नवर्निमित कलात्मक गणेश मन्दिर निर्माणको उद्घाटन, धार्मिक पर्यटन प्रर्बद्धनमा जोड

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकालाई एतिहासिक धार्मिक पर्यटकीय शहर बनाउन पूर्वाधार निर्माणलाई अघि बढाइएको छ । कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरबनाथ मन्दिरले चिनिएको जुम्लाको एकमात्र नगरपालिका चन्दननाथलाई पर्यटकीय शहर बनाउने प्रयास अघि बढेको छ ।

चन्दननाथ नगरपालिकाले आफ्नो आन्तरिक तथा बाह्य लगानी जुटाएर चन्दननाथ नगरपालिका भित्र धार्मिक पर्यटन पूर्वाधार निर्माण गर्दै आएको छ । केही समय अघिबाट बजारको पुरानै स्वरुप फर्काउन सिलेट ढुंगा बिछ्याउने काम सम्पन्न गरेको नगरपालिकाले हालै २० लाख बढीको लगानीमा एतिहासिक गशेण मन्दिर निर्माण गरेको छ ।

ललितपुर महानगरपालिकाको २० लाख सहयोगमा चन्दननाथ नगरपालिकाले जुम्ला सदरमुकामको बीच बजारमा कलात्मक गणेश मन्दिर निर्माण गरेको हो । नवनिर्मित मन्दिरको मंगलबार विधिवत पुजाआजा गरी उद्घाटन गरिएको छ । ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनद्धारा उक्त मन्दिरको उद्घाटन गरिएको हो ।

चन्दनाथ नगरपालिका र ललितपुर महानगर पालिकाको भगेनी सम्बन्ध रहेको र चन्दननाथलाई पर्यटन शहर बनाउने योजना अनुरुप महानगरले २० लाख सहयोग गरेको थियो । सोही बजेटबाट उपभोक्ता समिति मार्फत एतिहासिक कलात्मक गणेश मन्दिर निर्माण गरिएको हो ।

भाषा, सांस्कृतिको जननी जुम्ला त्यसमा पनि एतिहासिक चन्दननाथ नगरपालिकालाई पर्यटकीय शहर बनाउन महानगर सधै सहयोग गर्ने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले बताए । मन्दिरका उद्घाटनका लागि जुम्ला पुगेका प्रमुख महर्जनले भने,‘ललितपुर भक्तपुर तिर बनेकै जस्तो कलात्मक मन्दिर जुम्ला बनेको छ । प्रसिद्ध चन्दननाथ भैरबनाथ मन्दिरसंगै गणेश मन्दिरले पनि पर्यटकलाई आर्कषण गर्ने अपेक्षा छ ।’

साथै सिमित स्रोत साधनका बीच चन्दननाथ नगरपालिकाले पूर्वाधार विकास, पर्यटन प्रर्बद्धन लगायतका क्षेत्रमा गरेको कामको प्रसंशा गरे । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले चन्दननाथमा धार्मिक पर्यटनको सम्भावना प्रचुर रहेपनि लगानी बढाउन नसकेको बताए ।

जुम्ला बजारमा आउने पर्यटकलाई आर्कषित गर्र्ने खालको पूर्वाधार निर्माणमा नगरपालिकाले जोड दिने उल्लेख गरे । ललितपुरबाटै शिल्पकारहरु ल्याएर आर्कषण कलात्मक मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष नवराज श्रेष्ठले बताए । उनका अनुसार साढे चार महिना लगाएर मन्दिर निर्माण गरिएको छ । जुम्लाकै ढुंगा कुदेर गणेश भगवानको मुर्ति प्रतिस्थापन गरिएको छ ।

उनले भने,‘मन्दिर निर्माणका लागि २० लाख विनियोजन गरिएपनि काम करिब २२ लाख बराबर गरेका छौ । यदपी नगरपालिकाले २० लाखनै भुक्तानी दिने भनेको छ । भुक्तानी हुन बाँकीनै छ ।’ जुम्ला सदरमुकाम खलंगाको मुख्य बजारमा निर्माण गरिएको कलात्मक गणेश मन्दिरले बजारको सुन्दरतालाई थप बढाएको छ । जे्नजी आन्दोलन पछि दशैँ बिदाले भुक्तानी नभएको र अबको केही दिनमा मन्दिर निर्माणको सबै भुक्तानी गरिने प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताए ।

चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले कर्णाली प्रदेश राजधानी सुर्खेतपछिको दोस्रो ठुलो शहरका रुपमा रहेको खलंगा बजारलाई पर्यटक भित्रयाउन स्रोतले भ्याए सम्म पर्यटनमा लगानी बढाएको बताईन् । उनका अनुसार एतिहासिक मन्दिरसंगै यसै वर्षमा बसपार्क नजिक स्याउ चोक समेत निर्माण गरिएको छ । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गरेको छ ।
प्रसिद्व चन्दननाथ भैरबनाथ मन्दिरले प्रख्यात जुम्लामा धार्मिक पर्यटन प्रर्बद्वनमा गणेश मन्दिर निर्माणले थप टेवा पुराउने स्थानीय भक्तजनको विश्वास छ ।

प्रकाशित मिति : २०८२ असोज २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस