जुम्ला । जुम्लामा मनसुन तथा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ अनुमोदन गरिएको छ । सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन गरिएको हो ।
मनसुन भित्रिनु अगावै विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन् । विपद्का बेला जनधनको क्षति कम गर्न तथा राहत उद्दारलाई प्रभावकारी बनाउन बजेट, सामाग्री, जनशक्ति तथा भावी कार्ययोजना सहित आठै पालिकाले प्रतिकार्य योजना तयार गरेका छन् ।
आठै पालिकामा विपद् लक्षित खाद्यन्न, विपद् उद्दार सामाग्री, तालिम प्राप्त जनशक्ति तथा बजेट सहित प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने तयारीमा छन् । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको सक्रियताले जिल्लाका आठै पालिकालाई विपद पूर्वतयारी तथा प्रतिकार्यमा जुटेका छन् ।
यदपी जुम्लाका आठ पालिका मध्य केही पालिकाले भने विपद् कोष स्थापना गरेको बजेट विनियोजन नगरेको भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय सहित तातोपानी, चन्दननाथ लगायतका केही पालिका विपद् व्यवस्थापनमा सक्रिय भएर जुटेका छन् । सोमबार अनुमोदन गरिएको विपद् प्रतिकार्य योजना अन्तरर्गत जुम्लाको तातोपानी गाउँपालिकाले जिल्लामै सबैभन्दा बढी बजेट विपद् कोषमा जम्मा गरेको पाइएको छ ।
अन्य पालिकाले विपद कोषमा शुन्य बजेट राख्दा तातोपानीले सबैभन्दा धेरै ५८ लाख ५० हजार छुट्याएको छ । जुन बजेट पालिकाका विपद पिडितहरुको राहतका लागि खर्च गरिने छ ।
भने गुठिचौर गाउँपालिकाले ९ लाख, सिंजा गाउँपालिका १५ लाख र जिल्ला विपद् व्यवस्थापन समितिमा १३ लाख ४१ हजार ६८५ रुपैयाँ गरी झण्डै ९८ लाख बढीको विपद कोष खडा भएको छ । भने विपद्को उच्च जोखिममा रहेको चन्दननाथ नगरपालिकामा विपद कोषनै नभएको पाइएको छ ।
हिमा, तिला, कनकासुन्दरी र पातारासी गाउँपालिकामा विपद् कोष भएको तर कति बजेट विनियोजन गरिएको भन्ने खुलेको छैन् । विगतको तुलनामा नागरिकलाई विपदका घटनाबाट जोगाउन समग्र जिल्लानै सक्रिय रुपमा लागि परेको छ ।
२०७९ सालमा परेको बेमौसमी वर्षाले आएको बाढी पहिरोले जुम्लामा ठुलो जनधनको क्षति गरेपछि त्यसयता जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सक्रियता बढाईरहेको छ ।

जिल्लामै नमुनाका रुपमा विपद् प्रतिकार्य तथा पूर्वतयारीमा काम गरिरहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले प्रतिकार्य योजना निर्माण गरेर मात्र नहुने भन्दै पालिका स्तरमै पुगेर स्थलगत अनुगमन गर्नुपर्ने बताए । तातोपानीले नागरिकको ज्युधनको सुरक्षालाई ध्यान दिदैँ सबैभन्दा बढी ५८ लाख ५० हजार विपद कोषमा जम्मा गरेको उल्लेख गरे ।
हामीले खाध तथा अखाध वस्तुको मौज्दात पनि गरिराखेका छौ । अध्यक्ष चौलागाँईले भने,´विषद कोष कुनै कन्जुसाई नगरी बजेट छुट्याएका छौ । एउटा तातोपानी मात्रै अब्बल भएर हुदैन् । विपद्बबाट समग्र जुम्लालाई सुरक्षित राख्न सबैको समन्वय सहकार्य गर्न जरुरी छ । भने पूर्वतयारी तथा कार्ययोजनानुसार।काम गर्नु पर्ने छ।`
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले नगरपालिका विपद्को उच्च जोखिममा रहेपनि एकल प्रयासले प्रतिकार्य गर्न सम्भव नरहेको बताए । विपद कोषमा ठोस बजेट नदेखिएपनि वर्षमा करोड भन्दा बढी बजेट विपद व्यवस्थापनमै खर्च गरिरहेको उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विपद व्यवस्थापन, राहत उद्दारका लागि प्रतिकार्य योजना कार्यान्वयनमा शुन्य सहनशीलता अपनाईने बताए । अवैध नदीजन्य वस्तुको उत्खनन्लाई नियमन गर्नेदेखी कारबाही प्रक्रियालाई कडाई रुपमा अघि बढाईने उल्लेख गरे । क्षति हुनै नदिन र भईहाले तत्काल राहत उद्दारका कामलाई प्रभावकारी रुपमा अघि बढाउन सहकार्य गरिने बताए । गृहमन्त्रालय विपद् प्राधिकरणको निर्देशन अनुसार जुम्लामा धेरै चरणमा छलफल गरी विपद् प्रतिकार्ययोजना निर्माण गरी केन्द्रमा पठाइएको छ ।
विपद् व्यवस्थापनमा दातृ संस्था नेपाल रेडक्रस सोसाईटी, पेश नेपाल र किर्डाक नेपाल लगायतका निकायले पनि सहयोग गर्दै आएका छन् । स्थनीय सरकार, दातृ निकाय तथा नागरिक अगुवाहरुको सक्रियतमा यस वर्ष विपद व्यवस्थापन, तथा राहत उद्दारमा नतिजामुखी काम गर्ने समेत साझा सहमति गरेका छन् ।



