
जुम्ला । तातोपानी गाउँपालिकाको दुर्गम क्षेत्र भेरीखोलामा आयोजित निशुल्क स्वास्थ्य शिखिरबाट ४ सय ५ जना स्थानीय लाभान्वित भएका छन् । आर्थिक अभावले स्वास्थ्य सेवा र उपचारबाट बन्चित विपन्न नागरिकको राहतका ‘जनता संग अध्यक्ष’ कार्यक्रम अन्तरर्गत आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट तातोपानी वडा नं.७ र ८ का ४ सय ५ जना नागरिक लाभान्वित भएको तातोपानीका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईले बताउनुभयो ।
दुई दिन संचालन भएको शिविरमा पहिलो दिन शुक्रबार २५० जना र दोस्रो दिन शनिवार १५५ जना गरी ४ सय ५ जनाले विभिन्न समस्याको जाँचसंगै स्वास्थ्य उपचार गरेका हुन् । जसमा महिला २ सय ५१ ज्ना र पुरुष १ ५४ जनाले शिविरमा स्वास्थ्य जाँच गराएको स्वास्थ्य संयोजक चौलागाँईले जानकारी दिए । भने १२ जना गर्भवती महिलाको पहिलो पटक गाउँकै ताम्ती स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा उपभोग गरेका छन् ।
उनका अनुसार दुर्गम भेरीखोला क्षेत्रका नागरिकका लागि आयोजित स्वास्थ्य विशिरका लागि जनतासंग अध्यक्ष कार्यक्रमका ५ लाख बजेट खर्च भएको छ । भेरीखोला क्षेत्रमा अहिले सम्मकै ठुलो र सबै रोगको परिक्षण गर्ने शिविरको आयोजना गरेपछि नागरिकको उत्साहजनक सहभागिता रहेको थियो ।
शिविरमा अधिकांश महिलाको पाठेघरको समस्या,सेतो पानी बग्ने लगायतका स्त्रीरोग देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशषज्ञ डाक्टर पुजन रोकायाले बताउनुभयो । उहाँका अनुसार शिविरमै ३ जना नागरिकको शल्यक्रिया समेत गरिएको छ ।

लामो समयदेखि हड्डीको समस्या झेलिरहेका तथा खुट्टामा काँडा काँठ बिजेर ईन्फेक्सन समेत भएर जटिल बनेका ३ जना विरामीको शल्यक्रिया गरिएको हो । गाउँमै शल्यक्रिया गरेर निको भएपछि स्थानीय खुसी भएका छन् ।
तातोपानी ७ कि ८० वर्षिया रामकली रावत भन्छन,“शरिर दुख्ने,ओठमुख सुक्ने, ज्वरो आउने, पेट दुख्ने समस्याबाट लामो समयदेखि पिडित थिए । खलंगाको ठुलो अस्पताल गएर उपचार गर्ने पुँजी थिएन् । तर गाउँमै सेता एप्रोनधारी डाक्टर आउँदा साक्षात्कार भगवानै दर्शन पाए जस्तो भयो । भोट हालि जिताया अध्यक्षले हामी बुढाबुढीको मन पनि जित्या । स्थानीय सरकारको बल्ल महसुश भयो ।”
अहिले सम्म गाउँमा उचार गर्न कोहि आया छियानुन । अध्यक्षलेनै डाक्टर ल्याईकन आया थाहा पाएपछि उपचार गर्न आए निकै खुसी लागेको बताउनुभयो । रामकलीजस्तै तातोपानी ७ र ८ का सयौ नागरिक गाउँमै विशषज्ञ डाक्टरबाट उपचार पाउँदा खुसी भएका छन् ।
तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले दुर्गम भेरीखोला क्षेत्रका नागरिकको माग र समस्यालाई मध्यनजर गर्दै निशुल्क शिविर संचालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“शिविरको पहिलो दिनमै नागरिकको उत्साहजनक सहभागिताले स्वास्थ्य शिविरको ओैचित्य पृष्टि गर्यो ।‘जनतासंग अध्यक्ष कार्यक्रम’को बजेट जनताकै हित हुने आबश्यकतामुखि काममा खर्च गरिने छ ।”
उपचारबाट बन्चित विपन्न नागरिकले शिविबारबाट राहत पाएको अध्यक्ष चौलागाईको विश्वास छ । तातोपानी गाउँपालिकाको आयोजना तथा कर्णाली प्रतिष्ठानको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।



