जुम्ला – कालिकोटको खाँडाचक्र नगरपालिका – ८ दशला १४ वर्षीया बालिका र जुम्लाको हिमा गाउँपालिका – १ देवार गाउँका १६ वर्षीय बालक विच हुन लागेको बालविवाह रोकियो । सरोकारवाला निकायको पहलमा बालविवाह रोकिएको थियो ।
हिमा गाउँपालिका बालविवाह मुक्त घोषणा गरिएको गाउँपालिका पनि हो । बालविवाह मुक्त घोषणा भएको वडा र गाउँपालिका पनि बालविवाह हुन सक्ने सम्भावना हुन सक्छ । तर सरोकारवाला निकायको निरन्तर खबरदारी हुन जरुरी छ । जसले गर्दा बालविवाह न्यूनिकरण गर्न सकिन्छ । यो एउटा प्रतिनिधि मुलक घटना हो । यस्ता घटना नदोहोरिन दिन बालबालिकादेखि सरोकारवाला निकाय सचेत हुन जरुरी छ ।
बालक पक्षले बालिकाको घरबाट बैशाख २४ गते राति भगाएर ल्याएको थियो । बालकले विवाह गर्न बालिकालाई बगाएको थाहाँ भएपछि सरोकारवाला निकायको प्रतिनिधिको खबरदारीले बालविवाह रोकिन पुग्यो ।

बालविवाहले स्वास्थ्य शिक्षा, पारिवारिक जिम्मेवारी बढ्ने, मानशिक तनाव र घरेलु हिंसा समेत वढ्ने सम्भावना धेरै हुन्छ । त्यसैले पनि बालविवाह गर्न हुदैन ।
कनकासुन्दरी गाउँपालिका – १ नम्बर वडालाई “बालबिबाह मुक्त वडा” घोषणा गरिएको छ । सन् २०२० मा ७६ प्रतिशत रहेको बालबिबाहको दर २०२१ मा ३६ प्रतिशत, २०२२ मा ५ प्रतिशत, २०२३ मा ४ प्रतिशत, २०२४ मा २४ प्रतिशत हुँदै सन् २०२५ मा शून्य प्रतिशतमा झरेपछि बालविवाह मुक्त वडा घोषणा गरिएको हो । यो तथ्यले समुदायमा चेतनाको स्तर वृद्धि भएको, बालअधिकारप्रति सकारात्मक सोच विकास भएको तथा बालबिबाह विरुद्धको सामूहिक अभियान सफल भएको स्पष्ट देखाउँछ ।
यस्तै कनकासुन्दरी गाउँपालिका – ३ नम्बर वडा पनि बालबिबाह मुक्त वडा घोषणा गरिएको छ । सन् २०२० मा ५९ प्रतिशत रहेको बालबिबाहको दर २०२१ मा ४१ प्रतिशत, २०२२ मा ६ प्रतिशत, २०२३ मा १५ प्रतिशत, २०२४ मा ४ प्रतिशत हुँदै सन् २०२५ मा शून्य प्रतिशतमा वडालाई बालविवाह मुक्त घोषण गरिएको हो ।
गाउँपालिका, वडा कार्यालय, समुदाय, विद्यालय, अभिभावक, किशोर–किशोरी समूह, युवा क्लब तथा विभिन्न साझेदार संस्थाहरूको साँझा प्रतिबद्धता र निरन्तर सहकार्यको परिणाम हो ।
स्थानीय तहसँगको सहकार्यमा प्लान ईन्टरनेशनल नेपाल, वल्र्डभिजन, क्याड, पेस नेपाल, किर्डाक, सर्बाेदय नेपाल, क्याक्मालगायतका संघ संस्थाले बालविवाह न्यूनिकरणका क्षेत्रमा काम गर्दै आएका छन् ।
बालविवाह न्यूनिकरणका विषयमा निरन्तरण सचेतीकरण गर्दै आएको क्याड जुम्लाका परियोजना संयोजक राजेश प्रकाश गिरी बताए । उनले भने, सरोकारवाला निकायले पनि उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् ।
जिल्लाका ८ स्थानीय तहका ६० वडामध्ये २३ वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । हिमा गाउँपालिका (१–७), कनकासुन्दरी – १, २, ३, ४, ५, पातारासी–५, तिला–४, ५, ६, ८, गुठीचौर–४, तातोपानी – ५ र सिंजा–२, ३, ४, ६ नम्बर वडा बालविवाहमुक्त घोषणा भएका छन् । गुठीचौर – ४, पातारासी – ५, तिला – ६ र ८, तातोपानी – ५ नम्बर वडा बालमैत्री तथा पोषणमैत्री घोषणासमेत भएका छन् ।
नेपालको मुलुकी देवानी सँहिता २०७४ अनुसार बिवाह गर्न उमेर २० बर्ष पुगेको हुनु पर्दछ । २० बर्षभन्दा कम उमेरमा गरिएको बिवाहलाई बालविवाह मानिन्छ । सोही कानून अनुसार बालविवाह गर्ने गराउनेलाई ३ बर्ष कैद र तीस हजार रुपैया जरिवानाको ब्यवस्था कानुनमा उल्लेख गरिएको छ ।



