जुम्ला । ६ महिनादेखि अन्धरकार तातोपानी गाउँपालिका–७ का ताम्ती र बारागाउँमा बत्ती बलेको छ । विद्युतगृहको जेनेटरको क्वाईल, मोनिटर लगायतका सामग्री बिग्रिएपछि ६ महिना अन्धर बनेको ताम्ती र बारागाउँमा बत्ती बलेको हो । गाउँगाउँमा राष्ट्रिय प्रशारण लाइन पुगेर दैनिकी सहज बनेको बेला ६ महिनामा अन्धकार हुँदा स्थानीयले कष्टमात्र पाएका थिएन् ।
मेसिन बिग्रिएर ६ महिनासम्म विद्युत अवरुद्ध भएको विषय स्थानीयले पालिकालाई समेत जानकारी दिएनन् । तर गाउँपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक विशाल खड्काले विद्युतगृहको अनुगमनपछि बिग्रिएका पाटपुर्जा मर्मत गर्न पालिकामा सहजीकरण गरेपछि ६ महिनापछि गाउँमा नियमित रूपमा सञ्चालनमा आएको दारिमखोला लघुलजविद्युत आयोजनाका अध्यक्ष रतनबहादुर रावतले बताए ।
‘गाउँलेले पैसा उठाएर मर्मत गरौंला भन्दै महिनौ बितेको थियो । तर वडा नंं. ६ का अध्यक्ष विशाल खड्का आएपछि मर्मतको बाटो खुल्यो । पालिकाले आफ्नै खर्चमा मेसिन बुटवल लिएर बनाएर हाल बत्ती सञ्चालनमा आएको छ । वडाध्यक्ष खड्काको पहलप्रति स्थानीय खुसी छौं ।’
दुई सय किलोवाट क्षामताको विद्युतबाट ताम्ती र बारागाउँका ३५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । यो आयोजना करिब नौ वर्ष पहिले ८० लाख लगानीमा निर्माण गरिएको हो । ६ महिनापछि गाउँघर झिलिमिली भएपछि स्थानीय खुसी भएका छन् ।
गतसाता उक्त विद्युत आयोजनाको तातोपानी गाउँपालिका अध्यक्षसहितको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले ६ महिनासम्म पालिका र सम्बन्धित वडाध्यक्षलाई समेत थाहा नभएको कुरा ६ नम्बर वडाध्यक्षले पत्ता लगाई मर्मत गर्न समन्वय गरेर बत्ती बल्न सम्भव भएको बताए । पलिकाले खर्च बेहोर्नु पर्ने गरी बुटवल पठाएर मेसिन मर्मत गरी ल्याइएको छ । बिल भरपाइ आइपुगेको छैन ।
आवश्यक खर्च पालिकाले भुक्तानी गर्ने अध्यक्ष चौलागाईंको भनाइ छ । विद्युत मर्मतका पहलकर्ता विशाल खड्का भन्छन्, ‘भेरीखोलाका स्थानीयसँंग भेटघाटका लागि ताम्ती आउँदै गर्दा बस्तीहरू अँध्यारै देखेपछि विद्युत बिग्रिएको थाहा भयो । त्यसपछि पालिकामा छलफल गरी बिग्रिएको पाटपुर्जा बनाउने, छिटो बत्ती प्रवाह गर्न सकजीकरण गर्ने निर्णय भएपछि बत्ती बलेको हो ।’
बत्ती बलेपछि बालबालिकालाई पठनपाठन गर्न सहज भएको छ । गाउँमा विद्युतबाट सञ्चालन हुने विभिन्न काम अघि बढेका छन् । ताम्ती बारा गाउँका स्थानीयले गाउँमा सञ्चालित विद्युत आयोजना मर्मतका लागि छुट्टै बजेट व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् ।



