
जुम्ला –जुम्लामा जेनजी पुस्ताको आन्दोलनसंगै भएको तोडफोड र आगजनीले पछि करोड बढीको क्षति भएको छ । भदौ २४ गते भएको आन्दोलनमा चन्दननाथ नगरपालिका सहित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्यि प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी कार्यालयमा तोडफोड आगजनी गरेका थिए । जसमा चन्दननाथ नगरपालिकाका १७ वटा सवारी साधनहरुमा तोडफोड तथा आगजनी गरिएको थियो ।
पार्टी कार्यालय तथा चन्दननाथ नगरपालिकामा तोडफोड तथा आगजनी गरि कुल १ करोड २८ लाख बराबरको क्षति भएको हो । चन्दननाथका १७ वटा सवारीमध्य ६ वटा चार पाँग्रो सवारी पूर्ण रुपमा तोडफोड गरिएको थियो । भने ११ वटा मोटरसाईकल मध्य ६ वटा आगजनी गरिएको थियो ।
चन्दननाथ नगरपालिकाले आगजनी र तोडफोडले झण्डै एक करोडको क्षति भएको जनाएको छ । एकीकृत सेवा कार्यालयका सामाग्री, १७ सवारी साधन झ्याल ढोला लगायतमा भएको तोडफोड आगजनीले कुल ९८ लाख ७३ हजार तीन सय ८३ रुपैयाँ बराबरको क्षति भएको चन्दननाथ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताए ।
उनका अनुसार सबैभन्दा बढी ७९ लाख ७३ हजार मूल्य बराबरको सवारी साधनमा क्षति भएको छ । भने, मेसिनरी तथा कार्यालयका सामग्रीहरु १३ लाख र अन्य ६ लाख बराबरको भौतिक संरचनामा क्षति भएको प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले जानकारी दिए ।
नगरप्रमुख राजुसिंह कठायतले जेनजी आन्दोलनका नाममा नगरपालिकाले ठुलो क्षतिको सामाना गर्नुपरेको बताए । उनले भने, ‘कार्यालयका कुनै पनि झ्याल,ढोकाका सिसा छैनन् । सवारीसाधनमा उत्तिकै तोडफोड छ । कार्यालय प्रवेश गर्दा नै उदेग लागेर आउने गर्छ ।’
नगरपालिकाले संकलन गरेको विवरणअनुसार दमकल,एम्बुलेन्स,शववहान,डोजर,महिन्द्रा जिप,हाइलेक्स कार र स्कारपियोमा समेत तोडफोड भएको थियो । प्रदर्शनकारीहरुले घन,साबेल र ढुंगाले तोडफोड गरेका थिए । ११ वटा मोटरसाइकल र स्कुटरमा तोडफोड भएको थियो । यसैगरी, कार्यालयभित्र रहेका डेक्सटप कम्प्युटर, एलसीडी, एकीकृत सेवा प्रणालीको टोकन मेसिन, डिजिटल नागरिक वडापत्र, प्रिन्टर, वाटर डिस्पेन्सर, फर्निचर, नगर प्रहरीका सामग्रीलगायत पूर्णरुपमा नष्ट छन्
त्यसैगरी आगजनी र तोडफोड पछि नेकपा एमाले जुम्लाको पार्टी कार्यालयमा १८ लाखको क्षति भएको पार्टी सचिव मान बहादुर खत्रीले बताए । आगजनी र तोडफोड पछि कार्यालय पूर्ण रुपमा ध्वष्त भएको छ ।
आगलागीबाट फर्निचर, डेस्टप,ल्याप्टप–२ थान, स्क्यानर, कुर्ची, किताब (१६ हजार थान), कुर्ची २५० थान,दराज–७ फोटोकपी मेसिन–१ टेबुल ८ वटा लगायत झ्या ढोका गरी १८ लाख बराबरको क्षति भएको पार्टी सचिव खत्रीले जानकारी दिए । पार्टी कार्यकर्ताबाट सहयोग संकलन गरि कार्यालय पुर्ननिर्माण गरिने छ ।
त्यसैगरी नेपाली काँग्रेस पार्टी कार्यालय जुम्लाको ८ लाख बराबरको क्षति भएको उपसभापति कार्मा बुढाले बताए । उनका अनुसार १५० कुर्चि, सोफा,झ्याल ढोका, टेबुल सबै जलेर नष्ट भएका छन् ।
भने राष्ट्यि प्रजातन्त्र पार्टी कार्यालय आगलागीबाट ३ लाख ५० हजार बराबर क्षति भएको छ । २०६०÷६१ देखिका महत्वपूर्ण कागजात सहित फर्निचर सबै जलेर नष्ट भएको पार्टी अध्यक्ष बेद बहादुर शाहीले बताए ।
साथै नेकपा माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीको कार्यालयमा आंशिक मात्रै क्षति भएको जनाएका छन् । नेमकिपाको पार्टि कार्यालयबाट बोर्ड मात्रै निकालेका छन् । माओवादीको पार्टि कार्यालयमा कुनै क्षति नभएको पार्टि सचिव नवीन शर्माले बताए ।