जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले असारे विकासलाई निरुत्साहित गर्दै पूर्वाधार निर्माणमा जोड दिदै आएको छ । जिल्लामै पहिलो पालिकाका रुपमा श्रमदान अभियान संचालन गरेको तातोपानी पूर्वाधार विकास, कार्यसम्पादन गति दिदैँ जेठमै अन्तिम भुक्तानी दिएर समेत असार विकासलाई रोेकेको छ ।
जसले गर्दा पूर्वाधार विकासमा तातोपानीले गति लिएको हो । समुदाय स्तरबाट माग भई आएका योजना कार्यान्वयनमा जोड दिएको तातोपानी गाउँपालिकाले बितेको एक वर्षमा एक सय ६२ वटा योजना निर्माण गरेको छ । सोमबार आयोजित गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा तातोपानीले एक सय ५९ वटा योजना निर्माण गरेको योजना शाखा प्रमुख ओम बहादुर चन्दले बताए ।
उनका अनुसार गत आर्थिक वर्षमा वित्तिय समानीकरण अनुदान तर्फका १२३ वटा योजना मध्य १२१ योजना सम्पन्न भएका छन् । भने प्रदेश सशर्त अन्तरर्गत १४ योजना छनोट भएकोमा १४ वटै योजना सम्पन्न भईसकेका छन् । त्यस्तै संघीय सशर्त तर्फ ४ वटा योजना छनोट भएकोमा ३ वटा योजना सम्पन्न भएका थिए । संघीय विशेष अनुदान तर्फको एक योजना विनियोजन भएकोमा कार्यान्वयन भईसकेको छ ।
त्यसैगरी, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत १२ वटा र मुख्यमन्त्री रोजगार कार्यक्रमका ८ वटा योजना गरी गत वर्षमा मात्रै १ सय ६२ वटा योजना निर्माण सम्पन्न भएको योजना शाखाले जानकारी दिएको छ । गत आ.व.मा पुँजीगत तर्फ विनियोजन गरिएको १७ करोड ४३ लाख १५ हजार मध्य १३ करोड २० लाख ५४ हजार ५२८ रुपैयाँ खर्च भएको छ । भने चालु तर्फको ३५ करोड ५७ लाख ६४ हजार ५०९ रुपैयाँ मध्य ३० करोड बढी खर्च भएको छ । गत आवमा ३२ लाख राजश्व संकलनको लक्ष्य लिइएकोमा ३१ लाख ७३ हजार राजश्व संकलन भएको थियो ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाँईले पालिकाको कृषि,शिक्षा,स्वास्थ्य तथा पर्यटन विकासका लागि उल्लेखीय काम भएको बताए । श्रमदान अभियानबाट दर्जनौ योजना निर्माण भएका छन् । उनले भने,‘शिक्षामा सुधार ल्याउन दरबन्दी मिलान, विद्यार्थीको टाउका गन्ने, नमुना भान्सा घर निर्माण गर्ने, शिक्षकको क्षामता विकास गर्ने जस्ता कार्यक्रम गरेका छौ । पाँच वर्षभित्र शिक्षामा नमुना पालिका बनाउने संकल्प पुरा गर्ने छौ । सबैको साथको खाँचो छ ।’
गाउँपालिकाको आन्तरिक आम्दानी लक्ष्य अनुसार अनुसारमा स्थानीयकै असहयोग नरहेको बताए । तातोपानीमा नदीजन्य वस्तुको उत्खनन् भईरहेको र करोडौ राजश्व गुमिरहेकाले त्यसलाई नियमन गर्न पालिकाले प्रयास गरिरहेको अध्यक्ष चौलागाँईको भनाई छ । कार्यविधि तयार भईसकेको र अब पुर्ण कार्यान्वयन गरेर नदीजन्य वस्तुको उत्खनन्लाई व्यवस्थित बनाईने उल्लेख गरे ।

गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले सामाजिक रुपान्तरण तथा महिलाको शसक्तिकरणका लागि उल्लेखीय काम भएको बताईन् । सिमित स्रोत साधनका बीच नागरिकका आबश्यकता पुर्ति गर्न पालिकाले हरसम्भव प्रयास गरिरहेको उल्लेख गरिन् । कठिनसार्वजनिक सुनुवाईले कार्यसम्पादनलाई प्रभावकारी बनाउन तथा आगामी योजना निर्माण गर्न टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले सम्पन्न भएका सबै योजना समुदायलाइ हस्तान्तरण गरिएको बताए । योजनाको दिगोपन तथा संरक्षणका लागि योजनाहरु सम्बन्धित वडा र उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
उनका अनुसार पालिकाका ३३ सय घरधुरी मध्य २१ सय घरधुरीको घरबीमा गरिएको छ ।
आर्थिक सुशासन कायम गर्न तथा नागरिकको गुनासो सुनुवाईलाई प्रभावकारी बनाउन नियमित सार्वजनिक सुनुवाई तथा समिक्षा गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिए । स्थानीय सरकारको अनुभुति हुने गरी विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी रुपमा आगामी दिनमा आफ्ना कामहरु अघि बढाउने समेत साँझा प्रतिबद्धता व्यक्त गरिएको छ ।



