जुम्ला-कर्णाली प्रदेशको हिमाली क्षेत्रमा पर्ने जुम्लामा पानी (यार्सा मिनिरल्स वाटर) उद्योग पुन सञ्चालनमा आएको छ । ०७३ सालतिर पहिलो पटक एक करोड बढी रुपियाँ लागतमा पानी ‘यार्सा मिनरल्स वाटर’ उद्योग स्थापना गरिएको थियो । पातारासी गाउँपालिका – ६ उर्थुचौतारामा स्थापना भएको पानी उद्योग प्राविधिक कारणले केही बर्ष बन्द भएपनि पुन सञ्चालनमा ल्याएको उद्योग सञ्चालक गणेश रोकायाले बताए । उनले भने, पानीको जार मंसिर देखि बजारमा आएपनि बोतलमा पानी भने फागुन दोस्रो सातादेखि बजारमा आएको छ ।
हिमाली जडिबुटि मिसावट मुलको पानी उपकरणमार्फत सुद्धिकरण गरी जार र बोतलमा विक्रीवितरण भएको उनले बताए । पछिल्लो चरणमा २० लाख खर्च गरी उद्योग पुन सञ्चालनमा ल्याएका छौँ । अहिले तीन जना कर्मचारी उद्योगमा रोजगार छन् । दुई जना कर्मचारी थप गर्नुपर्ने स्थिति देखिएको छ ।
अहिले पानी काटुनमा १९० रुपियाँमा बेचिरहेका छौँ । उपभोक्तासम्म पुग्दा प्रति जार ७० रुपियाँसम्म पर्न जान्छ । उद्योगी रोकायाले भने बाहिरबाट आउने जार बोतलको पानी बोरिङबाट निकाल्छन् भने यहाँ शुद्ध मुलको पानी प्रोसेसिङ फिल्टरिङ (शुद्धिकरण) गर्ने गर्दछौँ । जसले गर्दा बाहिरबाट आएको पानी भन्दा यहाँको पानी निकै सफा र शुद्ध हुन्छ ।
यार्सा मिनिरल्स वाटर बजारीकरण गर्दै आएको तोरनसिंह कठायतले भने बाहिरको पानी भन्दा यहाँ उत्पादन भएको सस्तो मुल्यमा विक्री भई रहेको छ । डिलरलाई १९० रुपियाँ र अरु व्यापारीलाई दुई सय रुपियाँमा विक्री गर्ने गरिएको छ । बाहिरबाट आएको पानी फुटकरमा प्रति बोतल ३० रुपियाँ, काटुनमा २३० देखि २५० रुपियाँसम्म विक्री भई रहेको छ ।
पहिला यहाँ विजुली नहुदा यहाँ उत्पादन भएको पानी जेनेरेटरबाट चलाउदा बाहिरको भन्दा महंगो पर्ने जान्थ्यो । तर अहिले यहाँ करिव एक मेगावाटको विजुली उत्पादन भएपछि विजुलीबाटै पानी उद्योग सञ्चालन गर्न थालेपछि सस्तो भएको हो । अब बाहिरको पानी यहाँ खपत नहुने देखिएको बजारकरण गर्दै आएका कठायतले बताए ।



