जुम्ला — हिजो रातिदेखिको अविरल वर्षाका कारण आज बिहान करिब ४ बजेदेखि कर्णाली राजमार्गअन्तर्गत टाकुल्ला खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि यात्रु र सवारीसाधनको आवागमन प्रभावित बनेको छ। अवरोध हटाई राजमार्गलाई पुनः सञ्चालनमा ल्याउन सम्बन्धित कार्यालयले बिहानैदेखि मेसिनसहित प्राविधिक टोली परिचालन गरेको जनाएको छ।
सडकमा खसेको पहिरो तथा ढुंगा–माटो हटाउने कार्य तीव्र रूपमा भइरहेको र मौसमले साथ दिएमा सडक छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ।
सम्बन्धित कार्यालयले वर्षायाममा यात्रा गर्दा विशेष सावधानी अपनाउन सबै यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ। आवश्यक जानकारी नलिई जोखिमयुक्त यात्रा नगर्न, सम्भावित पहिरो तथा बाढी प्रभावित क्षेत्रमा सतर्क रहन र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई निरन्तर पछ्याउन अनुरोध गरिएको छ।
प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार




