जुम्लामा सर्वदलिय छलफल: प्रतिष्ठानको सेवाप्रति बढ्दै गुनासा, सुधार गर्ने प्रतिबद्वता 

जुम्ला ।  पश्चिम नेपालको स्वास्थ्य भरोसा केन्द्रका रुपमा स्थापना भएको कर्णाली स्वास्थ्य प्रतिष्ठानको स्वास्थ्य सेवा सुधारमा सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य सेवा,स्वास्थ्य अध्ययन र अनुसन्धान गर्ने उदेश्यले २०६८ सालमा स्थापना भएको प्रतिष्ठानले स्थापनाको १४  वर्ष बित्दा पनि अपेक्षाकृत सेवा प्रदान गर्न नसकेको नागरिकदेखि सरोकारवालाको गुनासो छ ।

जुम्लामा बुधबार आयोजित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारका लागि सर्वदलिय तथा सर्वपक्षीय छलफल तथा सुझाव ग्रहण कार्यक्रममा राजनीतिक दल, नागरिक समाज,पत्रकार तथा सर्वसाधारणले प्रतिष्ठान भरपर्दो सेवा नदिँदा सामान्यदेखि जटिल खालका विरामी रेफर गर्ने क्रम बढेको गुनासो पोखे । 

चन्दननाथ नगरपालिका वडा नं २ वडाध्यक्ष हेम बहादुर बुढ्थापाले पश्चिम नेपालको भरोसा केन्द्र भनिएपनि रेफरल सेन्टर बनेकोले सेवा सुधारमा ध्यान दिन अनुरोध गरे । 

प्रतिष्ठानले सेवा प्रदान भन्दा चिकित्सा शिक्षा अध्ययन तर्फ जोड दिई आम्दानी बृद्वीमा केन्द्रित भएको टिप्पणी गरे । 

 स्थानीय सर्पानन्द हमालले प्रतिष्ठानमा ओपीडिदेखि ल्याब तथा बील काउन्टर अस्वभाविक भीड भएकाले भिड न्युनिकरण र छिटो छरितो सेवा प्रदामा ध्यान दिन सुझाव दिए । 

नागरिक समाजका अध्यक्ष राज बहादुर महतले प्रतिष्ठानको कर्मचारी भर्ना, सुशासन, सेवा प्रवाह पक्ष अपारदर्शी भएको आरोप लगाए । गुणस्तरीय औषधी नपाउने, चिकित्सकले विनम्र व्यवहार नगर्ने, शौचालय ससफाई र खानेपानीको उपलब्धता न्युन भएकोमा सुधार गर्न आग्रह गरे । 

बेला बेला एक्सरे मेसिन थन्कीउने, सेवा प्रभावित हुने, कर्मचारीहरु बढी राजनीतिक गर्ने, मनपरी नियुक्ती बढुवा जस्ता काम भईरहेकाले प्रतिष्ठानको सुधारका लागि त्यस्ता कार्य रोक्न नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले जोड दिए । 

प्रतिष्ठान सेवा मुखीभन्दा आम्दानी मुखी भएकोले नागरिकको स्वास्थ्य माथि खेलवाड नगर्न र जिम्मेवारी पूर्ण रुपमा काम गर्न आग्रह गरे । 

त्यस्तै एमाले नेता धिरेन्द्र गिरी, नेमकिपा अध्यक्ष पूर्णलाल खत्री, काँग्रेस सभापति कर्ण बहादुर शाही, तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँई, क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री,यूवा उपेन्द्र बुढ्थापा, लोकेन्द्रराज गिरी, गोविन्द शाही, नेत्र बहादुर शाही, गोरख बहादुर थापा प्रयाकदत्त उपाध्याय,,क्षेत्र बहादुर बुढ्थापा मेघराज गिरी लगायतका राजनीतिक दल तथा नागरिक अगुवाले प्रतिष्ठान सेवा सुधारमा गम्भीर बन्न पदाधिकारीको ध्यानकर्षण गराए । 

पटक पटक मेसिन बिग्रिने र महिनौ दिन सेवा बन्द हुने समस्या दोहोरिदै आएकाले जनता प्रति जिम्मेवार भएर काम गर्न जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए  । सेवा प्रवाह भरपर्दो नभएको विषय जोडदार उठेकाले नयाँ पदाधिकारीले परिणाममुखी काम गर्नु पर्नेमा जोड दिए । 

तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाँईले अध्यक्ष: स्थानीयतहको सहकार्यमा डाक्टर पढाउने भन्ने कुरा प्रतिष्ठानले कार्यान्वयन नगरेको उल्लेख गरे ।

कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डबल बहादुर धामीले शैक्षिक प्रगति र नर्सिङ ड्राईरेक्टर सविना थापाले स्वास्थ्य सेवाको प्रस्तुतीकरण गरिन् । स्वास्थ्य सेवा तर्फ तथ्यांकमा उल्लेखीय प्रगति देखिएपनि व्यवहारमा धेरै कुरा सुधार नभएको समेत टिप्पणी गरिएको छ । 

पूर्वराज्य मन्त्री बहादुर महतले विगतमा शबको पोष्टमार्टम गर्न डाक्टर कुर्ने जुम्लाले डाक्टरउत्पादन गरिरहेको विषयमा गौरब गर्नु पर्ने बताए । यदपी अब्बल डाक्टर उत्पादन गर्ने प्रतिष्ठानबाट  सामान्य विरामी रेफर हुनु दुखद पक्ष भएकाले सुधार्न अपिल गरे ।

कर्णाली प्रदेश सहित सुदुरका ३ गरी १३ जिल्लामा सेवा विस्तार भएपनि १३ वटै जिल्लासंग समन्वय प्रभावकारी गर्नुपर्नेमा जोड दिए । 

विशषज्ञ डाक्टर उत्पादन गर्ने प्रतिष्ठानको स्वास्थ्य सेवा प्रति जनताले किन विश्वास गर्न सकेका छैनन् । यसको जिम्मेवार को हुने भन्दै नेकपाका नेता विष्णु महतले टिप्पणी गरे । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन रोकायाले उपलब्ध सिमित स्रोत साधनको अधिकतम परिचालन गरी प्रतिष्ठानको सेवा प्रवाह अध्ययन तथा अनुसन्धानको काम भईरहेको बताए ।

´६ अर्ब प्रतिष्ठानको बहुउदेश्यीय परियोजना अलपत्र छ,पानसय बढी शिक्षक विधार्थीहरु भाडाकै घरमा बस्छन्`उनलेभने,´स्रोत अभावका बीच चलेको प्रतिष्ठान सुधारको बाटोमा छ ।डायलासिस सेवादेखि ब्लड बैंक सुचारु गरेका छौ । सेवा सुधार हाम्रो पहिलो प्रथामिकता छ । सबैको सहयोग समन्वयबाटै प्रतिष्ठानको सुधार हुने अपेक्षामा छौ `

´सबै सुझाव र प्रश्नहरु ग्रहण गर्छौ ।तर सधै भएन मात्रै भन्ने, हिजो शबको पोष्टमार्टम गर्न डाक्टरनपाउने जुम्लामा डाक्टरी पढाई भएको, आर्थिक गतिविधि बढेको, रोजगारी बृद्वी भएको कुरा कसैले नदेखेका छैनन् । हामीले गुण र दोषका आधारमा सुझाव दिन जरुरी छ`,उपकुलपति रोकायाले भने ।`

प्रतिष्ठानका रजिष्टार लक्ष्मीचन्द्र महतले प्रतिष्ठानलाई सरकारले दिने बजेट घट्दै गएकोले प्रतिष्ठान संचालनमा निकै कठिनाई भएको बताए । प्रतिष्ठानले सेवा प्रवाह,अध्ययन र अनुसन्धानलाई परिणामुखी बनाउने सोच राखेकाले सबै सरोकारवालाबाट सकरात्मक सहयोगको आशा गरिएको उनको भनाई छ । 

प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस