जुम्ला । जुम्लामा अधिकांश सरकारी कार्यालयहरुको उपस्थिती बिनै समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिले समिक्षाका लागि चारदिन अघि पत्राचार गरेपनि बेवास्ता गर्दै अधिकांश कार्यालय र स्थानीय तह उपस्थित भएका थिएनन् ।
आठ पालिका रहेको जुम्लामा चन्दननाथ नगरपालिका बाहेक सात वटै गाउँपालिका समिक्षा कार्यक्रममा अनुपस्थित थिए ।
सरकारी तथ्यांकनुसार जुम्लामा संघ र प्रदेश तर्फ गरी कूल ५६ वटा सरकारी कार्यालय रहेका छन् ।
बुधबार जिल्ला समन्वय समितिको हलमा आयोजित सरकारी तथा गैरसरकारी कार्यालयहरुको आव २०८०÷८१ को वार्षिक समिक्षा कार्यक्रममा जिल्लाका १० वटा सरकारी कार्यालय र तीन वटा गैरसरकारी कार्यालय प्रगती प्रतिवेदन प्रस्तुत गरेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।
जिल्लाका आठै पालिका,सबै विषयगत सरकारी कार्यालयलाई चारदिन अघि पत्राचार गरेपनि बेवास्ता गरेर होकी,सबै बिदामा गएर होकी पत्रको थाहा नपाएर हो कार्यक्रममा अधिकतम कार्यालय अनुपस्थित रहेको उनको भनाई छ ।
उनले भने,‘ईमेल मात्र सबै पालिकामा पत्र पठाएका छौ । सबै पालिकामा आईटी छन् । हेर्नु पर्ने हो । धेरैलाई हातमै पत्र पठाएका छौ । समिक्षामा मात्र नभई अन्य कार्यक्रमहरुमा स्थानीयतहको यस्तै असहयोगले काम गर्न मुस्किल छ । सबैको साथले मात्रै काम गर्न सम्भव छ ।’

चन्दननाथ नगरपालिका,स्याउ सुपरजोन,सडक डिभिजन,कृषि विकास कार्यालय,पशु अस्पताल तथा पशु सेवा कार्यालय लगायत १० वटा सरकारी कार्यालय र किर्डाक नेपाल,पेश नेपाल र हातेमालो नेपाल गरी ३ गैससको मात्रै प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
समिक्षा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले सात पालिका सहित अधिकतम सरकारी कार्यालयको अनुस्थित भएर जिल्ला समन्वय समितिको बेवास्ता गरेको प्रति .कडा आपत्ती जनाए ।
उनले भने,‘लाखौका गाडी चढेर ठाउँ ठाउँ जान हुने । समन्वय समितिले पत्रचार गर्दा पनि समिक्षामा नआउने ? पालिकाका अध्यक्ष उपाध्यक्ष हाकिम साढे बनेका छन् । जिल्लाको प्रमुखले निमन्त्रण गरेको कार्यक्रम बेवास्ता गर्ने पालिका प्रमुख उपप्रमुख हाकिम को हुन् ? चुनावका बेला मात्रै पार्टी त्यसपछि सबैको साझा बन्नुपर्छ ।’
तिहार बिदा हुनु अगाडीनै धेरै हाकिमहरु मनपरी रुपमा बिदामा गएको प्रति तिहार लगत्तै सबै कार्यालयको अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाईने समेत सांसद शाहीले चेतावनी दिए ।

सरकारी कार्यालयको प्रगती प्रतिवदेन औपचारिकतामै सिमित छ । जनताको करबाट तलब खाएर जनताको काम गर्न पनि कन्जुसाई गर्ने,वार्षिक समिक्षामा पत्रचार गर्दा पनि नआउने पालिका प्रमुखदेखि कार्यालय प्रमुख संग तिहार पछि एकएक गरेर हिसाब गर्ने समेत उनको चेतावनी छ ।
उनले थपे,‘दुई वर्ष सबैले राम्रै गर्छहोला भनेर चुप लागेको हो । तर जुम्लाको मुटु नगरपालिकामै विकासको अबस्था हरिविजोक छ । अन्य आठ पालिकाको गति त्यस्तै । सधै बजेट छैन् मात्रै भन्ने,आएको करोडौ बजेट फिर्ता किन हुन्छ ? जिल्लाको समिक्षा देखेर दया लागेर आयो ।’

त्यस्तै चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले जिल्ला स्थित विषयगत कार्यालयहरुले प्रभावकारी समन्वय नगर्दा काम गर्न मुस्किल भएको बताईन् । न्युन स्रोत साधनका बीच पनि जनताको आबश्यकतानुसार काम गरीरहेकोले आगामी दिनमा सबैको समन्वय सहकार्यले अघि बढ्ने उनको भनाई छ ।



