा एनटीटीभि सेवा अस्थायी रुपमा अबरुद्ध भएको हो ।
केबलमा देखिएको समस्या समधान गर्न र आगामी दिनमा त्यस्ता समस्या नदोहोरिन दिनका लागि दक्ष जनशक्ति परिचालन गरेर मर्मतको काम भईरहेको निर्देशक लामिछानेले जानकारी दिए ।
उनले भने,‘विग्रेको केबल मर्मत तथा वैकल्पिक फाईबर रुट संचालन पूर्वतयारी कार्यहरुलाई तिब्र रुपमा अघि बढाइएको छ । भने सेवा अबरुद्ध भएका फाईबर ईन्टरनेट सेवाका ग्राहकहरुको सेवा अवधि समेत थप गरिने छ ।’
ईन्टरनेट अबरुद्ध हुँदा पर्न गएको असुविधा प्रति समेत नेपाल टेलिकमले क्षमा मागेको छ । मर्मत कार्य सकुन्जेल सम्मका लागि धैर्य गरिदिन समेत अनुरोध गरेको छ । भौगोलिक रुपमा विकट कर्णालीका जिल्लामा सबैभन्दा बढी नेपाल टेलिकमकै नमस्ते सिम प्रयोग हुदँै आएको छ ।
जसका कारण टेलिकमको टावर तथा ईन्टरनेटमा समस्या आउँदा लाखौ कर्णालीबासी प्रभावित भएका छन् । छिटो भन्दा छिटो मर्मत गरेर सेवा संचालन गर्नुपर्नेमा नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतको जोड छ ।



