क्षतिग्रष्त संरचना निर्माण गर्न तीन पालिकालाई २ करोड १९ लाख निकासा

जुम्ला । जुम्लामा २०७९ को असोज १९ देखि २५ सम्म परेको अविरल वर्षातसंगै आएको भिषण बाढी पहिरोले गरेको क्षतिग्रष्त संरचनाको पूर्ननिर्माण गर्न दोस्रो किस्ता निकासा भएको छ । जुम्लाका तीन स्थानीय तहका स्थानीयको नीजि आवास पुर्ननिर्माण गर्न दोस्रो किस्ता निकासा भएको हो ।

२०७९ को बेमौसमी वर्षा आएको बाढी पहिरोले जिल्लाको १८ हेक्टर मार्सी फाँट, चार सय बढी सिँचाई कूलो र पूर्ण र आंशिक गरी झण्डै १२ सय नीजि संरचनामा क्षति भएको थियो । राज्यकै अनुदारका कारण वर्षौसम्म पुर्ननिर्माण गर्ने बजेट नपाएका जुम्लाका स्थानीय पहिलो किस्ता मुस्किलले पाएका थिए । सरकारबाट राहत क्षतिपुर्ति पाउने आशामा ऋण जोहो गरी स्थानीयले क्षति भएका घर पुर्ननिर्माण गरेपनि लामो समयसम्म क्षतिपुर्ति पाएनन् ।

पछिल्लो समय स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समितिको निरन्तर पहलपछि वैशाख पहिलो सातामै दोस्रो किस्ताको २ करोड बढी निकासा भएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । प्रति घरधुरीलाई एक लाख ५० हजारका दरले जुम्लाका तीन पालिकालाई दोस्रो किस्ता निकासा भई सम्बन्धित पालिकाको खातामा निकासा भएको प्रजिअ पौडेलेको भनाई छ ।

जुम्लाका आठ स्थानीय तहमध्य दोस्रो किस्ता तातोपानी, गुठिचौर र सिंजा गाउँपालिकामा प्राप्त भएको हो । जसमा सबैभन्दा बढी सिंजा गाउँपालिकामा १ करोड ५३ लाख, तातोपानीमा ५१ लाख र गुठिचौर गाउँपालिकामा १५ लाख गरी कुल २ करोड १९ लाख निकासा आएको स्थानीयतहले जनाएका छन् ।

२०७९को बेमौसमी बाढीबाट सबैभन्दा बढी क्षति व्यहोरेको सिंजा क्षेत्रले ढिलै भएपनि पिडामा मलम लागेको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए । पहिलो किस्ता लिएर घर निर्माण गरिसकेको र ऋण लिएर काम सम्पन्न गरीसकेका लाभग्राहीलाई प्रथामिकरण दोस्रो किस्ता सिधै खातामा पठाईने उल्लेख गरे ।

यता तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले दोस्रो किस्ताको रकम पालिकाका ३४ जना पिडित परिवारलाई दिईने बताए । कुल ६४ जना मध्य दोस्रो किस्ता ३४ जनाले १ लाख ५० हजारका दरले पाउने उनको भनाई छ ।

किसानले पाएनन् राहत
भौतिक संरचना क्षति भएका लाभग्राहीले सरकारबाट ढिलै भएपनि राहत क्षतिपुर्ति पाएपनि किसानले भने राहत पाएका छैनन् । बेमौसमी बाढीले जुम्लाको १२ सय किसानको मार्सी धानमा क्षति भएको थियो । भित्र्याउन काटेर तयारी राखेको धान खेतमै भिजेको थियो ।

१८ हेक्टर मार्सीफाँट बगर बनेको छ । करोडौको मार्सीधानको क्षति हुँदा किसानले सरकारलाई राहतको लागि हागुहार गरेका थिए । तर सरकारले प्रति किसान ४१२ रुपैया राहत पाउने गरी बजेट पठाएपछि जुम्लाका किसानले उक्त राहत रकम अस्वीकार गरेका थिए ।

करोडौ क्षति व्यहोरेका किसानले न्युनतम् ५० हजार देखि लाख सम्म राहतको अपेक्षामा थिए ।तर सरकारले प्रति किसान ४१२ रुपैया पाउने गरी रकम पठाएपछि आक्रोसित हुदै किसानले विरोध जनाएका छन् । भौतिक संरचना पुर्ननिर्माण गर्न ढिलै भएपनि दोस्रो किस्ता निकासा हुँदा अझै किसानले राहत पाउने टुंगो छैन् ।

नागरिक समाजका अध्यक्ष राज बहादुर महतले भौतिक संरचना पुर्ननिर्माण गर्नबजेट आउनु सुखद भएपनि किसानलाई क्षतिपुर्ति दिलाउन पहल गर्नु पर्नेमा जोड दिए । अब नयाँ सरकारलाई २०७९ को बाढी पहिरोको क्षतिबारे जानकारी गराएर, भत्केका सिँचाई कुलो, घरको निर्माण तथा किसानलाई राहत दिलाउन नतिजामुखी पहल गर्न समन्वय गर्नु पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस