सुरक्षित नागरिक आवास कार्यक्रमको ३ करोड निकासा नआउँदा लाभग्राही मर्कामा

४१२ जनाले पाएनन् सुक्को बजेट,कार्यक्रम पठाएर बजेट पठाउन्न संघिय सरकार

जुम्ला । संघीय सरकारले सुरक्षित नागरिक आवासको बजेट निकासा नगर्दा लाभग्राही मारमा परेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत घरको छाना फेरेको वर्षौं बितिसक्दा पनि सरकारले बजेट निकासा नदिँदा लाभग्राही मारमा परेका हुन् । अति विपन्न तथा विपन्न नागरिकको घरको छानो फेर्ने वर्षामा पानी पर्दा चुहिने समस्याबाट मुक्त गर्ने लक्ष्यसहित सुरु भएको सुरक्षित जनता आवास कार्यक्रम अन्तर्गतको छाना फेर्ने कार्यक्रमले लाभग्राहीलाई ऋणमा डुबाएको छ ।

तातोपानी गाउँपालिकामा आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० मा ५१२ वटा घरको छाना फेर्ने कार्यक्रम स्वीकृत भई आएको थियो । पहिलो पटक ठूलो संख्यामा नागरिकको घरको छाना फेरिने कार्यक्रम स्वीकृत भएकोमा जनप्रतिनिधि पनि खुसी थिए भने सरकारले पैसा दिएर घरको छाना फेर्न पाउने भएपछि विपन्न नागरिक पनि उत्साहित नहुने कुरै भएन ।

प्रति व्यक्तिले ७५ हजारका दरले घरको छाना फेरिसकेपछि पैसा पाउने आशामा पालिकाका ८ वटा वडाका ५१२ घरधुरीले ऋण जोहो गरी आफ्नो घरको छाना फेरे । तर छाना फेरेको करिब तीन वर्ष बितिसक्दा पनि ४१२ जना लाभग्राहीले सुक्को भुक्तानी पाएका छैनन् । तातोपानी गाउँपालिका–६ का नवराज नेपालीले छाना फेर्ने कार्यक्रमले ऋणमा डुबाएको गुनासो पोखे । सरकारले राहत दिएर छानो फेर्न लाग्यो भनेर खुसी भए पनि ऋण लागेर तनाव भएको छ ।

उनले भने, ‘कसैले ७५ हजार पाए, कसैले ५० हजार पाएँ भन्छन्, हामीले हालसम्म सुक्को पाएका छैनौ । ब्याजे रकम निकालेर छानो फेर्‍यौं । विपन्न नागरिकलाई यस्तो दोहोरो मारमा पर्ने काम किन गरियो ? चाँडै भुक्तानीको व्यवस्थापन गरिनु पर्छ ।’ सोही वडाकै स्थानीय पूर्ण विष्टले छाना फेरेको रकम तत्काललै पाउने व्यवस्था गरिदिन पालिकाका जनप्रतिनिधिसमक्ष माग गरेका छन् । घरमा काम गरेका मिस्त्री ज्याला माग्न आइरने, ऋण मागेको साहुले मागिरहने भएकाले निकै समस्या परेको उनको दु:खेसो छ ।

तीन करोड १७ लाख भुक्तानी आउन बाँकी
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले सुरक्षित नागरिक आवास कार्यक्रमको तीन करोड १७ लाख भुक्तानी आउन बाँकी रहेको बताए । उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ५१२ वटा घरको छाना फेर्ने गरी कार्यक्रम स्वीकृत भएको थियो । प्रतिव्यक्ति ७५ हजार उपलब्ध गराउने भनिए पनि बजेट अभावका कारण लाभग्राहीलाई भुक्तानी दिन नसकिएको उनको भनाइ छ ।

कुल बजेट तीन करोड ८४ लाख भुक्तानी आउनु पर्नेमा हालसम्म तीन आर्थिक वर्षगरी ६८ लाखमात्रै निकासा आएको छ । जसमा आव २०७९/०८० मा आठ लाख, आव २०८०/०८१ मा ४२ लाख र चालु आव २०८१/०८२ मा १८ लाख गरी ६८ लाखमात्रै निकासा आएको प्रशासकीय अधिकृत कठायतले जानकारी दिए । हालसम्म ५१२ जना लाभग्राहीमध्ये ११ जनाले मात्रै अन्तिम भुक्तानी पाएका छन् । अन्तिम भुक्तानी पाउने सबै अतिविपन्न परिवार हुन् भने ८४ जनालाई ५० हजारका दरले भुक्तानी दिइएको छ । तर बजेट अभावकै कारण बाँकी ४१२ जनाले भुक्तानी पाउन सकेका छैनन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले सुरुमा धेरै घर स्वीकृत भएको भनेर खुसी भए पनि संघीय सरकारले बजेट निकासा नदिँदा पालिकालाई सुरक्षित आवास कार्यक्रम निल्नु न ओकल्नु भएको बताए । उनले भने, ‘बजेट निकासा गरिदिन दिन धेरै पटक मन्त्रालयमा धाए पनि सुनुवाइ नै भएको छैन । करोडौं भुक्तानी दिन बाँकी छ । लाखमा बजेट आइरहेको छ । यही गतिले लाभग्राहीको भुक्तानी दिन दशक लाग्ने देखिन्छ ।’ दैनिक लाभग्राही पालिकामा भुक्तानी माग्न आउने भएकाले संघीय सरकारसँग बजेट व्यवस्थापनका लागि निरन्तर पहल भइरहेको अध्यक्ष चौलागाईंले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस