३२ करोड लागतका १० पुलः ६ वटा बन्दै,४ पुल अझै निर्माण भएनन्

जुम्ला । रारा जाने पर्यटकीय मार्ग ‘नाग्म–गमगडी’ सडक अन्तरर्गत विभिन्न खोलामा निर्माण हुने १० वटा पक्की पुल मध्य ४ वटा पुलको निर्माण कार्य अझै सुरु हुन सकेको छैन् । सडक डिभिजन जुम्लाको पहल तथा पुल विभागको लगानीमा ठेक्का आह्वान भई निर्माण हुने भनिएका १० मध्य चार वटा पुलको निर्माण कार्य अझै सुरु नभएको हो ।

६ वटा पुलको निर्माणको भौतिक प्रगती न्युनतम २५ देखि ५० प्रतिशत सम्म भएपनि ४ वटा पुलको निर्माण कार्यनै सुरु भएको छैन् । नाग्म–गमगडी सडकको प्रवेशद्वारमै जग्गाको मुआब्जा विवादले भने पुल निर्माण अघि बढ्न नसकेको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले बताए ।

कालिकोट–हिमा गाउँपालिकाको सीमावर्ती क्षेत्र पातरखोलामा कालिकोटतर्फको जग्गा स्थानीयले नदिएपछि पुलको निर्माण रोकिएको छ । सडकको प्रवेशद्वार पातरखोलामा हिमा (जुम्ला) तर्फ पिल्लर निर्माण भइसकेको छ । तर कालिकोटतर्फको जग्गा नदिएपछि पुल निर्माण रोकिएको हो ।

मुआब्जा नपाएसम्म जग्गा नदिने जग्गाधनी पहिलेबहादुर रावतको अडानले काम अघि बढ्न सकेन । उनले भने,‘मुआब्जाको फाइल अघि बढाउने तयारी गरे पनि जग्गाधनीले मुआब्जा दिनै नसकिनेगरी २०÷२५ लाख माग गर्दा समस्या भएको छ । यसले गर्दा पुल निर्माणमा बिलम्व भएको छ ।’

पातरखोला पुलको एकतर्फी पिल्लर निर्माण भएपनि ‘लुम्सा खोला पूल,घट्टेखोला पूल,ज्यारीखोला पूल र गोठीज्युला खोला पूल’ गरी चार वटा पक्की पुलको निर्माण कार्य अझै सुरु हुन नसकेको सूचना अधिकारी चौलागाईले जानकारी दिए ।

निर्माण कम्पन्नीले काम अघि नबढाउँदा ४ वटा पुलको काम रोकिएको छ । ०७८ साल फागुन ९ गते ठेक्का सम्झौता भई आगामी ०८२ साल भदौ ८ गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि चार वटा पुललको काम सुरु नहुनुले निर्धारित समयमा पुल निर्माण नहुने प्रश्न खडा भएको छ । यदपी,सडक डिभिजनले निर्माण निर्माण कम्पन्नीलाई काम अघि बढाउन ताकेता दिईरहेको छ ।
६ पुलको प्रगती २५ देखि ५० प्रतिशत
नाग्म–गमगडी सडकको विभिन्न खोलामा पुल विभागको ३२ करोड ६८ लाख ९२ हजार बजेट लगानीमा १० वटा पक्की पुल निर्माण हुदैँ छन् । जसमध्य हाल ६ वटा पुल निर्माण भएको भौतिक प्रगती न्युनतम २५ देखि अधिकतम ५० प्रतिशत भएको छ । जसमा कालिकाखेतु खोला पुलको भौतिक प्रगती २५ प्रतिशत,बाजागाडा खोला पुलको ५० प्रतिशत,विष्टबाडा खोला पुलको ५० प्रतिशत प्रगती भएको छ ।

त्यस्तै,रोकायाबाडा पुलको ५० प्रतिशत,पिना खोला पुल मुगुको ५० प्रतिशत र गमगाड खोला पुलको २५ प्रतिशत मात्रै भौतिक प्रगती भएको सडक डिभिजन जुम्लाका सूचना अधिकारीले जानकारी दिए ।

‘हिम सगरमाथा कन्स्ट्रक्सन’ प्रालि भरतपुर–१० चितवनले १० वटै पक्की पुलको ठेक्का पाएको छ । मौसम प्रतिकुलता,जनशक्ति,निर्माण सामाग्री,बजेटको अभाव तथा कठिन भूगोलका बीच पनि निर्माण कार्यलाई गती दिईरहेको निर्माण कम्पन्नीको तर्क छ ।

बन्न बाँकी ४ वटा पुलको कामलाई पछि अघि बढाउने र निर्धारित समयमै १० वटै पुलको काम सम्पन्न गर्ने कम्पन्नीको दाबी छ । पुल निर्माणपछि रारा आउने पर्यटक र सिंजा क्षेत्र र मुगुका नागरिकलाई आवत जावतमा सहज हुने अपेक्षा गरिएको छ ।

वर्खामा खोलामा बाढी आउने र यातायातनै अबरुद्ध हुनुका साथै कुनै खोलाले बाईक समेत बगाउने समस्या नागरिकले भोग्दै आएका छन् । यदपी,९३ किमी दुरी रहेको नाग्म–गमगडी सडकका विभिन्न खण्डमा १० पक्की पुल बनेपछि यात्रा सहज हुने आशा पलाएको सिंजाका विवेन्द्र नेपालीले बताए । निर्माण हुन नसकेका ४ वटा पुलको निर्माण कार्यलाई अघि बढाउन सबैले चासो दिनुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस