तिलाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जुम्ला – तिला गाउँपालिका जुम्लाको आर्थिक वर्ष २०८१÷०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले वर्षभरि सञ्चालन गरेका योजना तथा कार्यक्रम र आयव्ययको सार्वजनिक सुनुवाइ आईतबार सम्पन्न गरेको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा अनुमानित कुल बजेट ५१ करोड २४ लाख ८४ हजार बजेट ल्याएको मध्ये चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ १७ करोड ७३ हजार बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले बताए ।
बजेट खर्चको उक्त आवमा समग्र भएको प्रगति चालुतर्फ २९ करोड ४१ लाख १७ हजार अर्थात् ८७ दशमलव ७५ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १४ करोड ५५ लाख ७९ हजार अर्थात् ८२ दशमलव १ प्रतिशत खर्च भएको छ ।
जम्मा चालु र पुँजीगत गरि ४३ करोड ९७ लाख ६४ हजार अर्थात् ८५ दशमलव ७९ प्रतिशत बजेट खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ । बजेट निकासको आधारमा चालु र पुँजीगत गरि ९७ दशमलव ८३ प्रतिशत खर्च भएको छ । बजेट कार्यान्वयन गाउँपालिका अगाडि देखिएको छ । सोही आवमा ५२ वटा योजना उपभोक्ता समिति र आठवटा योजना बोलपत्रबाट सम्पन्न भएका छन् । गाउँपालिका र स्थानीय पुर्वाधार सहयोग कार्यक्रमको साँझेदारीमा १० वटा योजना सम्पन्न भइ संचालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । विपद् तर्फका पाँचवटा योजना निर्माण सम्पन्न भएका छन् ।
उपभोक्ता समितिद्धारा सम्पन्न भएका योजनाहरुको विनियोजित भएको कुल बजेट ५ करोड ७३ लाख २६ हजार ५४५ रुपैयाँ मध्ये अन्तिम विल ५ करोड २९ लाख ६८ हजार ९५१ रुपैयाँ अर्थात् ९२ दशमलव ४० प्रतिशत बजेट खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । सार्वजनिक सुनुवाईमा उठेका गुनासा तथा सुझावलाई गाउँपालिकाले क्रमशः हल गरिने भएको छ । यहाँका सबै राजनीतिक दलदेखि सरोकारवालासंग आपसी समन्वय र सहकार्य बढाउँदै वडास्तरमा हुने विभिन्न योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन गर्ने र जनताका गुनासो सुनुवाई गर्ने व्यवस्था गरिने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए ।
आफ्नो कामको पालिका आफैले सार्वजनिक सुनुवाइ गर्नुभन्दा अन्य निकायलाई गर्न लगाउँदा अझै विश्वसनीय हुने भएकाले सेवा प्रदायक संस्थालाई सार्वजनिक सुनुवाइ गर्न दिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा र समग्र गाउँपालिकाको विकास निर्माण, सेवा प्रवाहको विषयमा सवाल जवाफ भएको थियो ।
सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न समेत गरेका थिए । विकास निर्माण सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धमा गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई कार्यक्रम गर्दे आएको तिला गाउँपालिकाले जनाएको छ । सो कार्यक्रमको सहजीकरण तिला मल्टिप्रपोज मिडिया प्राली र गुठिचौर रिसर्च सेन्टर एण्ड मिडिया प्रालीले गरेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस