जुम्ला । ७ औँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस आज देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ सम्पन्न भएको छ। महिनावारीमा छुवाछुत अन्त्य गरौँ, सम्मान र समान पहुँच सुनिश्चित गरौँ” महिला हिँसा अन्त्य गरौ भन्ने मूल नारासहित दिवस मनाइएको हो । यस दिवसले महिनावारीलाई स्वाभाविक जैविक प्रक्रिया रूपमा स्वीकार गर्दै त्यससँग जोडिएका सामाजिक कुरीति र भेदभाव अन्त्य गर्न जोड दिएको छ ।
दिवसका अवसरमा सामाजिक विकास कार्यालय जुम्लाको आयोजनामा सरकारी निकाय, गैरसरकारी संस्था, विद्यालय तथा समुदायस्तरका स्वयमसेवक हरुलाई मर्यादित महिनावारी दिवस को अवसरमा महिला हिँसा तथा घरेलु हिँसाको कानुनी व्यवस्था सम्बन्धी सरोकारवाला बीच छलफल तथा अन्तरक्रिया गरिएको छ।
चन्दननाथ नगरपालिका को समन्वय र सहकार्य र समाजिक विकास कार्यालय जुम्लाको आयोजनामा चन्दननाथ नगरपालिका को सभाहलमा कार्यक्रम सञ्चालन भएको थियो।
राष्ट्रिय मानव अधिकार आयोग जुम्लाकी प्रमुख कल्पना आचार्यले सुरक्षित स्यानटरी प्याड, स्वच्छ पानी, महिनावारीमैत्री शौचालय र फोहोर व्यवस्थापनको अभावका कारण अझै धेरै किशोरीले विद्यालय नियमित जाने स्थिती नरहेको बताईन् । दुर्गम क्षेत्रमा छाउपडी जस्ता हानिकारक प्रथाले महिलाको स्वास्थ्य र ज्यानमा जोखिम बढाइरहेकोमा सबै सचेत हुनु पर्ने उल्लेख गरिन् ।
दिवसको अवसरमा सम्बन्धित मन्त्रालयले विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण, जनचेतना कार्यक्रम विस्तार र छाउपडी अन्त्यका लागि कानुनी प्रबन्ध कार्यान्वयनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाएको छ।
सरोकारवालाहरूले महिनावारीलाई लाज होइन, सम्मानको विषय बनाउँदै सबैको समान पहुँच र अधिकार सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेको छ ।



