जुम्ला । जुम्लाको तातोपानी गाँउपालिकाले विद्यालय दिवा खाजालाई विशेष प्रथामिकता साथ अघि बढाएको छ । जिल्लाकै पहिलो पालिकाका रुपमा सबै सामुदायिक विद्यालयमा अनिवार्य अर्गानिक दिवा खाजा खुवाउने अभियान चलाएको छ ।
सामुदायिक विद्यालय प्रति विद्यार्थीको आर्कषण बढाउन,शैक्षिक गुणस्तरमा सुधार ल्याउन र रैथाने बालीको उपभोग तथा उत्पादनबृद्धिका लागि विद्यालयमा अनिवार्य दिवा खाजा अर्गानिक गरिएको छ ।
विद्यालयमा प्रदान गरिने दिवा खाजालाई पोषणयुक्त बनाउन महिला स्वास्थ्य स्वयमसेविका देखि विद्यालय सहयोगी तथा भान्सेलाई दिवा खाजा तयारीबारे तालिम प्रदान गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईल ेबताए । उनका अनुसार शुक्रबार स्वयम सेविकालाई तालिम दिइएको थियो । भने शनिवार विद्यालय भान्से र सहयोगीहरुलाई एकदिने तालिम सम्पन्न भएको छ ।

तालिममा पोषणयुक्त दिवा खाजा बनाउन कुन अन्नको मात्रा गति हाल्ने कति पकाउने लगायतका विषयमा प्रशिक्षक चित्र बुढाले सिकाएका छन् । स्थानीय उत्पादन कोदोको पिठो,फापरको पिठो लगायतका अन्नबाट बनाउने परिकारबारे सिकाईएको प्रशिक्षक बुढाको भनाई छ ।
अध्यक्ष चौलागाई भन्छन,‘शैक्षिक क्षेत्रलाई विशेष प्रथामिकता दिएर काम गरिरहेका छौ । विश्वखाद्य कार्यक्रम रेरास परियोजना र पालिकाको संयुक्त लगानीमा अर्गानिक दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै पक्षमलाई दक्ष बनाउन तालिमको आयोजना गरिएको हो ।
तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाई राख्न र स्थानीय उत्पादनको उपभोगलाई बढाउन पनि अर्गानिक दिवा खाजा अनिवार्य रहेको बताईन् ।
प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले स्थानीय उपजको उपभोग गर्दा किसानले पनि मुल्य पाउने बालबालिकाले पनि अर्गानिक खान पाउने हुँदा यस्ता कार्यक्रम सबैले संचालन गर्नु पर्ने बताए ।

शनिवार तातोपानी गाउँपालिकाको आयोजनामा, बिश्व खाद्य कार्यक्रमको सहयोग र सहजिकरणमा रेरास परियोजना अन्तर्गत स्थानीय कृषि उपजमा आधारित पोषणयुक्त दिवा खाजा तयारी सम्बन्धि विद्यालय सहयोगी र भान्सेहरुलाइ एक दिने पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न भएको छ ।
पालिकाभरका २९ वटै सामुदायिक विद्यालयको प्रतिनिधित्व हुने गरी तालिममा सहभागिता रहेको थियो । तालिम लिने मात्र नभई विद्यालयमा गई व्यवहारमा कार्यान्वयन गर्नेमा पालिकाको अपेक्षा छ ।



