सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागी तातोपानी गाउँपालिकाका जनप्रतिनिधिहरु । तस्बिरः सागर परियार
जुम्ला । अधिकांश मतदाताको जनप्रतिनिधि निर्वाचित भईसकेपछि गाउँ नफर्किने गरेको गुनासो छ । चुनावका बेला घर घरमा पुगेर भोट माग्दै निर्वाचित भएदेखि गाउँमा नआउने गरेको भन्दै नागरिकले जनप्रतिनिधिलाई गुनासो गर्दै आएका छन् ।
स्थानीय सरकार संचालनपछि गाउँमा सडक पूर्वाधार,खानेपानी,सिँचाइ कृषि,पर्यटनका क्षेत्रमा उल्लेखीय विकास भएपनि नागरिक आफुले चुनेका प्रतिनिधिसंग प्रत्यक्ष साक्षात्कार गर्न चाहान्छन् । तर जनप्रतिनिधिमा भने चुनाव जितेसंगै जनतासंगको दुरी बढाउदैँ जाने प्रबृति बढ्दो छ । जसका कारण गाउँमा हुने अधिकांश विकास निर्माण जनताको चाहना र आबश्यकता भन्दा पनि पालिकाले विनियोजन गरेका भरमा कार्यान्वयन गर्नुपर्ने स्थिती छ ।
ज्नप्रतिनिधि र नागरिकबीचको दुरी बढ्दै जाँदा स्थानीय सरकारको कार्यशैली र कार्यसम्पादन प्रति समेत असन्तुष्टी बढ्दै गएको देखिन्छ । तर जुम्लाको तातोपानी गाउँपालिकाका जनप्रतिनिधि भने नागरिकको गुनासो सुन्न गाउँ गाउँ पुग्न थालेका छन् ।
प्रत्यक्ष नागरिक माँझ पुगेर गुनासो,सल्लाह सुझाब आलोचना सुनेर पालिकाको नीति निर्माणदेखि सेवा प्रवाहमा सुधार ल्याउने उदेश्य सहित तातोपानीका जनप्रतिनिधि गाउँ गाउँ पुग्न थालेका छन् । तातोपानीका ८ वटा वडामध्य ३ वटा वडामा सम्पन्न सार्वजानिक सुनुवाई कार्यक्रम मार्फत जनप्रतिनिधिहरुलाई झण्डै ४० जना भन्दा बढी नागरिकले विकास र सेवा प्रवाह बारे गुनासो पोखेका छन् । गाउँमै भेट हुँदा खुसी व्यक्त गरेका छन् ।

प्रायः पालिकाको केन्द्रमा मात्रै सिमित हुने सार्वजानिक सुनुवाई कार्यक्रमलाई वडा वडामा आयोजना गरी गाउँका नागरिकका गुनासा सुन्न र नीति तथा कार्यक्रममा सुधार ल्याउने अभ्यास थालिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।
संघियता कार्यान्वयनपछि गाउँमा थुप्रै विकास भएको छ । तर नागरिक असन्तुष्ट छन् । उनले भने,‘एउटै वडामा करोडौका योजना निर्माण भएका छन् । तर प्रतिनिधि नागरिकको दुरी बढ्दा असन्तुष्टी बढ्दो छ । आफ्ना सुख दुखमा समेत स्थानीय सरकार साथमा छ भन्ने अनुभूति दिलाउन गाउँ गाउँ पुगिरहेका छौ ।’
तातोपानीका ८ वटा वडा मध्य ३ वटा वडामा पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत,वडाध्यक्ष लगायतका सरोकारवाला पुगेका छन् । भने अन्य ५ वटा वडामा समेत दशैँ अगाबै पुग्ने र गुनासा सुन्ने कार्यतालिका रहेको छ ।
३ वटा वडामा सम्पन्न सार्वजानिक सुनुवाई कार्यक्रम नागरिकले प्राय योजनामा बजेट कटौती हुने,योजना अनुगमनमा प्राविधिकहरु नियमित नआउने,जनप्रतिनिधि गाउँमै नफर्किने,योजना सम्झौतादेखि भुक्तानीको प्रक्रियाबारे थाहा नहुँदा दुःख पाउने गरेको भन्दै गुनासो पोखे । निर्वाचित भएको साढे दुई वर्ष गाउँमै पुगेका प्रतिनिधिसंग आफ्नो कुरा सुनाउन पाउँदा खुसी लागेको तातोपानी ५ की एकमाया चौलागाईले बताईन् । आगामी दिनमा पनि यसरी गाउँमै आएर भेट्घाट हुने आशा व्यक्त गरिन् ।

उपाध्यक्ष रेवती रावलले निर्वाचित भएको लामो समयपछि गाउँमा पुगेर वार्षिक गतिविधिको अवलोकन र नागरिकका गुनासा सुन्दा अझै जिम्मेवारीबोध भएको बताईन् । महिला शसक्तिकरण,क्षामता विकास,उद्यमशीलता विकासमा जोड दिदै आएपनि नागरिकले प्रत्यक्ष भेटेर कुरा गर्ने अबसर नपाएको महसुश भएको उल्लेख गरिन् ।
प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले पालिकाको सेवा प्रवाह र प्रशासनिक कामबारे धेरैलाई थाहा नहुने भएकोले गाउँमै पुगेर बुझाउन जरुरी रहेको उल्लेख गरे । पालिकाको टोलीनै गाउँ गाउँ पुग्ने अभियानले समृद्ध, गुनासो रहित पालिका निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
गत आवमा मात्रै तातोपानी २ मा कूल ५० लाख लागतमा १५ वटा योजना,वडा नं ३ मा ६० लाख लगातमा ११ शिर्षक अन्तरर्गत डेढ दर्जनबढी योजना र वडा नं ५ मा ६० लाख बढी लागतमा १९ योजना निर्माण भएका छन् ।

वडा सरकार सबैभन्दा नजिकको सरकार भएकोले विकास निर्माणदेखि सेवा प्रवाहबारे कुनै गुनासा सुझाव भए वडामा आएर भन्न तातोपानी ५ का वडाध्यक्ष छिरिङ महतले आग्रह गरेका छन् । त्यस्तै वडा नं. ३ का अध्यक्ष गार्कण रावल र वडा नं २ का अध्यक्ष चन्द्रमान बुढाले संघियतालाई बलियो बनाउन स्थानीय सरकार र नागरिकबीचको सम्बन्ध समधुर हुनु पर्ने बताएका छन् । उनिहरुले नागरिकका आबश्यकता परिपुर्ति हुने गरी पालिकालाईस्रोत साधनमा सक्षम बनाउनु पर्नेमा जोड दिए ।



