जुम्लामा ८ स्थानीय तहका ६० वटा वडा छन् । यहाँको सवै स्थानीय तहका मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । ६० वडा मध्ये तिला गाउँपालिका –६, ७, ८ र ९ वडा अर्थात तत्कालिन घोडेमहादेव र मालिकाठाँटा गाविस राष्ट्यि सडक सञ्जालमा जोडिएका थिएनन् ।
तिला गाउँपालिका – १ रारालिहि स्थित तिला नदिमाथि मोटरयवल पक्की पुल निर्माण भएपछि यहाँका दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि राष्ट्यि सडक सञ्जालमा जोडिएका छन् ।
यो क्षेत्रमा १३ वटा गाउँबस्ती रहेका छन् । यहाँका हरेक गाउँबस्तीमा पुग्ने ग्रामिण सडक खनिएपछि पुल निर्माण नभएकाले सवारी साधन सञ्चालनमा आउन सकेका थिएनन् ।
यो दुर्गम क्षेत्रमा घोडेसिम, तुही, पोखरी, घोडे, सुडी, रिपी, ढिपु, राँसा, मालापानी, जुम्लाकोट, पुरु, माथिल्लो खोप्री र तल्लो खोप्री गाउँबस्ती अब सडकले जोडिएका छन् ।
तिलाका दुर्गम क्षेत्रलाई सडक सञ्जालमा जोड्नका लागि तिला नदिमाथि पक्की पुल निर्माण गर्नका लागि निकै प्रयास गर्नु परेको गाउँपालिका निर्वतमान अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, संघीयतापछि स्थानीय तहको पहिलो पाँच वर्ष कार्यकालमा गाउँपालिकाको प्रशासकीय भवनदेखि अन्य थुप्रै भौतिक संरचना निर्माणका काम भए । हाम्रो कार्यकालमा केही आयोजना निर्माण सम्पन्न भईसकेका थिए भने केही निर्माणकै क्रममा रहेका थिए ।
पुल नबन्दा निकै जोखिमपूर्ण यात्रा गर्नुपरेको तिला–६ का वडाध्यक्ष जंग रोकायाले बताए । उनले भने, पुल निर्माण पश्चात अब सहज हुने अपेक्षा गरिएको छ । खासगरी यो क्षेत्र रैथाने बाली उत्पादनको भण्डार हो । यहाँमा उत्पादन हुने आलु, सिमि, मकै, फापर, स्याउ, ओखर सहज रुपमा बजारीकरण हुने छ ।
तिला नदीमाथि मोटरयवल स्टिल ब्रिज पुल निर्माण सम्पन्न भएको खड्का निर्माण सेवाका सुमन खड्काले बताए । उनले भने, सवारीसाधन आवतजावत गर्न मिल्ने भएको छ । केही पुलको छेउछाउमा ग्याविन जाली राख्ने काम भई रहेको छ । सडक डिभिजन जुम्लाको भ्याट बाहेक १५ करोड बजेटमा खड्का निर्माण सेवाले पुल निर्माण गरेको हो । पुल निर्माण गर्ने तीन वर्ष ठेक्का सम्झौता भएपछि पहिलो पुलको डिजाइन नै फेल भयो । दोस्रो पटक पुल निर्माणको पुन डिजाइन गरेपछि एक वर्षमै पुल बनेको खड्का निर्माण सेवा जुम्लाले जनाएको छ ।



