जुम्ला — जुम्लाका विभिन्न रमणीय तथा धार्मिक–पर्यटकीय स्थलमा छायांकन गरिएको ‘विश्वास छैन प्रीय तिम्रो’ बोलको गीत बुधबार सार्वजनिक भएको छ। ‘महारानी’ एल्बममा समावेश उक्त गीतमा नेपाली संगीत क्षेत्रकी खेती प्राप्त चर्चित गायिका मेलिना राई को स्वर रहेको छ भने गीतका शब्द तथा संगीत जुम्लाका कवि तथा संगीतकार धनबहादुर शाही ले सिर्जना गरेका हुन्।
केही समयअघि मात्र आफ्नो कविता सङ्ग्रह ‘बिर्सिएका अतीत’ सार्वजनिक गरेका शाहीले यस गीतमार्फत प्रेम, विश्वास र सम्बन्धका भावनालाई संगीतमा उतारेका छन्।
गीतको भिडियोमा जुम्लाका कलाकार राजेश विश्वकर्मा, बिमु ठाकुरी र सूर्य रावल को अभिनय रहेको छ। भिडियोको कथा राजेश विश्वकर्मा ले लेखेका हुन्। उनले यसअघि ‘कर्णाली तिर’ कथामा आधारित सिर्जनामा काम गरिसकेका छन् भने ‘बदनाम उपहार’ लगायतका गीतमा पनि अभिनय गरिसकेका छन्।
प्रेम, विश्वास र धोका जस्ता विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको भिडियोले दर्शकलाई भावनात्मक अनुभूति दिलाउने प्रयास गरेको छ। कथाकार विश्वकर्माले प्रेम सम्बन्धमा आउने उतारचढाव र विश्वासघातका पक्षलाई कथामा समेटेका छन्।
भिडियोमा जुम्लाको प्रसिद्ध कृष्ण मन्दिर, चैत्य स्तुपा (गुम्बा) तथा राष्ट्रिय झण्डा फहराइएको डाँडालगायतका स्थानमा छायांकन गरिएको छ ।
डाइरेक्सन सुमन खत्रीले गरेका छ्न भने गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियो मा गरिएको हो। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास निर्माण टिमले लिएको छ। गीत तथा भिडियो ‘Rajesh Bishokarma’ युट्युब च्यानलमार्फत हेर्न तथा सुन्न सकिनेछ।



