जुम्ला । जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ज्ञानेन्द्र बहादुर शाहीले जुम्लाको विकास र समृद्वीका साझा भएर काम गर्ने बताए ।
निर्वाचित भएपछि निकालिएको विजय रयालीपछि हजारौ समर्थकलाई संबोधन गर्दै सांसद ज्ञानेन्द्र बहादुर शाहीले जुम्लामा विकास निर्माण देखी हरेक क्षेत्रमा हुने भ्रष्टचारलाई न्युनिकरण गर्न प्रथामिकता दिने बताए ।
‘म हिजो सम्म राप्रपाको मान्छे थिए,अब पनि होईन,’ उनले भने,‘निर्वाचित भईसकेपछि म समग्र जुम्लाको मान्छे हुँ, साझा मान्छे हुँ। अब कोही समस्या पर्दा, दुखमा पर्दा साहारा बनेर उभिने छु । अब जुम्लाको अधुरा विकास निर्माणलाई अघि बढाउनेदेखी जिल्लामा भईरहेको भ्रष्टचार निवारणमा विशेष ध्यान दिईने छ । अब जुम्ला कहाँ छ भनेर खोज्ने होईन, विश्वकै पर्यटन गन्तव्यका रुपमा चिनाउन प्रयास गर्ने छु ।’
साथै अब राष्ट्यि प्रजातन्त्र पार्टी आगामी २०८४ मा हुने स्थानीयतहको निर्वाचनमा वडादेखी पालिकामा यूवाको सुनिश्चिता हुने गरी निर्वाचनमा भाग लिने उल्लेख गरे । यूवालाई राजनीतिमा प्रथामिकता दिएर स्थानीयतह संचालन गर्ने उनको तर्क थियो ।
२०१५ यताको भएका विभिन्न निर्वाचनमा सांसद नदोहोरयाएका जुम्लाबासीले आफूप्रति विश्वास र भरोसा गरेर एतिहासको क्रमभंगता हुने गरी दोस्रो पटक निर्वाचित गराएर लगाएको ऋण जिल्लाको विकास गरेर तिर्ने समेत बाचा गरे ।

साथै निर्वाचित भएर गाउँ र जिल्ला छोड्ने कहिल्यै गाउँ नफर्किने प्रबृत्तिको अन्त्य गर्दै जिल्लाका हरेक गाउँमा पुगेर समस्या, आबश्यकता बुझेर सदनदेखी सरकारमा निन्तर पैरवी गर्ने उनको भनाई छ ।
जुम्लालाई चिनाउने मात्र होईन्, जुम्लाको विकास र समृद्वीका एजेण्डालाई संसदमा स्थापित गरिन्छ ।अब थोरै बोल्ने धेरै काम गर्ने भन्दै हजारौ समर्थकलाई दोस्रो पटक अनुमोदित गराईदिनु दिएकोमा धन्यबाद व्यक्त गरे ।
यस्तो मत परिणाम
जुम्लाबाट राष्ट्यि प्रजातन्त्र पार्टीका ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) दोस्रो पटक निर्वाचित भएका छन् । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १४ हजार ८१६ मत प्राप्त गरी दोस्रो पटक निर्वाचित भएका हुन् ।
जुम्लामा खसेको कुल ४० हजार ८७८ मत मध्य शाहीले १४ हजार ८१६ मत प्राप्त गरी निरन्तर दोस्रो पटक निर्वाचित हुँदा २०६४ मा निर्वाचित तथा कर्णाली प्रदेशका पूर्व कानुन मन्त्री समेत रहेका नेकपाका नरेश भण्डारी पराजित भएका छन् । जुम्लामा संगठन विहिन राप्रपाका शाहीले ३१ सय ८१ मतान्तरले भण्डारीलाई पराजित गरे । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत ल्याए ।
भने नेपाली काँग्रेसका उम्मेदवार दीप बहादुर शाहीले ७ हजार १४३, नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८ मत प्राप्त गरेका छन् । भने देशभरी घण्टी लहर चलेपनि जुम्लामा राष्ट्यि स्वतन्त्र पार्टीकी उम्मेदवार बिनिता कठायतले ४२१ मत मात्रै प्राप्त गरिन् । त्यस्तै नेमकिपाका विर्ख शाहीले ४ सय,प्रलोपका मनऋषि धितालले ११३, नेजपाका रनिल विक्रम शाहीले ४३, नेकपा माओवादीका विर्ख शाहीले ७० मत र स्वतन्त्र उम्मेदवार भक्त रावलले १४ मत प्राप्त गरेका छन् । कुल खसेको मत मध्य जुम्लामा ३१ सय ८१ मत बदर भएको छ ।

२०७९ को निर्वाचनमा २२ हजार ८१९ मत ल्याएर काँग्रेस–माओबादीको गठबन्धनलाई समेत हराएर निर्वाचित भएका थिए । सांसद शाहीलाई शनिवारनै मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरिरहेका छन् । जुम्लाको निर्वाचनलाई शान्ति पूर्ण वातारबणमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई मुख्य निर्वाचन अधिकृत पन्तले धन्यबाद दिए ।



