जुम्ला – देशभरसहित जुम्लामा पनि ७ औँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाएको छ । जनचेतनामूलक कार्यक्रमका साथ मर्यादित महिनावारी दिवस मनाईएको हो ।
महिनावारीमा छुवाछुत अन्त्य गरौँ, सम्मान र समान पहुँच सुनिश्चित गरौँ” महिला हिँसा अन्त्य गरौँ भन्ने मूल नारासहित महिनावारी दिवस मनाएको हो । दिवसले महिनावारीलाई स्वाभाविक जैविक प्रक्रिया रूपमा स्वीकार गर्दै त्यससँग जोडिएका सामाजिक कुरीति र भेदभाव अन्त्य गर्ने सन्देश दिएको छ ।
चन्दननाथ नगरपालिका जुम्लाको समन्व्यमा सामाजिक विकास कार्यालय जुम्लाको आयोजनामा सरकारी निकाय, गैरसरकारी संस्था, विद्यालय तथा समुदायस्तरका स्वयमसेवकलाई मर्यादित महिनावारी, महिला हिंसा तथा घरेलु हिँसाको कानुनी व्यवस्था सम्बन्धी सरोकारवाला बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
वक्ताहरूले महिनावारीका कारण शिक्षा, स्वास्थ्य र सामाजिक सहभागितामा महिलाहरू पछाडी पर्नु गम्भीर समस्याको रूपमा रहेको जनाउँदै नीतिगत सुधार र व्यवहारिक कार्यान्वयन आवश्यक रहेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग जुम्लाकी प्रमुख कल्पना आचार्य अनुसार स्वास्थ्य विज्ञका अनुसार सुरक्षित स्यानिटरी प्याड, स्वच्छ पानी, महिनावारीमैत्री शौचालय र फोहर व्यवस्थापनको अभावका कारण अझै धेरै किशोरीले विद्यालय नियमित जान नसक्ने अवस्था छ । उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा छाउपडीजस्ता हानिकारक प्रथाले महिलाको स्वास्थ्य र ज्यानमा जोखिम बढाइरहेकोमा चिन्ता व्यक्त गरेकी छन् ।
दिवसको अवसरमा सम्बन्धित मन्त्रालयले विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण, जनचेतना कार्यक्रम विस्तार र छाउपडी अन्त्यका लागि कानुनी प्रबन्ध कार्यान्वयनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाएको छ । सरोकारवालाले महिनावारीलाई लाज होइन, सम्मानको विषय बनाउँदै सबैको समान पहुँच र अधिकार सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेको छ ।




