असिनाको वितण्डाः ७ हजार किसानका ५ लाख विरुवा नष्ट,१६ करोडको क्षति

यस वर्ष बीमा पनि नहुँदा मर्कामा किसान,राहतको लागि जोडदार माग
गत वैशाख र जेठमा महिनामा स्याउ बगैचामा परेको असिना पानी । तस्बिरः कर्णाली मिसन

जुम्ला । गत वैशाख र जेठमा परेको भिषण असिना पानीले जुम्लाको स्याउ खेतीमा ठूलो क्षति गरेको छ । स्याउ उत्पादनका हिसाबले आत्मनिर्भर जुम्लामा यस वर्ष उत्पादनमा ठुलो गिरावट आउने गरी असिना पानीले क्षति गरेको हो । गत बैशाख १७ गते र जेठ महिनाको ७ र ८ गते परेको भिषण असिनाले जुम्लाको आठै पालिकाको स्याउ बगैचामा क्षति पुराएको छ ।

कृषि विकास कार्यालय जुम्लाले संकलन गरेको तथ्यांक अनुसार असिना पानीले जिल्लाका ७ हजार १ सय ९२ जना किसानको स्याउ बगैचामा क्षति पुराएको छ । भने ५ लाख ८ हजार ४ सय २६ वटा स्याउ विरुवा असिनाले नष्ट भएका छन् । कूल क्षति भएका ५ लाख ८ हजार ४२६ विरुवा मध्य यसै वर्ष स्याउ फल्ने १ लाख ७५ हजार २०५ विरुवामा क्षति भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।

जुम्लाको कूल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा स्याउ खेती भईरहेको छ । तर असिनाले यस वर्ष २९ हजार २१ रोपनी क्षेत्रफलको स्याउ खेती पूर्ण रुपमा नष्ट भएको तथ्यांकले देखाएको छ । भने ५ लाख ८ हजारबढी स्याउ स्याउँका विरुवा नष्ट हुँदा झण्डै १६ करोड ६९ लाख १८ हजार ७९९ रुपैयाँ बराबरको स्याउमा क्षति पुगेको कार्यालय प्रमुख अधिकारीले उल्लेख गरे ।

उनले भने,‘असिनाले क्षति पुराएपछि आठै पालिकामा जनशक्ति खटाएर क्षतिको लगत संकलन गरेका थियौ । यति धेरै क्षति हुने अनुमान गरेका थिएनौ । तर तथ्यांकले जुम्लामा यस वर्ष स्याउ दोब्बरले घटने देखिएको छ । असिनाले कूल स्याउ खेती भएको क्षेत्र ५१ प्रतिशत बगैचामा क्षति गरेको छ ।’

यसै वर्ष स्याउमा ठुलो क्षति हुनु र यसै वर्ष शिखर ईन्सोरेन्स कम्पन्नीले स्याउ बीमा गर्न ढिलाई गरेपछि किसान मर्कामा परेका छन् । गत सालकै असिना र खडेरी बीमा नपाएको भन्दै स्याउ किसान आन्दोलित छन् । बीमा कम्पन्नीले सरकारबाट पाउनु पर्ने ८० प्रतिशत अनुदान बापतको ३२ करोड निकासा नआउँदा भुक्तानी गर्न नसकिएको बताएको छ । ३२ करोड भुक्तानी नआउँदा सम्म भुक्तानी र नयाँ स्याउ बीमा गर्न नसकिने समेत बताएको छ । सरकारले राहत नदिने,बीमा कम्पन्नीले तत्काल बीमा नगर्ने असिनाले लाखौ विरुवा क्षति गरिरहेको अबस्थामा जुम्लाका किसान दोहोरो मारमा परेका छन् ।

कुन पालिकामा कति क्षति ?
बैशाख र जेठमा परेको भिषण असिनाले जुम्लाका आठ स्थानीयतह मध्य सबैभन्दा बढी क्षति चन्दननाथ नगरपालिकामा गरेको देखिएको छ । कृषि विकास कार्यालयको तथ्यांकअनुसार चन्दननाथ नगरपालिकामा ११ सय ४४ जना किसानका एक लाख ४४ हजार एक सय विरुवामा नष्ट हुँदा ३ करोड ८९ लाख ७ हजार बराबरको क्षति भएको छ ।

त्यस्तै तातोपानी गाउँपालिकामा १२ सय ७९ जना किसानको ८२ हजार ९२० वटा विरुवा नष्ट हुँदा ३ करोड ७३ लाख १४ हजार,तिला गाउँपालिकामा ३१२ जना किसानको ३० हजार ६५७ विरुवा नष्ट हुँदा एक करोड ६९ लाख ८ हजार ५२६ रुपैया बराबरको क्षति भएको छ ।

त्यसैगरी हिमा गाउँपालिकामा असिनाले १२ सय २ किसानको ७२ हजार ८९२ वटा स्याउका विरुवा नष्ट गर्दा आर्थिक क्षति एक करोड ७७ लाख १२ हजार ७५६ रुपैयाको क्षति भएको छ । उता सिंजा गाउँपालिकाका ३ सय किसानका ७ हजार ५० विरुवामा क्षति पुग्दा किसानले १४ लाख १७ हजार ५ सय बराबरको घाटा व्यवहोरेको कृषि विकास कार्यालयको प्रक्षेपण छ ।

साथै कनकासुन्दरी गाउँपालिमा एक हजार १५ जना किसानका ८७ हजार ३२८ वटा बोटहरु नष्ट हुँदा २ करोड ५९ लाख ३६ हजार ४१६ रुपैयाँ,पातारासी गाउँपालिकामा ९३० जना किसानको ९७ हजार ५ सय विरुवामा क्षति पुग्दा १ करोड ८४ लाख २७ हजार ५ सय बराबरको क्षति व्यवहोरिरहेमा छन् ।

जिल्लाकै सबैभन्दा ठुलो स्याउ बगैचा भएको गुठिचौर गाउँपालिकाका ३१० जना किसान असिनाबाट पिडित भएका छन् । ३१० जना किसानका ६१ ह्जार १३० वटा विरुवा नष्ट हुँदा एक करोड ६५ लाख ५ हजार एकसय बराबरको स्याउमा क्षति गरेको छ ।
कृषि विकास कार्यालय जुम्लाले एक महिनाबढी समय लागेर गाउँ गाउँमा पुगेर तथ्यांक संकलन गरेको छ ।

प्राप्त तथ्यांकले विगतमा सरकारले बजार सुनिश्चित गरेन्,मुल्य पाईएन् समयै सिफारिस पऐनौ भन्ने किसानहरु यस वर्ष झनै घाटामा गएका छन् । बीमा कम्पन्नीले बीमा दाबी भुक्तानी दिन आलटाल गरिरहको र बीमा गर्न कठिनाइ रहेको भनिरँदा असिनाले स्याउमा क्षति हुँदा जुम्लाका किसान स्याउ खेतीबाटै विस्तापित हुने अबस्था आएको छ । असिनाबाट प्रभावित ७ हजार १९२ जना किसान किसान राहत तथा स्याउ खेतीमा पुर्नस्थापनाको प्रतिक्षामा छन् ।

प्रकाशित मिति : २०८२ असार २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस