जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नं १ स्थित गडिगाउँमा संचालित चुकेनी जलविद्युत आयोजनाको ६० प्रतिशत विद्युत खेर गईरहेको पाईएको छ । एक मेघावाट क्षामताको चुकेनी जलविद्युत आयोजनाको ४० प्रतिशत मात्रै विद्युत खपत भईरहेको र ६० प्रतिशत विद्युत खपत हुन नसेकर खेर गईरहेको भेटिएको हो ।
वैकल्पीक उर्जा प्रर्बद्धन केन्द्रको विज्ञ टोलीले गरेको अध्ययन अनुसार पातारासी गाउँपालिका सात वटै वडा,चन्दननाथ नगरपालिकाका १० वटै वडा र गुठिचौर गाउँपालिकाका ३ वटा वडा सहित जिल्लाभर ९ हजार उपभोक्ताले विद्युत उपभोग गरेपनि ६० प्रतिशत विद्युत खेर गईरहेको छ ।
सोमबार जुम्लामा आयोजित चुकेनी खोला साना जलविद्युत आयोजनाको दिगोपन विषयक अन्तरक्रियामा प्रस्तुत प्रारम्भीक अध्ययन रिपोर्ट अनुसार जिल्लाभर मुस्किलले ४ सय किलोवाट विद्युत मात्रै प्रयोग भईरहेको उर्जा विज्ञ सन्दिप पोखरेलले बताए । उनका अनुसार चुकेनी जलविद्युत आयोजना संचालनपछि जुम्लाको विद्युत समस्या अन्त्य भएपनि उत्पादनको तुलनामा विद्युत उपभोग निकै न्यून रहेको छ ।
अन्य जिल्लामा एक मेघावाट विद्युतकै वार्षिक आम्दानी ५÷६ करोडसम्म हुने गरेको छ । उनले भने,‘चुकेनी जलविद्युतको बत्ती खपत थोरै भएपछि आम्दानी पनि हाल सम्म करिब २ करोडमात्रै भएको छ । विद्युत क्षामतानुसार आम्दानी कम हो । भने विद्युत प्रवाहनुसारको आय ठिकै हो । तर विद्युतको प्रयोग बढाउन जरुरी छ ।’
वैकल्पीक उर्जा प्रर्बद्धन अध्ययननुसार हिउँद पुष माघमा बढीमा ७ सय देखी ७५० किलोवाट प्रयोग हुने र अन्य महिनामा बढीमा ४ सयकिलोवाट मात्रै विद्युत प्रयोग हुने गरेको छ । ९ हजार उपभोक्ताले विद्युत प्रयोग गरेपनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३ सय किलोवाट विद्युतको लोड रहेको छ ।
विद्युत खपत बढाउन जोड
कूल ४० करोड लगानीमा निर्माण भएको चुकेनी जलविद्युत आयोजनाको विद्युत खपत बढाउन सरोकारवालाले जोड दिएका छन् । कुनै बेला बत्तीका लागि क्याण्डिल जुलुस गर्नुपर्ने जुम्लामा अहिले बत्ती खपत बढाउनु पर्ने अबस्था आउनु सुखद पक्ष हो ।
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले भने,‘चुकेनीको विद्युतलाई अधिकतम रुपमा प्रयोग गर्न साना लगानीका उद्योग कलकारखाना स्थापना गर्नु जरुरी छ । अहिले विद्युत खपत नभएपनि भविष्यमा विद्युत अपुग हुन्छ । अब कार्यालयमा एसी जडान, सडक बत्ती जडान, ईन्डक्स चुलोको प्रयोग, जडिबुटि उद्योग स्थापना लगायत स्याउ प्रशोधन उद्योग स्थापना लगायतका क्षेत्रमा विद्युत खपत बढाउन आबश्यक ।’
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले कृषि,पर्यटन,होटल व्यवसाय, कर्णाली प्रतिष्ठानमा विद्युत खपत बढाएर ऋणमा निर्माण गरिएको आयोजनाको आम्दानी बृद्धि गर्नुपर्ने बताए ।
अहिले खेर गएपनि केही वर्षपछि अपुग हुने उल्लेख गरे । अब दिगो व्यवस्थापन तथा दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिनु पर्ने बताए । विद्यतलाई उज्यालोसंग मात्रै सिमित नराखी कृषि र खाद्य प्रणालीलाई सुधार गर्न विद्युतको प्रयोग बढाउन जरुरी छ । उनले भने,‘सिँचाई, उद्योग संचालन,प्रशोधन,विद्युतबाट चल्ने सिँचाई,ग्रेडिङ मेसिन संचालन लगायतका आयोजना संचालनमा विद्युतको प्रयोग बढाउन जरुरी छ।’
करिब १५ करोड लगानीमा कर्णालीकै ठुलो कोल्ड स्टोर बनाएका देउऋषि चौलागाँईले विद्युत अभावमा रोकिएको कोल्ड स्टोरलाई सहुलियतमा विद्युत दिन आग्रह । अत्याआबश्यक क्षेत्रमा डेलिकेट लाईन वितरण गर्नुपर्ने उनको माग छ ।
उर्जा विज्ञ सन्दिप पोखरेलले विद्युत खपत न्यून भएकै कारण चुकेनी मासिक आम्दानी १५÷१६ लाख मात्रै रहेको बताए । अब विद्युत खपत बढाउन आबश्यक देखिएकाले जनप्रतिनिधि,उद्योगी व्यवसायी, लगायत स्थानीय बसेर जुम्लाको क्रिटिकल लोड हुने क्षेत्र केके हुन प्रथामिकीकरण गर्न सुझाव दिए ।
स्वास्थ्य, कृषि,उद्योग, होटल व्यवसाय लगायतका क्षेत्रको प्रथामिकीकरण गरेर विद्युतको खपत बढाउनु पर्नेमा जोड दिए । यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विद्युत अभावमा मासिक लाखौको ईन्धन खर्च भईरहेकाले आबश्यक विद्युत लिन तयार रहेको बताएको छ ।
पूर्वाधार निर्माण,दक्ष जनशक्ति व्यवस्थापा, तथा विद्युत आयोजनाको दिगोपनका लागि स्थानीय सरकार संग बसेर क्रिटिकल क्षेत्र निर्धारण गर्न चाडै छलफल गर्ने जुम्लामा तयारी भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख रामआशिष शाहले चुकेनी आयोजनालाई दिगो र व्यवस्थित बनाउन विद्युत प्राधिकरण लागि परेको बताए ।
उनका अनुसार कैलाश कोल्ड स्टोर, ईभी चार्जिङ सेन्टर नेपाली सेनालाइ डेलिकेट लाईन दिन घुघुति आयोजना र चुकेनी आयोजना मा व्यवस्थित बनाउन जरुरी रहेको छ । केही वर्षअघि विद्युत अभावमा आन्दोलन गर्ने जुम्ला अहिले विद्युतमा आत्मनिर्भर बन्दै गएपछि जुम्लाबासी खुसी भएका छन् ।



