तिलामा पञ्चवर्षीय बाल रणनीतिक योजना कार्यान्वयन हुदैँ

जुम्ला – तिला गाउँपालिकाले पञ्चवर्षीय बाल रणनीतिक योजना बनाएको छ । बालबालिकाको क्षेत्रमा गर्न सकिने कामलाई समावेश गर्दै गाउँपालिकाले बाल रणनीतिक योजना बनाएको हो । किर्डाक नेपाल जुम्लाको सहजिकरण र वल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा गाउँपालिकाले बाल रणनीतिक योजना बनाएको अध्यक्ष मोतिलाल रोकायाले बताए । बुधबार गाउँपालिकामा आयोजित बाल कचहरी कार्यक्रममा बोल्दै उनले बाल अधिकार रक्षाका लागि स्थानीय सरकारले बाल रणनीतिक योजना बनाएको बताए । उनले भने, संभवत जुम्लाकै पहिलो रणनीतिक योजना हो ।

पञ्चविर्षय रणानीतिक योजना कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ । अध्यक्ष रोकायाले भने, रणनीतिक योजना निर्माण भएको करिब एक वर्ष हुन लागेको छ । बाल अधिकारका विषयमा सरकार सधै सकारात्मक रहेको छ । पालिका स्तरीय बालवालिकाका सुझावलाई सरकारले नीति निर्माणमा समेटेको छ ।


गरीब, जेहेन्दार, टुहुरा, अनाथ र असाय बालबालिकाको हितका लागि बाल अक्षय कोष पालिकाले स्थापना गरिएको छ । १ लाख ३० हजार रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । कोषमा रकम वृद्धि गर्ने तयारीमा सरकार जुटेको अध्यक्ष रोकायाको भनाइ छ । उनले भने, स्थानीय सरकार बालबालिकाको अधिकार रक्षामा संवेदनशिल रहेको छ । बाल कचहरी कार्यक्रममा तिलाका शुष्मा हमाल, गणेश परियार, सन्देश परिया र रजना शाही लगायतका बालबालिकाले सोधेका प्रश्नमा जवाफ दिदै उनले पालिका स्तरीय बालबालिकाको अवस्था पहिचान हुने बाल प्रोफाईल चालु आर्थिक वर्षमा निर्माण हुने बताए ।


प्रोफाईल तयारीका लागि आवश्यक पर्ने ४ लाख रुपैयाँ कार्यपालिका बैठकबाट विनियोजन गरिने अध्यक्ष रोकायाले बताए । यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत जानकी हितानले बाल समृद्धिका लागि सरकार तत्पर रहेको बताइन् ।
तिला ६ जुम्लाकै पहिलो बालमैत्री वडा घोषणा भएको अवगत गराउँदै उनले वडा– ३, ४ र ८ लाई बालविवाह र बालमैत्री वडा घोषणाको तयारी भइरहेको बताइन् । नेपाल सरकारको लक्ष्य भन्दा पहिले तिला बालमैत्री पालिका घोषणा भइ सक्ने हितानको भनाइ छ ।
बालबालिकाको सहभागितामा बन्नेको रणनीतिक योजनालाई कार्यान्वयनमा लैजानका लागि बालबालिकाले पनि सहयोग गर्नुपर्ने उनले बताइन् । यस्तै महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापाले बालबालिकाको क्षमता विकासका कार्यक्रम दातृ निकायसँग मिलेर संचालन भएको बताइन् । उनका अनुसार, गतवर्ष बाल भेला र बालबालिकाको क्षमता विकास लगायतका कामहरु गरिएको जानकारी दिइन् ।
शिक्षा युवा तथा खेलकुद शादा प्रमुख झनमाया खत्रीले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालय हातासम्म लिने काम भइरहेको बताइन् । गुणस्तरीय शिक्षा बालबालिकालाई प्रदान गर्नको लागि शाखाले अनुगमन गरि रहेको उनको भनाइ छ । वल्डभिजन इन्टरनेशनल नेपालको सहयोग, किर्डाक नेपाल जुम्लाको आयोजना, तिला गाउँपालिकाको समन्वय र रेडियो माउन्टेन एफएमको सहिजकरणमा तिलामा बाल कचहरी कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस