जुम्ला । कर्णाली प्रदेशको झलाईफ लाईन’ सडक आयोजनाका रुपमा रहेको उत्तरी सिमना चीन जोड्ने मुगुको गमगडी–नाक्चेलाग्ना आयोजना निर्माण वर्षौपछि गति लिन थालेको छ । बजेट अभावका कारण वर्षौदेखि रोकिएको काम स्रोत सुनिश्चितता संगै काम सुरु भएको छ ।
कडा चट्टानी भिर मात्रै रहेकोले सडक डिभिजन जुम्लाले नेपाली सेना संग समन्वय गरी ब्लाष्टिङ सुरु गरेको छ । मुगु जिल्लाको माङ्ग्री भिर क्षेत्रमा ब्लास्टिङ कार्य आईतबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो । दुर्गम भौगोलिक अवस्था, जोखिमपूर्ण भिर र सीमित स्रोत–साधनका बाबजुद पनि विकासको लक्ष्यलाई अगाडि बढाउँदै चट्टान छिचोल्न ब्लाष्टिङ सुरुगरेसंगै आयोजनाले गतिलिने आशा पलाएको छ ।
मुगुको गमगडी देखि नाक्चेलाग्ना सम्म कुल ९६ किलोमिटर दुरी रहेको यो सडक आयोजना आर्थिक वर्ष २०६२÷६३ मा विस्तृत सर्भे गरी २०७२÷७३ सालबाट निर्माण गर्न थालिएको थियो । बजेट अभाव, भौगोलिक कठिनाईका कारण प्रदेश समृद्वीको मार्गका रुपमा हेरिएपनि कामले गति लिन सकेन् ।
लामो समयपछि चालु आव २०८२÷०८३ का लागि संघिय सरकारले १५ करोड स्रोत सुनिश्चित गरेपछि सडक खण्डको कठिन तथा कडा चट्टान रहेको मुगुको माङग्री भीड फोड्न ब्लाष्टिङ सुरु गरिएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए ।
‘कुल ९६ किलामिटर दुरी रहेको यो सडक हाल सम्म १८.५ किमी ट्रयाक ओपन भएको छ’उनले भने,‘चालु आवमा २२० मिटर कडा चट्टान छिचोल्न ब्लाष्टिङग गरिनेछ । साथै जम्मा २४.५ किमी सडक ट्रयाक ओपन गरी ग्राभेल समेत गर्ने लक्ष्य छ । सिमित स्रोत र कठिन भूगोलका कारण सुस्त गतिमा बढेको सडकलाई अब सकेजति तिब्र गतिमा निर्माण गर्ने योजनामा छौ ।’
१५ करोडको लागतमा २२० मिटर ब्लाष्टिङ गर्ने, ग्राभेल गर्ने लगायतका काम गर्ने गरी गमगडी–नाक्चेलाग्ना सडक निर्माण गर्न जाग्रीति – रारा तेन्जिन – नोर्याङ्ग जे भिले ठेक्का लिएको छ । २२० मिटर सडक ब्लाष्टिङ गर्न प्राविधिक जनशक्ति, निर्माण व्यवसायी तथा श्रमिकहरूको जोखिमका बीच काम गरिरहेका छन् । नेपाली सेनाको समन्वयमा ब्लाष्टिङ सामाग्रीको सिमित उपलब्धताका बीच पनि सडकको महत्वलाई बुझेर सबै पक्षको समन्वयमा काम अघि बढेको छ ।
गमगडी–नाक्चेलाग्ला सडक निर्माण भएको खण्डमा उत्तरी छिमेकी देश चीन र कर्णाली प्रदेशको व्यापारिक गतिविधि सहज हुने प्रत्यक्ष कर्णालीको समृद्वीमा टेवा पुग्ने विश्वास गरिएको छ । रोजगारी प्रर्बद्वन, व्यापार बृद्वि र समग्रमा कर्णालीको आयस्तर समेत उकास्न यो सडक लाईफ लाईन बन्ने अपेक्षा समेत गरिएको छ । बजेट अभावका कारण वर्षौ अलपत्र परेको यो सडक आयोजनाले नयाँ सरकारको गठन संगै बजेट अभाव भोग्न नपर्ने र निर्माणले गति लिने आशा गरिएको छ ।
१० वर्षमा १८ किमी मात्रै निर्माण
कर्णालीको समृद्वीसंग जोडिएको गमगडी–नाक्चेलाग्ला सडक १० वर्षमा १८ किलोमिटर निर्माण भएको छ । आर्थिक वर्ष २०६२÷६३ मा विस्तृत सर्भे गरी २०७२÷७३ सालबाट निर्माण थालिएको यो सडक १० वर्षमा १८.५ किमी मात्रै निर्माण भएको छ ।
कुल ९६ किमी दुरी रहेको यो सडक भौगोलिक कठिनाईका दुर्त गतिमा निर्माण हुन सकेन । चालु आवमा १८ किमीबाट ६ किमी बढाएर २४ किमी निर्माण गर्ने लक्ष्य राखिएको छ । विगतमा गमगडी–नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक मात्रामा बजेट विनियोजन नगरिँदा सडक निर्माण कछुवाको गतिमा अघि बढेको हो । मुगु जिल्लाको मात्र नभई सिंगो कर्णाली प्रदेशकै ‘लाइफ लाइन’का रूपमा रहेको सो सडकलाई संघिय सरकारले उपेक्षा गर्दा निर्माणमा ढिलाई भएको बुझिएको छ ।

विगतमा थोरै मात्रामा आउनेबजेट सडक निर्माण भन्दा पहिला खनेको सडकमा खसेको पहिरो पन्छाउन समेत अपुग हुने स्थिती रहेको थियो । समयमै गमगढी नाक्चेलाग्ना सडक निर्माण हुन नसक्दा कर्णालीवासीको चीनसँग व्यापार गर्ने सपना अधुरो मात्र छैन्, सम्रद देशको समृद्वीको ढोका खुल्न सकेको छैन् । भने अर्कोतिर दुर्गम जिल्लामा रहेका ठुला आयोजनामा राज्य लगानी गर्न कन्जुसाई गरेको समेत स्पष्ट भएको छ ।
नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाक्चेलाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगुमात्र नभएर सिङ्गो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने विश्वास गरिएको छ । तत्कालीन जिल्ला विकास समितिमुगका पूर्वसभापति डिल्ली भट्टकाअनुसार आफ्नो कार्यकालमा मुगुवासीको मागअनुसार यस सडकलाई उत्तरी नाकामा रहेको देश चीनसँग जोड्नका लागि आव २०६२÷६३ मा विस्तृत सर्भे गरिएको मुगुबासी बताउँछन् ।
उक्त सर्भे गर्दा सो सडकको रु २५ करोड लागत अनुमान गरिएको थियो । देश सङ्घीय संरचनामा गइसकेपछि उक्त सडक सङ्घीय सरकारको मातहतमा राखियो । यसले गर्दा केही वर्ष सडक खन्ने काम अघि बढ्न सकेन । पुनः गमगढी–नाक्चेलाग्ना सडकको ढङ्गेधारासम्म ‘डिपिआर’ गरी विसं २०७३ बाट सडक डिभिजन कार्यालय जुम्लाले बोलपत्र आह्वान गरी सडक खन्ने कामलाई अघि बढाएको थियो ।
गत आव २०७८÷०७९ चार करोड ९३ लाख सडक निर्माणमा खर्च भएको थियो .। भने आव २०७९–८० मा चार करोड ४० लाखमा खर्च भएको बताइएको छ । गमगढीबाट मुगुम् कार्मारोङ गाउँपालिका–९ नजिकै रहेको छाइल सुलसुले भिरसम्म साढे १८ किलोमिटर सडक निर्माण पूरा भएको छ । त्यो भन्दा सडक अघि बढाउन चट्टान छिचोल्न ब्लष्टिङ नै गर्नु पर्ने भएकाले भर्खर सुरु भएको छ । हालसम्म सडक निर्माणका लागि करिब २० करोडभन्दा बढी रकम खर्च भइसकेको छ ।



