कर्णाली प्राविधिक शिक्षालयको ४५ औँ वार्षिक उत्सव सम्पन्न

जुम्ला । कर्णाली प्राविधिक शिक्षालयको ४५ ओैँ वार्षिक उत्सव विभिन्न कार्यक्रम मनाईएको छ । सोमबार कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा शिक्षालयको ४५ ओैँ वार्षिक उत्सव सम्पन्न भएको हो । वार्षिक उत्सवका अबसरमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । शिक्षालयलाई विभिन्न तवरले सहयोग प्रदान गर्ने निकायलाई समेत कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले देशकै जेठो शिक्षालयको गरिमा बचाउन सबै पक्ष गम्भीर हुनु पर्ने बताए । उक्त शिक्षालयको पहिलो ब्याच समेत रहेका प्रदेश सभा सदस्य शाहीले भने,‘यहाबाट उत्पादित जनशक्ति देशका उच्च ओहोदामा रहेका छन् । शिक्षालयको महत्व र गरिमा जोगाउने हाम्रो दायित्व हो । शिक्षालयको विकासका निम्ति प्रदेश सरकारसंग आबश्यक पहल गर्न म सधै लाग्ने छु ।’

शिक्षालयको भौतिक तथा शैक्षिक विकासमा बजेटको अभाव हुन नदिनका लागि प्रदेशका सरकारसंग जोडदार माग गर्ने समेत प्रतिबद्वता गरे । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले कर्णाली प्राविधिक शिक्षालय देशभरीकै जेठो शिक्षालयका रुपमा आफूलाई अब्बल बनाएकोले यो संस्था प्रति जुम्लाबासीले गर्व गर्नु पर्ने बताए ।

शिक्षालय संचालक समितिका अध्यक्ष समेत रहेका सिडिओ शर्माले यहाँको शिक्षालाई अझै विश्वासिलो र गुणस्तरीय बनाउनका लागि पूर्वाधार विकासदेखि नियमित पठनपाठनमा ध्यान दिन समेत सुझाव दिए । स्थानीय उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर व्यहारिक शिक्षामालाई जोड दिन पनि अपिल गरे ।

हाल शिक्षालयमा विभिन्न विषयमा ४ सय ९० जना विद्यार्थी अध्ययनरत छन् । जसमा सिभिल तर्फ १३५ जना,फारमेसी तर्फ ११४ जना, एजी प्लान्ट साईन्स तर्फ १२८ जना, फरेष्टी तर्फ ७५ जना र एचए तर्फ ३८ जना गरि कूल ४९० विद्यार्थी अध्ययनरत छन् ।
कर्णाली प्रदेशका १० वटै जिल्ला सहित देशभरका अन्य जिल्लाबाट पनि विद्यार्थी प्राविधिक शिक्षा अध्ययनका लागि जुम्ला शिक्षालय प्रमुख टेकेन्द्र थापाले बताए ।

उनका अनुसार शिक्षालयका ४५ वर्ष पूराना भवन मर्मतमा बजेट अभाव रहेको छ । ४५ ओैँ वार्षिक उत्सवमा जिल्लाबासी तथा सरकारी तथा गैससका प्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ साउन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस