सिंजा गाउँपालिकाको केन्द्र स्थित नराकोट बजार र आसपासको क्षेत्र । तस्बिरः कर्णाली मिसन
जुम्ला । जुम्लाको सिंजा गाउँपालिका स्थित नराकोट बजारमा पहिलो पटक १२ दिन लामो सिंजा महोत्सवको आयोजना हुने भएको छ । सिंजा क्षेत्रको कृषि, पर्यटन, भाषा र संस्कृतिको साझा उत्सव रुपमा पहिलो पटक सिंजा महोत्सवको आयोजना हुने भएको हो ।
सिंजा संचार केन्द्रको आयोजनामा सिंजामा पहिलो पटक १२ दिन लामो महोत्सव आयोजना हुने छ । आगामी बैशाख १० गतेदेखि २१ गतेसम्म, १२ दिनसम्म सिंजा गाउँपालिका स्थित नराकोट बजार नजिकैको चुलेल गाउँ,चाँगामा सिंजा महोत्सव २०८२ संचालन गरिने आयोजकले जनाएको छ ।
सिंजा संचार केन्द्रको आयोजनामा तथा सिंजा गाउँपालिकाको संरक्षण र भावना एम्युजमेन्ट प्रालिको व्यवस्थापनमा हुने यस महोत्सवले सिंजाको अद्वितीय भाषा, संस्कृति, कृषि, पर्यटन र व्यापारको समग्र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
खस भाषा, संस्कृति र सभ्यताको प्रचार–प्रसार,जुम्लाको प्रसिद्ध कृषि उपज—मार्सी धान, स्याउ, सिमी, ओखर र रैथाने बालीहरूको प्रदर्शन तथा महत्वको चर्चा तथा ऐतिहासिक स्थलहरू—कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफा, भैरवनाथ, केदारनाथ, हिमनदीहरू तथा सिजा उपत्यकाको पर्यटन प्रवद्र्धनका पहिलो पटक महोत्सवको आयोजना हुन लागेको छ ।
महोत्सवमा सिंजाको मौलिक भेषभूषा, जीवनशैली, मस्टो संस्कृति परम्परागत ज्ञानको संरक्षण र प्रदर्शन गरिने छ । १२ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकारहरूद्वारा सांगीतिक प्रस्तुती रहने छ । विभिन्न सांस्कृतिक कार्यक्रम, विविध वस्तुहरूका स्टल, मनोरञ्जनात्मक खेलहरू लगायतका कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
आयोजकले भनेको छ,‘सिंजा क्षेत्रमै पहिलोपटक यति ठूलो स्तरमा आयोजना हुन लागेको “सिंजा महोत्सव २०८२” सम्पूर्ण देशवासीलाई आमन्त्रण गर्न चाहन्छ, आउनुहोस्—साझै हर्षको उत्सव मनाऔं, सिंजालाई चिन्नुहोस् र चिनाऔं ।’



