जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले सुशासन अभियान चलाउने भएको छ । जेन्–जी आन्दोलनले पाठ सिकाएको भन्दै पालिकाका हरेक कामहरुलाई मितव्यायी र जनमुखी बनाउन सुशासन अभियान चलाउने भएको हो ।
बुधबार पालिका भवनमा पत्रकार सम्मेलन गर्दै गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले विकास निर्माण चुस्त बनाउने, सेवा प्रवाहलाई छिटो छरितो बनाउन, बजेट खर्च मितव्ययी गर्न, कर्मचारी तथा जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भन्दै समृद्ध पालिका बनाउन सुशासन अभियान चलाईएको घोषणा गरे ।
सुशासन र पारदर्शितामा गुठिचौरलाई जुम्लाकै नमुना बनाउनका लागि विशेष योजना बनाएर अघि बढ्ने तयारी भईरहेको अध्यक्ष बुढाले बताए ।
उनले भने,‘अब गुठिचौरले विकास निर्माणलाई गुणस्तर बनाउने, टुक्रे योजनालाई निरुत्साहित गर्ने, जथाभावी हुने खाना खर्च तथा सवारी साधनको प्रयोग लाईव्यवस्थित गरिने छ । ईन्धन र सवारी साधनको प्रयोगका लागि लकबुक बनाईने छ । भने विकास र सेवा प्रवाहका नाममा हुने सबै ढिला सुस्तीको अन्त्य गरिने छ ।’
विकासका नाममा हुने भ्रष्टचारको न्युनिकरण, एउटा कामका धेरै पटक धाउनु नपर्ने, आबश्यकतामुखी योजना निर्माण, फजुल खर्चमा रोक, अनुउत्पादन क्षेत्रमा लगानी घटाउने जस्ता विषयमा वालिकाले विशेष ध्यान दिने समेत उल्लेख गरिएको छ ।साथै गुठिचौरका अध्यक्ष बुढाले अब उप्रान्त आफूले प्रयोग गर्दै आएको सरकारी गाडी समेत प्रयोग नगर्ने घोषणा गरे ।
प्रमुख प्रशासकीय अधिकृतलाई गाडीको चावी समेत हस्तान्तरण गरि सकेको उल्लेख गरे ।साथै गाउँपालिकाका सबै कर्मचारीलाई अनिवार्य रुपमा पोशाकमा आउन, विहान १०–४ बजे सम्म कार्यालयमा काम गर्न,जथाभावी खाजा नास्ता नखान निर्देशन दिए ।
कर्मचारी तथा जनप्रतिनिधिले अबदेखि कसैले कामको अतिरिक्त सुविधा (टिओ) नदिने समेत घोषणा गरे । भने प्राविधिक कर्मचारीहरुलाई दिईदै आएको फिल्ड भत्ता समेत नदिने जानकारी दिए । पालिकामा कार्यरत करार कर्मचारीहरुको बुधबारदेखिनै करार सम्झौता रद्द गरिने उल्लेख गरे ।
त्यसैगरी कर्मचारीले लकबुक बिना पालिकाका सवारी चलाउन नपाउने, घरमा लिन नपाउने तर त्यसको विकल्पमा पालिकामै आवासको व्यवस्थापन गरिदिने र आफुले चढ्ने गाडी कर्मचारीको ओसार पोसारमा प्रयोग गर्ने उल्लेख गरे ।साढे तीन वर्षको अवधिमा पालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरिएको जानकारी दिए ।
पर्यटकीय गन्तव्य ठाकुर ज्युसम्म सडक निर्माण, गुठिचौरका गाउँगाउँमा सडक पुगेका छन्, प्याराग्लाईडिङ महोत्सव, मदिरा नियन्त्रण अभियान संचालन, पर्यटन प्रर्बद्वन, वडा भवन निर्माण लगायतका काम भएको जानकारी दिए ।प्रमुख प्रशासकीय अधिकृत माया लक्ष्मी बुढाले गाउँपालिका अध्यक्षले घोषणा गरेका सबै कुरा कार्यान्वयन गर्नुपर्ने आफ्नो नैतिक जिम्मेवारी रहेको बताईन् ।
पालिकामा आर्थिक सुशासन कायम गर्न, विकास निर्माणलाई चुस्त बनाउने र जनताप्रति कर्मचारी र जनप्रतिनिधि उत्तरदायी बन्ने सवाल कार्यान्वयन गर्न कर्मचारी तयार रहेको उल्लेख गरिन् ।साथै गाउँपालिकाका प्रवक्ता अर्जुनकुमार महताराले गुठिचौरमा सुशासन अभियान चलाउने विषय कार्यपालिकाबाटै पारित गरेको बताए ।
उनले करार कर्मचारीलाई हटाउने, प्राविधिक कर्मचारीलाई प्राविधिक भत्ता नदिने विषय सच्याउन अनुरोध गरे । सुशासन अभियानले गुठिचौरलाई जिल्लाको अब्बल पालिका बन्ने विश्वास छ ।
पत्रकार सम्मेलनमा सहभागी एक स्थानीयले जनप्रतिनिधि कर्मचारीले गाडी नचढे फरक परेन तर पालिकाका नागरिकलाई एम्बुलेन्स तैथान राख्न सुझाव दिए । सस्तो लोकप्रियताका लागि घोषणा गर्नु भन्दा नतिजामुखी काम गर्न समेत अनुरोध गरे । जनताका आबश्यकता अनुसारका विकास निर्माण तथा जनमुखी सेवा प्रवाहमा जोडदिनु पर्ने उनको भनाई छ ।



