जुम्लामा व्यापारीकाे लापरबाहीले ठगिँदै उपभाेक्ता,सचेतना बृद्विमा जाेड

जुम्ला । जुम्लामा व्यापारीहरुको लापरबाहीकै कारण उपभोक्ता ठगिने गरेको पाइएको छ । म्याद सकिएका अखाद्य वस्तु विक्री गर्नेदेखी बील विजक नदिने मनमर्जी रुपमा सामान विक्री गरेर व्यापारीले उपभोक्ता ठगिरहेका छन् ।

प्राय हुने बजार अनुगमन औपचारिकतामै सिमित हुने र गाउँ स्तर सम्म पुगेर उपभोक्ता अधिकार सम्बन्धी सचेतना नपुग्दा उपभोक्ता ठगिन पुगिन हुन् । जुम्लाका व्यापारीले विल बिजक नदिएर,अखाद्य वस्तु बेचेर उपभोक्तालाई मात्र ठगेका छैनन् । दतौ बिनै व्यवसाय संचालन गरी राज्यलाई ठगीरहेका छन् ।

जुम्लामा शनिवार आयोजित विश्व उपभोक्ता अधिकार दिवसमा सहभागी उपभोक्ता तथा सरोकारवालाले जुम्लामा व्यापारीको गैरजिम्मेवारीपनले उपभोक्ता मारमा परेको बताएका छन् । नागरिक समाजका अध्यक्ष राज बहादुर महतले जिल्लाका साना ठुला व्यापारीले गाउँका सोझा साँझा उपभोक्तालाई ठग्ने गरेको बताए ।

उनले भने,‘अधिकांश उपभोक्तालाई सामान किनेपछि बील अनिवार्य लिनुपर्छ भन्ने चेतना छैन् । सामान बेचेपछि व्यापारीले अनिवार्य रुपमै बील दिनुपर्छ । तर दिएको पाईदैन् । अखाद्य वस्तुको विक्री पनि गाउँका व्यापारीले गरिरहेकै छन् । प्रायःबजार केन्द्रित मात्रै अनुगमन हुँदा त्यसको असर गाउँका उपभोक्तालाई छ ।’

नेपालको संविधान र उपभोक्ता अधिकार ऐन–२०७५ तथा नियमावली–२०७६ को हरेक उपभोक्तालाई स्वच्छ तथा गुणस्तर वस्तु उपभोगको अधिकार सुनिश्चित गरेको छ । तर जुम्लाका व्यापारी व्यवसायीहरु भने उपभोक्ता अधिकार कार्यान्वयनमा उदासिन देखिएका छन् ।

१४ औँ जिल्ला परिषदबाट २०६४ सालमा अर्गानिक जिल्ला घोषणा भएको जुम्लामा आयात हुने खसी बोका,तरकारी फलफूल लगायत खाद्यन्न बालीको क्वारेन्टाईन जाँच गर्ने कुनै संयन्त्र छैन् ।

नाममा अर्गानिक जिल्ला घोषणा भएपनि कार्यान्वयनको अबस्था निकै कमजोर हुँदा उपभोक्ता अधिकार हनन् भईरहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले बताए । सदरमुकामका ठुला डिलरहरुमा थन्कीएका अखाद्य वस्तुहरु गाउँका बजारमा पठाउने र विक्री गर्ने गरेको देखिन्छ । त्यसैले बजार अनुगमन गाउँ केन्द्रित बनाउनु पर्ने उल्लेख गरे ।

उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले व्यवसायी उपभोक्ता प्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्ने देखिएको बताए । अधिकांश उपभोक्ता बील विजक लिनु पर्ने तथा मिति गुज्रिएको थाहा नपाउने भएको हुँदा व्यापारीलेनै उपभोक्ता सहजीकरण गर्नुपर्ने उनको भनाई छ । दर्ता बीनै संचालन भएका व्यवसायको हकमा आन्तरिक राजश्व कार्यालयसंग समन्वय गरी लगत संकलन गरी दर्ता प्रक्रियामा ल्याईने उल्लेख गरे ।

व्यवसायी रामकृष्ण चौलागाँईले उपभोक्ता अधिकार सुनिश्चित गर्न सचेतना बृद्धिमै जोड दिनु पर्ने उल्लेख गरे । तर आम उपभोक्ताले गुनासो नगरेपनि केही सचेत उपभोक्ताको समेत गुनासो नआउँदा व्यापारी सच्चीने मौका नमिलने उल्लेख गरे । यपदी आफ्नो उद्योगबाट लेबलिङ,प्याकेजिङ गरिएका गुण्स्तर वस्तुमात्रै बेच्ने गरेको दाबी गरे ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले उपभोक्ता अधिकार सुनिश्चित गर्नका लागि व्यापारी,उपभोक्ता देखी विषयगत क्षेत्रका सबै निकाय जिम्मेवार हुनुपर्ने बताए । उपभोक्ता अदालतको समेत राज्यले परिकल्पना गरेको अबस्था सबै सेचत हुनुपर्ने उदेखिन्छ ।

पशु तथा मासुजन्य वस्तुको गुणस्तर मापन गर्न पशु अस्पताल तथा पशुसेवा कार्यालय,होटलको गुणस्तर मापन गर्न गुण नियन्त्रण कार्यालय,व्यवसाय दर्ता र नियमन बारे आन्तरिक राजश्व कार्यालय र उद्योग बाणिज्यले अपेक्षाकृत रुपमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताए ।

अब हुने बजार अनुगमनमा उपभोक्ता ठग्ने जोसुकै व्यापारीलाई सिधै आर्थिक जरिवाना सहितको कारबाही हुने प्रजिअ शाहीको भनाई छ । हालसम्म सामान बरामद गर्ने,सम्झाउने गरिएपनि व्यापारीले अटेरी गरेकोले अब कानुन अनुसारको कारबाही अघि बढाईने उल्लेखगरे ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जुम्लाका व्यापारीहरु सेवा मुलक भन्दा नाफामुखी हुँदा उपभोक्ता मारमा परेको बताए । उनले भने,‘उपभोक्ता सजग हुने र व्यापारी उत्तरदायि बन्नु पर्याे । नियमित अनुगमन,चेकजाँचमा सबैले जोड दिउँ । अखाद्य वस्तु बेच्नेलाई जरिवाना नगरेसम्म कुनै हिसाबले उपभोक्ता ठगिने क्रम रोकिनेवाला छैन् ।’

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योेगीले उपभोक्ता अधिकार ऐन–२०७५ र नियमावली–२०७६ को कार्यान्वयन गरी स्वच्छ र गुणस्तर वस्तु उपभोक्ताको पहुँचमा पुराउन सचेतना बृद्धिमा जोड दिईने बताए ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस