तिला–६ को रिपि गाउँमा पोल पुगे, बत्ती पुगेन्, नागरिकलाई सास्ती

तिला गाउँपालिका वडा नं. ६ स्थित रिपी गाउँ । तस्बिरः कर्णाली मिसन

जुम्ला । जुम्लाको तिला गाउँपालिका–६ स्थित दुर्गम रिपि गाउँमा विद्युत पोल पुगेको झण्डै एक वर्ष बितिसक्दा पनि बत्ती बल्न सकेको छैन । पूर्वाधार पुगेको देखिए पनि विद्युत् सेवा सञ्चालन नहुँदा स्थानीयवासी समस्यामा परेका छन् ।

बिजुली अभावका कारण स्थानीय बासिन्दा अहिले पनि झरो र टुकीको भरमा अन्धकारमै जीवन गुजारिरहेका छन्। साँझ परेपछि घर बाहिर निस्कनै कठिन हुने, बालबालिकालाई पठनपाठन गर्न समेत मुस्किल भईरहेको स्थानीयहरू बताउँछन् । नियमित टुक्की र झरो प्रयोग गर्दा धुवाँका कारण स्वास्थ्यमा असर पर्ने समस्या पनि उस्तै छ ।

उज्यालोको अभावमा राति अध्ययन गर्न कठिन हुने, मोबाइल तथा अन्य उपकरण चार्ज गर्न टाढा जानुपर्ने बाध्यताले सूचना र सञ्चारबाट पनि टाढा हुनुपरेको छ । स्थानीय सरकार संचालन भएको ८ वर्ष र गाउँमा पोल गाडेको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि अझै रिपी गाउँमा विजुली नपुग्दा स्थानीय अन्धकारमा रात कटाउन बाध्य भएका छन् ।

बत्ती अभावकै कारण गाउँमा साना उद्योग, कुटानी–पिसानी मिल तथा अन्य आर्थिक गतिविधि सञ्चालन हुन नसक्दा स्थानीयको आयआर्जनमा असर परेको स्थानीय गोर बहादुर रावत बताउँछन् । ‘यहाँ सडक पुगेको छैन् । पोल पुगेको वर्षदिनभन्दा बढी समय भईसक्दा पनि विजुली पुगेको छैन्,’उनले भने,‘आधारभूत आबश्यकता भित्र पर्ने विजुली विस्तार नहुनु समस्या झेलिरहेका छौ । एक वर्ष अघि गाडीएका पोल अधिकांश डल्ने अबस्थामा छन् । तर बत्ती पुग्ने छाँट छैन् ।’ वर्षौदेखी बत्ती नपुग्दा रिपी गाउँका सयौ घरधुरी अध्यारोमै रात बटाउन बाध्य छन् । तत्काल विद्युत वितार हुनु पर्नेमा जोड दिएक छन् ।

भौगोलिक हिसाबले जिल्लाकै विकट तिला गाउँपालिकाको दुर्गम रिपि गाउँमा अझै सडक पुगेको छैन् । विद्युत विस्तार नहुदा सास्ती खेप्दै आएका रिपी बासीले सडक नपुग्दा अहिले आउजाउमा पैदल हिड्न मात्र बाध्य छैनन्, दैनिक उपभोग्य सामान पनि पिठ्युमै बोक्न विवस छन् । तिलाका धेरै गाउँमा सडक पुगेपनि नियमित गाडी संचालनमा छैनन् । यदपी स्थानीयले मोटरसाईकल मार्फत भएपनि आउजाउलाई सहज बनाएका छन् । तर रिपी गाउँमा अहिले सम्म सडक नपुग्दा सेरीबजार आएर केही खाद्यन्न सामाग्री खरिद गर्दा पनि आउजाउँमा निकै कष्ट भईरहेको स्थानीय गोर बहादुर रावतले बताए ।
आकाश सुनार

प्रकाशित मिति : २०८३ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस