जुम्ला । जुम्लाको तिला गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । बुधबार औपचारिक समारोहका बीच तिलालाई पूर्ण खोप तथा दिगाोपना पालिका घोषणा गरिएको हो ।
खोप उमेर समुहका सबै बालबालिका पूर्ण खोपको पहुँचमा पुगेको सुनिश्चितता गर्न वडा हुदैँ पालिका घोषणा गर्नु पर्ने वार्षिक नियमित कार्यक्रम अनुसार तिलालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
राष्टि्य पूर्णखोप निर्देशिका बमोजिम सबै प्रक्रिया पूरा गरी १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको अवधिभित्र पाउनु पर्ने सबै खोप दिएर पालिकालाईनै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्क बहादुर रावतले बताए । उनका अनुसार पूर्णखोप घोषणाका सबै सूचक र मापदण्ड पूरा गरी घोषणा गरिएको छ ।
तिला गाउँपालिकाका ९ वटै वडाका जन्मेदेखी १५ महिनासम्मका खोप उमेर समुहका २४३ जना बालबालिकाले पूर्णखोप पाएका छन् । त्यसैगरी १६ देखी २३ महिना सम्मका खोप उमेर समुहका २५१ जना बालबालिकाले पूर्णखोप पाएको तिलाको प्रगति विवरणमा उल्लेख छ ।
तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले पूर्णखोप सूनिश्चितता घोषणाका लागि खटिने कर्मचारीलाई धन्यबाद दिए । घोषणाको दिगोपनामा सबै जिम्मेवार भएर अघि बढ्नु पर्नेमा जोड दिए । कार्यान्वयन तहमा कर्मचारी भएकाले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन जुट्न अनुरोध गरे । खोप विहिन बालबालिका शुन्य बनाउन फिल्डमै काम गर्न अपिल गरे ।
तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले पालिकाका सबै बालबालिकालाई स्वस्थ राख्न समन्वय सहकार्य गरी काम गर्न जरुरी रहेको बताए । तिलालाई जिल्लामा अब्बल बनाउन स्वास्थ्य शिक्षाका सुधारमा सुधार गर्न जोड दिनुपर्ने उल्लेख गरिन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर रावलले तिला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गर्न दिनरात खटिने कर्मचारीलाई धन्यबाद दिए । घोषणा कार्यान्वयन तथा दिगोपनामा सबै सरोकावालाले जोड दिनु पर्ने उल्लेख गरे । भविष्यमा दक्ष जनशक्ति उत्पादनका लागि रोग प्रतिरोधात्मक क्षामता बढाउन खोप अनिवार्य लगाउनु पर्ने सोचको विकास गर्नु पर्ने उनको भनाई छ ।



