बाक्लो हिमपातका कारण गोठमै रोकिएका भेडीगोठाला उद्धार कुर्दै

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह आसपासको पानसय पाटन क्षेत्रमा बाक्लो हिमपातका कारण सम्पर्कविहीन भएका ६ जना भेडीगोठाला सम्पर्कमा आएका छन्। सम्पर्कविहीन भएका ६ जनासहित सो क्षेत्रमा रहेका १३ जना भेडीगोठाला नै सकुशल रहेको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालका अनुसार ६ जनासहित १३ जना नै अहिले सुरक्षित स्थानमा सँगै रहेका छन्। उनीहरू सबै प्रहरीको सम्पर्कमा आएको र डाडामा गएर हामीसंग कुरा भएको यता बाट भने फोन नलाग्ने दाहाल बताउनुभयो।


सम्पर्कमा आएका ६ जनामा लालबहादुर रावत, सुरबहादुर रावत, अबिराज बोहरा, झुसे भण्डारी, दानबहादुर रोकाया र बृष धराला रहेका छन्। उनीहरू लगायत अन्य भेडीगोठालाहरू पनि गिडिदह आसपासको गैरीगुम पाटन क्षेत्रमा भेडा चराउन गएका थिए।


चारैतर्फ बाक्लो हिमपात भएर पाटन क्षेत्र हिउँले ढाकिएपछि उनीहरूलाई बाहिर निस्कन निकै कठिन भएको छ। बाटोसमेत हिउँले ढाकिएकाले तत्काल गोठबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। बाहिर निस्कन नसकेपछि १३ जना भेडीगोठाला अहिले गोठमै उद्धारको प्रतीक्षामा रहेका छन्।


पानसय पाटनअन्तर्गत पर्ने ढांग्रे, ऐरीझाल, गैरीगुम, दुधवाडी र डण्डमाकाँध लगायतका क्षेत्रमा बिहीबारदेखि वर्षासँगै निरन्तर हिमपात भइरहेको छ। बाक्लो हिमपातका कारण उच्च पहाडी क्षेत्रमा चिसो बढ्नुका साथै आवतजावतसमेत कठिन बनेको छ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस