गुठिचौरमा पक्की पूल निर्माण, न्याउरीघाट र लुममा पनि बन्दै

जुम्ला । जुम्लाका दुर्गम बस्तीमा यातायातको पहुँच विस्तारका लागि पूर्वाधार विकास कार्यालय जुम्लाले पक्की पूल निर्माणमा जोड दिएको छ । स्थानीयतह संचालनपछि गाउँ गाउँमा सडक पुगेपनि पूल नहुँदा प्रयोग विहिन बनेका सडकमा गाडी गुडाउन र नागरिकको दैनिकीलाई सहज बनाउन पूल निर्माणमा कार्यालयले जोड दिएको हो ।

जिल्लाका विभिन्न ठाउँमा निर्माण हुने गरी तीन वटा पूलको ठेक्का आह्वान भई पूल निर्माण कार्य अघि बढेको छ । भने दुई वटा पक्की पूल निर्माण भईसकेका छन । पूर्वाधार विकास कार्यालय जुम्लाको विवरणनुसार कनकासुन्दरीलाई सदरमुकामसंग जोड्ने भैसेडी पूल र गुठिचौर गाउँपालिकाको झारज्वलामा पक्की पूल निर्माण सम्पन्न भई संचालनमा आएका छन् ।

साथै पातारासीको लुम,कनकासुन्दरीको न्याउरीघाट र हिमा गाउँपालिकाको मोफ्ला जोड्ने पूल निर्माणमै क्रममा रहेका छन् । पूर्वाधार विकास कार्यालय जुम्लाका अनुसार गुठिचौरमा ३ करोड ७६ लाख ३५ हजार लागतमा पक्की पूल निर्माण भई सम्पन्न भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकर प्रसाद सिंहले बताए ।

गाउँपालिका केन्द्र नजिकै पूल निर्माण भएको हो । उक्त पूलले जुम्ला र डोल्पा जिल्लालाई जोड्ने छ । दुई जिल्ला संगै गुठिचौरका दुर्गम वस्तीलाई समेत यातायातमा जोड्न टेवा पुग्ने समेत विश्वास गरिएको छ । कार्यालयका उक्त पूलको लम्बाई २५ मिटर रहेको छ ।

पूल निर्माण सम्पन्न भएपनि गुठिचौरमा जग्गाको कुरा नटुग्गीदाँ संचालनमा आएको थिएन् । गाउँपालिकाले जग्गाको समस्या समधान गरेपछि पुल अहिले संचालनमा आएको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढा बताउँछन् । उनले भने,‘यो पक्की पूल गुठिचौरमा बनेको पहिलो पूल हो । यसले यहाँका उत्पादनलाई बजार पुराउने, यातायातको पहुँच विस्तार गर्न टेवा पुराउने विश्वास छ ।’

साथै पूर्वाधार विकास कार्यालय कनकासुन्दरीको भैसेडीमा पनि पक्की पूल निर्माण सम्पन्न गरी संचालनमा आएको छ । उक्त पूल निर्माणका लागि ४ करोड ३२ लाख खर्च भएको छ । भन् पुलको लम्बाई ३० मिटर छ । उक्त पूल निर्माणपछि दुर्गम साहुबाडा, धोबीघाट, चौकी, मुसेधान्नी, तली लेकपोर, माझगाउँ लेकपोर, कोट लगायतका गाउँका नागरिकलाई सदरमुकाम आउन जान समेत सहज भएको छ ।

३ पक्की पूल बन्दै
पूर्वाधार विकास कार्यालय जुम्लाले चालु आवबाट जिल्लामा तीन वटा पक्की पूल निर्माण सुरु गरेको छ । जुम्लाको पातारासीको लुममा, कनकासुन्दरीको न्याउरीघाट र हिमाको मोफ्लामा पक्की पूल निर्माण सुरु गरेको हो । जसमा हिमा गाउँपालिका वडा नंं ३ को मोफ्ला लगायतका दुर्गम गाउँलाई राजमार्गमा जोड्न ९० लाख लगानीमा मोटरेबल बेलिब्रिज बन्ने गरी ठेक्का आह्वान भई प्रक्रिया बघि बढेको छ ।

यता कनकासुन्दरी गाउँपालिका वडा नं. १ को न्याउरीघाटमा २५ मिटर लामो पक्की पूल निर्माणको काम अघि बढेको छ । एकतर्फी पिल्लर समेत खडा भईसकेका छन् । उक्त पूल निर्माणका लागि ५ करोड ४५ लाख बजेटको ठेक्का भई निर्माण कम्पन्नीसंग सम्झौता भएको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ

साथै पातारासी गाउँपालिकाको लुममा पनि पक्की पूल निर्माण भईरहेको छ । पक्की पूल नहुँदा भोग्नु परेका पातारासी बासीका समस्यालाई मध्यनजर गरी ५ लाख ६४ लाख लागतमा ४० मिटर लामो पक्की पूल निर्माण भईरहेको कार्यालयका प्रमुख सिंहले बताए । केही समय जग्गा विवाद रहेपनि हाल समधान भई काम अघि बढेको छ ।

लुम र न्याउरीगाड पुल एउटै निर्माण कम्पन्नी (एमएस–एनएस–एमएनएस–एमसी) जेभीले निर्माण कम्पन्नीले निर्माण गरिरहेको छ । ठाउँ ठाउँमा करोडौ लगानीका मोटरेबल पूल निर्माण हुने भएपछि जुम्लाका किसानहरु उत्साहित छन् । गाउँमा सडक पुगेपनि पूल नहुँदा सडक मात्र प्रयोग विहिन बनेका छ्रैनन् । उत्पादित कृषि वस्तु समेत गाउँमै थन्कीएका छन् ।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस